विद्युत अपडेट

  • प्राधिकरण : ५२५३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २४५७ मे.वा.घन्टा
  • निजी क्षेत्र : १०७४१ मे.वा.घन्टा
  • आयात : १३४४० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३३१५६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७०० मे.वा.
२०८० फाल्गुण २१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सौर्य ऊर्जा नेपालमा बिल्कुल नयाँ होइन । नेपालमा तनहुँ जिल्लाको पुलिमर्याङमा २०५० सालमा ५४ वटा घरधुरीबाट घरेलु सौर्य ऊर्जाको सुरुवात भएको मानिन्छ । राष्ट्रिय प्रसारण लाइन नभएको बेलामा सीमित बत्तिहरू र केही घन्टा टेलिभिजन हेर्नका लागि गुजारामुखी ऊर्जाकाे स्राेत थियो; सौर्य ऊर्जा र अहिलेसम्म पनि आमजनमानसमा साैर्य ऊर्जा भन्ने बित्तिकै त्यही चित्र र अनुभवहरू आँखा र मस्तिष्कमा आउने गर्दछ ।

ठ्याक्कै तलको चित्र जस्तै, 

सफा ऊर्जाको खोजीमा दुनियाँ रात-दिन लागिरहेको छ । ऊर्जाकाे स्राेत घामको किरण नै हो तर प्रविधि फेरिएको छ । पञ्चतत्त्व आकाश, पाताल, अग्नी, जल, वायु यी सबै ऊर्जाका स्राेत हुन् । अग्नी (सूर्य) लाई हामीले कर महसुल तिर्नु पर्दैन र सौर्य ऊर्जा जलविद्युतको शत्रु होइन बरु परिपूरक प्रमाणीत भएको छ ।

जब तपाईंको आवासको महसुल ८० देखि ९०% कम हुन्छ तब हामीले किन विरोध गर्ने ? पहिले विरोध जायज थियो, अब छैन । पहिले तपाईंको छतमा १०० देखि २०० वाटका सोलार पाता राखेर तीन वटा बत्ति बालिन्थ्यो र त्यो पनि लागातार पानी परेको दिन र कम घाम लागेको दिनमा चाहे जति अवधिसम्म उपयोग गर्न सकिदैनथ्यो । शहरको विद्युतले २४सै घन्टा सबै विद्युतीय उपकरणहरू चल्ने र सोलार सिस्टमबाट त्यो सम्भव नहुँदा सौर्य ऊर्जा उपेक्षित हुँदै आएको हो । प्रविधिको विकासले साैर्य ऊर्जा व्यक्ति, उद्यमी र राष्ट्रकै लागि वरदान भएको छ।

अब चर्चा गरौं कसरी त ?

घर तथा आवासकै उदाहरण लिऊँ; यदि, मासिक महसुल ५,००० रुपैयाँ आउँछ भने सोलार सिस्टमबाट यस्ताे महसुल ४,०००-४५०० रुपैयाँ सम्म कम गराउन सकिने नेट मिटरिङ सिस्टम नेपालमा पनि उपलब्ध भइसकेकाे छ । अब सौर्य ऊर्जा अनावश्यक खर्च होइन, लगानी हो । यसमा गरेकाे लगानी ५ वर्षभित्रै असुल हुन्छ र बाँकी २०-२५ वर्ष अति न्यून मूल्यमा विद्युत उपयोग गर्न सकिनेछ ।

तपाईंको वार्षिक खपत (एक वर्षको महसुल)  हिसाब गरी साैर्य ऊर्जा राखिन्छ । बिहानदेखि बेलुकीसम्म सूर्यको किरणबाट आएको नि: शुल्क ऊर्जाले तपाईंको घर तथा निवासमा विद्युत आपूर्ति गर्दछ । साथै, बढ्ता भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा निर्यात हुन्छ भने साँझ घाम डुबेपछि प्रसारण लाइनबाटै आपूर्ति हुने गर्छ । उल्टो सुल्टो दुवैतर्फ घुम्ने मिटर राखिन्छ, आफूलाई आवश्यकता पर्दा मिटर सुल्टो गुम्छ र बढी भएको निर्यात गर्दा उल्टो घुम्छ।

यही रितले महिनाको अन्तिममा मिटर रिडरले जब बिल दिन्छ तब तपाईंको बिल विगत महिना भन्दा ८०-९० प्रतिशत कम हुन्छ । यस्तो सिस्टममा ब्याट्रीको जरुरत पर्दैन तर हाम्रो मुलुकमा वितरण प्रणाली कमजोर भएका कारण बेलाबेलामा अकस्मात विदयुत काटिन्छ । तसर्थ, कम्तीमा एक घन्टाका लागि स्टोरज राख्नु बुद्धिमानी हुन्छ । ब्याट्री नै राखे पनि ६ वर्षमा आफ्नो लगानी असुल हुन्छ । अब भन्नुहोस्, सौर्य ऊर्जा परिपूरक कि विराेधी ?

भ्रम १ :  ऊर्जा धेरै महँगो

यथार्थ : विद्युत काटिने बित्तिकै अर्को भरपर्दो स्राेत भनेको डिजल वा पेट्रोल जेनेरेटर हो । सौर्य ऊर्जाबाट उत्पादित विद्युत एक युनिटको ९ रुपैयाँ पर्छ भने डिजल वा पेट्रोलबाट उत्पादित विद्युत ३० रुपैयाँ भन्दा बढी पर्न जान्छ । छोटो समय बिजुली जाँदा हुने समस्याको हलका लागि इन्भर्टर राख्ने गरिन्छ । अब त्यो मूल्यमा २५% रकम थपिदिँदा दीर्घकालीन समस्याको समाधान हल निस्कन्छ । सौर्य ऊर्जा धेरै खालका छन् । तापमा आधारित सौर्य ऊर्जा मेगावाट स्केलका प्लान्टहरू भने अवश्य महँगा हुने गर्छन् । किनकि, यस्ता प्लान्टलाई २४सै घन्टा चलाउन सूर्यको किरणमात्र पर्याप्त हुँदैन; प्राकृतिक ग्यासको सहायता लिनुपर्दछ ।

भ्रम २ :  जलविद्युतको प्रतिस्पर्धी

यथार्थ : जलविद्युत हाम्रो मुलुकको भरपर्दो मूल स्राेत हो; घरायसी प्रयोजनलगायत कलकारखाना, यातायात, कृषि, व्यापारिक भवनमा खपत हुने विद्युतको दिउँसोको आवश्यकता सौर्य ऊर्जाले आपूर्ति गर्न सक्छ र महसुलमा व्यापक राहत दिलाउँछ । अहिले नेपालले विद्युत निर्यात गर्न सुरु गरेको छ ।

यदि, दिउँसोको हाम्रो भार कम गर्न सक्यौं भने ठूलो रकम बचत हुन्छ । रातिको विद्युत दिउँसोको तुलनामा सस्तो छ । तसर्थ, सौर्य ऊर्जा जलविद्युतको परिपूरक हो, प्रतिस्पर्धी होइन । ठूला-ठूला जलाशय परियोजनालाई हाइब्रिड बनाउन सक्ने हो भने दिउँसोको पानी सञ्चय गरी घाम डुबेपछि पानीबाट उत्पादन गर्न सकिन्छ । यो अर्थमा पनि सौर्य ऊर्जा ठूलो सहयोगी हुँदै आएको छ र चीनमा त प्रमाणीत पनि भइसकेको छ ।

भ्रम ३ : अनावश्यकरूपमा छत ओगट्छ

यथार्थ : पक्की घरहरूको छत प्रायः खुल्ला राख्न रुचाइन्छ तर विश्वभरि तापक्रम अप्रत्यासितरूपमा बढ्दै गएकोले छतमा पनि अर्को छाना राख्नुपर्ने बाध्यता उत्पन्न हुँदै आएको छ । सोलार पाताहरूले त जस्तापाताकै काम गर्छ । शीतल र ऊर्जा पनि । जस्तापाताको छानामा पनि छतमा प्वाल नपारीकन नै पाताहरू राख्न सकिने प्रविधि आइसकेको हुनाले जस्तापाताको आयु नै लम्बिने फाइदा छ ।

भ्रम ४ : झरी परेको दिन र घाम नलागेको (बादलिएको ) दिनमा उत्पादन हुँदैन

यथार्थ : सौर्य पाताले बादलिएको दिनमा पनि विद्युत उत्पादन गर्छ तर घमाइलो दिनमा जस्तो होइन । एकदम कालो बादल लाग्दा पनि १०% उत्पादन त गर्छ नै भने सामान्य घाम नदेखिँदा पनि घमाइलो दिनको २५% उत्पादन गरिरहेको हुन्छ।

भ्रम ५ : जाडो महिनामा न्यून उत्पादन

यथार्थ : सौर्य पाताहरू तापले काम गर्ने होइन, उज्यालो (प्रकाश) महत्त्वपूर्ण हुन्छ । जाडो र गर्मी कुनै मौसमले भन्दा पनि बाक्लो हिउँले ढाक्यो भने विद्युत उत्पादन नहुने हो । सौर्य ऊर्जाको शत्रु छाया हो, जाडो या गर्मी महिना होइन । अनुसन्धानहरूले जाडो र गर्मीमा उही मात्रामा विद्युत उत्पादन हुन सक्ने प्रशस्त प्रमाण देखाइसकेका छन् ।

भ्रम ६ : वारेन्टी हस्तान्तरण हुँदैन

यथार्थ : भवनहरू २५ वर्ष भन्दा कम समयको लिजमा करार गरिएका या बेचबिखन भई मालिक परिवर्तन हुन सक्छन् । त्यस्तो अवस्थामा करारको कागजात या लालपूर्जा अनुरूप वारेन्टी पनि परिवर्तन गर्न सकिन्छ ।  साथै, स्थानन्तरण गर्न नयाँ स्थानको वनावटकाे अध्ययन गरी स्थानन्तरण पनि सम्भव हुन सक्छ ।

भ्रम ७ : सोलर सिस्टमभन्दा इन्भर्टर सस्तो र राम्रो

यथार्थ : छाया पर्ने घर सौर्य ऊर्जा अवस्य उपयुक्त होइन तर जहाँ नेट मिटरिङ सम्भव छ त्यहाँ इन्भर्टरको मूल्यमा २५% रकममात्र थपिदिँदा साैर्य ऊर्जा उपलब्ध हुन्छ भने विद्युत महसुल पनि ५ वर्षपछि करिब नि:शुल्क जस्तै हुन्छ ।

अन्त्यमा, सौर्य ऊर्जा वरदान हो भन्नेमा धेरै बहसको आवश्यकता नै छैन । 'कूलको छोरा, मुलको पानी' अहिले उखानमा मात्र सीमित छ । शहरमा हामी अब जारको प्रशोधित पानी पिउँछौ भने गाउँमा कुवा र पधेराको पानी ओसार्नु सहज छैन । अब भ्यु टावर होइन, अग्लो ठाउमा भ्यू टावर होइन, आधुनिक पानी ट्यांकी राख्नुपर्ने दिन आयो । जसले, भ्यूटावर र ट्यांकी दुवैको काम गर्छ । नजिकै पायक पर्ने ठाउमा सोलर प्लान्ट राक्ने, उपलब्ध ठाउँबाट पानी तान्ने र वितरण गर्ने । आवश्यकभन्दा दोब्बर साइजको सोलर प्लान्ट राख्ने, दिउँसोको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा दिने रातिमा आवश्यक परे प्रसारण लाइनबाट लिन सकिनेछ । नेपालभरि यति मात्र गर्न सकेमा सौर्य ऊर्जाले राष्ट्रलाई ५,००० मेगावाटसम्मकाे योगदान दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit