काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा खर्च गर्ने भएको छ । वैकल्पिक ऊर्जा विकास समितिको बिहीबार बसेको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।
वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले यसरी प्राप्त आम्दानी यही क्षेत्रमा खर्च गर्दै सरकारले राखेको शून्य कार्बन उत्सर्जनको लक्ष्यतर्फ अगाडि बढ्न सकिने बताए । 'स्वदेशमा विद्युत् खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पूरा गर्न केन्द्रले नयाँ सोच एवम् कार्यक्रम ल्याउन जरुरी छ,' उनले भने ।
मन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपीजी विस्थापनका लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रूपमा विस्तार गर्ने कार्यक्रम ल्याउन पनि केन्द्रलाई निर्देशन दिए ।
सोही क्रममा कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला वायोग्यास, सौर्य सिँचाइ, लघु तथा साना जलविद्युत्, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।
यस्तै, बैठकले केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुर्व्यवहार (निवारण) आचारसंहिता, २०८१ स्वीकृति गरको छ । साथै, केन्द्र अन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारीपत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशक ढकाललाई स्वीकृती प्रदान दिइएको छ ।
यसैगरी, बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउँदै आएको छ ।