प्रा.डा. राजेश सैंजु तथा डा. मन्दिरा सैंजु दशकौंदेखि जर्मनीमा बसोबास गर्दै आएका छन् (उनीहरू दुवै इन्जिनियर हुन्) । ऊर्जाका विभिन्न आयाममा काम गर्दै अध्यापन तथा अनुसन्धानमा समेत उनीहरू सक्रिय छन् । विदेशमा रहेर पनि नेपालको नवीकरणीय ऊर्जा विकासमा काम गर्दै आएका उनीहरूले हालै त्यहाँ एउटा नयाँ कम्पनी स्थापना गरेका छन् । जुन कम्पनीले हरित हाइड्रोजन तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा जर्मनीबाट विकसित प्रविधि भित्र्याउने, त्यसमा परामर्श सेवा प्रदान गर्ने र यसलाई व्यावसायिक चरणमा विकास गर्न सहयोग गर्ने लक्ष्य राखेको छ । यही सन्दर्भमा ऊर्जा खबरले इन्जिनियर द्वयसँग कुराकानी गरेको छ :
यहाँहरूले भर्खरै जर्मनीमा रि–विनजोल नामको कम्पनी स्थापना गर्नु भएको छ । यो कस्तो प्रकारको कम्पनी हो ?
जर्मनीमा धेरै वर्ष बसेर विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा काम गरियो । नवीकरणीय ऊर्जाको क्षेत्रमा जे–जति अनुभव हासिल गरियो, त्यो ज्ञान, सीप र प्रविधि नेपालमा भित्र्याउने चाहना छ । यसको पहिलो उद्देश्य काठमाडौँ विश्वविद्यालय (केयू) जस्ता शैक्षिक क्षेत्रमा त्यो ज्ञान हस्तान्तरण गर्दै व्यावसायिक दृष्टिले समेत अगाडि बढाउने हो । यो उद्देश्य पूरा गर्न रि–विनजोल इनर्जी जीएमबीएच स्थापना गरिएको छ । नेपाललाई चाहिने सम्पूर्ण इन्जिनियरिङ परामर्श सेवा अर्थात् जर्मन प्रविधि नेपालमा भित्र्याउने यसको मुख्य लक्ष्य हो ।
नवीकरणीय ऊर्जा क्षेत्रमा दिगो विकास गर्ने, यसबाट हरित हाइड्रोजन उत्पादन गर्ने लगायत गतिविधि कसरी विस्तार गर्ने भन्ने योजनाका साथ हामीले काम गरिरहेका छौँ । साथै, नेपालमा ऊर्जा आयात कसरी कम गर्न सकिन्छ ? यो पक्षमा सहयोग गर्ने उद्देश्यमा केन्द्रित रहेर कम्पनीले काम गर्नेछ । हामीसँग धेरै कम्पनीहरू जोडिएका छन्, जसले अन्तर्राष्ट्रियस्तरमा काम गरिरहेका छन् ।
तपाईंहरूले स्थापना गरेको कम्पनीले तत्कालै त नतिजा देखिने गरी काम गर्न नसक्ला तर मध्यकालीन समयमा कसरी काम गर्ने योजना बनाउनु भएको छ ?
हामीले ५ वर्षलाई मध्यकालीन समय मानेका छौँ । त्यो समयभित्र २.४ मेगावाटको पनौती जलविद्युत् केन्द्रलाई सौर्य विद्युत्सँग हाइब्रिड गरेर एउटा परीक्षण योजनाको रूपमा विकास गर्न केयूसँग छलफल भइरहेको छ । त्यसका लागि केएफडब्लू, जीआईजेड जस्ता गैरनाफामुखी दाताहरूको खोजी पनि गरिएको छ । यस्तै, दोस्रो चरणमा एउटा सञ्चालनमा आएको १० मेगावाटसम्मको जलविद्युत् आयोजना लिएर हरित हाइड्रोजन र रासायनिक मल उत्पादन गर्ने योजना छ । सौर्य विद्युत्लाई प्राथमिकताका साथ विकास गर्न सहयोग पुर्याउनेतर्फ पनि सोचेका छौँ । जसले व्यक्तिगतरूपमा घरघरमा सौर्य विद्युत् उत्पादन गरेका छन्, उनीहरूले खपत गरेर बचेको विद्युत् जम्मा गरी अन्य प्रयोजनमा लैजान सकिन्छ ।
नेपालमै अन्य जर्मन कम्पनीले पनि काम गरिरहेका छन् । यहाँहरूको मुख्य प्राथमिकता कुन क्षेत्रमा हो ?
पानी, हावा, घाम, जियो–थर्मल, बायोमास धेरै नवीकरणीय ऊर्जाका स्रोत छन् । नेपालको हकमा हामीले जुगौँदेखि सुन्दै आएको नवीकरणीय ऊर्जाको स्रोत पानी अर्थात् जलस्रोत हो । यसबाट उत्पादित जलविद्युत् नै नवीकरणीय ऊर्जा हो । नेपालमा सौर्य विद्युत् उत्पादनको पनि प्रचुर सम्भावना छ । अतः जलविद्युत् र सौर्य विद्युत्मा उपयोग हुने आधुनिक प्रविधि र सीप भित्र्याउने हाम्रो ध्येय रहेको छ । हामीले रोजेको अर्को क्षेत्र हाइड्रोजन हो । जलविद्युत् र सोलारबाट उत्पादित विद्युत् बढी हुने अवस्था भइसकेको छ । नेपाल सरकारले लिएको विद्युत् विकासको लक्ष्य पूरा भएमा सन् २०४० मा २० हजार मेगावाट जलविद्युत् बढी हुने अनुमान छ ।
यो बढी हुने जलविद्युत् प्रयोग गरी हामीले हाइड्रोजन उत्पादन गर्न सक्छौँ । यो ग्यास यातायातदेखि घरायसी प्रयोजन (कुकिङ) लगायत क्षेत्रमा प्रयोग गर्न सकिन्छ । हाइड्रोजनले लामो समयसम्म विद्युत् भण्डारण गर्न सक्छ । भण्डारित विद्युत् पुनःप्रयोग गर्न सकिन्छ । मुख्यतः जलविद्युत्, सौर्य विद्युत् र हाइड्रोजनमा काम गर्ने हाम्रो लक्ष्य हो ।
यी क्षेत्रमा यहाँहरूले परामर्श सेवा प्रदान गर्ने कि प्रविधि भित्र्याउने हो ?
हाम्रो पहिलो उद्देश्य त परामर्श सेवा प्रदान गर्ने नै हो । विश्व बजारमा भर्खर आएको नयाँ प्रविधि कसरी भित्र्याउने ? मानौं, कुनै जलविद्युत् आयोजनाले बढी भएको विद्युत् भण्डारण गर्न हाइड्रोजन विकास गर्ने योजना अघि बढायो । यो प्रविधि कसरी ल्याउने ? कसरी जडान गर्ने ? भण्डारित हाइड्रोजन कसरी उपभोक्ता समक्ष पुर्याउने ? यी काममा हामीले परामर्श सेवा प्रदान गर्नेछौँ । यसका लागि जर्मनीमा विकास भइरहेको प्रविधि नेपालमा भित्र्याउने हो ।
हाइड्रोजन विकासको बहस र छलफल निरन्तर हुँदै आएको छ । यसलाई व्यवहारिकरूपमा प्रयोगमा ल्याउन त्यति सजिलो छ ?
नेपालमा बर्खाको समयमा उत्पादित ५/६ सय मेगावाट विद्युत् बढी भइरहेको छ, जुन प्रयोगमा आउन सकेको छैन । हिउँदमा भने अभाव छ । आजको आजै गार्हस्थतर्फ विद्युत् खपत बढाउन सकिँदैन । सोचे अनुसार विद्युतीय सवारी पनि प्रयोगमा नआउन सक्छन् । घरघरमा विद्युतीय चुलोको प्रयोगलाई लक्ष्यअनुसार बढाउन नसकिएला । यस्तो अवस्थामा तत्कालका लागि बिजुली बढी बिजुलीमार्फत रासायनिक मल उत्पादन तथा भण्डारण गरेर हिउँदको अभाव पूर्ति गर्न सकिन्छ । यसो गर्न सकेमा हिउँदमा भारतबाट कम विद्युत् आयात गरे पुग्छ ।
मानौं, बर्खामा १ हजार मेगावाट विद्युत् बढी भयो । कसरी प्रयोग गर्ने ? हाइड्रोजन उत्पादन गरेर पनि त्यसको बजार हुन्छ कि हुँदैन ? हाइड्रोजन उत्पादन, प्रयोग र बजारिकरण गर्न नेपालमा नियामकीय निकाय छैन । त्यसको कार्यान्वयन गर्ने संस्था तोकिएको छैन । सरकारले छिटोभन्दा छिटो त्यसमा काम गर्नुपर्छ । अतः बढी हुने विद्युत्लाई हामीले हाइड्रोजनमा रूपान्तरण गर्नुको विकल्प छैन ।
परीक्षणका लागि मात्रै भए पनि नेपालमा हाइड्रोजन प्रविधि ल्याउनैपर्छ । भविष्यमा नेपालले आयातित ऊर्जा विस्थापित गर्ने रणनीति राखेको हो भने यो प्रविधि सम्भव छ । आजैदेखि काम शुरू गरौँ । यही पक्षलाई मनन् गर्दै हामीले विद्युत् प्राधिकरण र केयूसँगको सहयोगमा पनौती जलविद्युत् केन्द्रमा काम गर्ने योजना बनाएका छौँ । पनौती हाइड्रोजन उत्पादनका लागि आकर्षक नहुन सक्छ तर सरकार, शैक्षिक संस्था, विद्यार्थी, निजी क्षेत्र तथा सरोकारवाला सबैका लागि परीक्षण गरेर देखाउन उपयुक्त आयोजना हुन सक्छ । निजी क्षेत्र जसले हरित हाइड्रोजन विकासका क्षेत्रमा काम गर्न चाहन्छ, उसलाई हामी पूर्णरूपमा सहयोग गर्न चाहन्छौँ ।
नेपालमा नियामक निकायदेखि कार्यान्वयन गर्ने संस्थासम्म छैन । त्यसको पूर्वाधार बनाउन अझै लामो समय लाग्ला । यस्तो अवस्थामा यहाँहरूले सोचे जसरी हाइड्रोजन विकासले गति लिन्छ त ?
मुख्यतः नियामक निकाय नभएसम्म लगानीकर्ताले लगानी गर्दैनन् । उपभोक्ताले उपयोग पनि गर्न सक्दैनन् । अवस्था गाह्रो छ तर जसरी प्रारम्भिक काम भइरहेको छ, अन्तर्राष्ट्रिय संघ–संस्थाले समेत चासो देखाइरहेका छन् । नेपालका निजी क्षेत्रको उतिकै चासो छ । केही अप्ठ्यारा परिस्थिति भए पनि यो क्षेत्र अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौँ । नियामक निकाय नभए पनि परीक्षणकै लागि उपकरण बनाएर देखाउन सक्नु पर्यो । वित्तीयरूपमा हरित हाइड्रोजन उत्पादन तत्कालका लागि सम्भाव्य नहोला तर यसमा आजैबाट काम गर्नुपर्छ । हामीले पानीबाटै ग्यास बनाएर भान्सामा प्रयोग गर्न सक्छौँ, यातायातमा ऋइद्द रहित सेवा पुर्याउन सक्छौँ । किन विदेशबाट दूषित ग्यास र तेल आयात गर्ने ? सरकारले ग्रीन हाइड्रोजन नीति, २०८० बनाएको छ । विस्तारै अरू काम पनि हुँदै जाला ।
तपाईंहरू लामो समयदेखि जर्मनीमा बस्दै आउनु भएको छ । त्यहाँ हरित हाइड्रोजन विकास, यसको मूल्य, उपयोग र बजारिकरणको अवस्था कस्तो छ ?
जर्मनीका लागि हाइड्रोजन नयाँ कुरा होइन । लामो समयदेखि विभिन्न क्षेत्रमा प्रयोग हुँदै आएको छ । यद्यपि, त्यो ‘ब्ल्याक’ वा ‘ब्लू’ हाइड्रोजन हो, जुन जर्मनीमा उत्पादन नगरी बाहिरबाट आयात गरिन्छ । पछिल्लो समय रसिया–युक्रेन युद्धले ग्यास आयात रोकियो । मूल्य आकाशियो । अर्कोतर्फ, विश्व कालो हाइड्रोजनबाट हरित हाइड्रोजनतर्फ रूपान्तरण हुँदैछ । यो समयमा जर्मनीलाई पनि हरित हाइड्रोजनको खाँचो छ ।
अहिले, हरित हाइड्रोजनका लागि ५०–६० टेरावाट घन्टा बराबरको बिजुलीको खाँचो छ । यही सन्दर्भमा जर्मनी सरकारले विभिन्न हाइड्रोजन रणनीतिहरू ल्याइरहेको छ । जसअनुसार सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने एउटा रणनीति हो । अहिले जर्मनीमा सौर्य विद्युत्को जडित क्षमता ८० हजार मेगावाट बराबर पुगेको छ । ६० हजार मेगावाट बराबर जलविद्युत् छ । ठूलो परिमाणमा वायु ऊर्जा पनि विकास भइरहेको छ ।
ती सबैले पनि पुग्ने अवस्था छैन । किनकि, सौर्य वा वायु ऊर्जाको उत्पादन समयअनुसार घटबढ भइरहन्छ । यी स्रोतको विद्युत् दिगो र भरपर्दो हुँदैन । त्यसैले क्यानडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, मोरोक्को जस्ता देशमा नवीकरणीय ऊर्जाका प्रविधि लगेर स्वच्छ ऊर्जा उत्पादन गरी आयात गर्ने अर्को रणनीतिका साथ जर्मनीले काम गरिरहेको छ । नेपाल पर्याप्त नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनायुक्त देश हो । यद्यपि, नेपाल त्यो प्राथमिकतामा परेको छैन तर हामीले प्रयास गरिरहेका छौँ । जर्मनीले हाइड्रोजन साना भन्दा ट्रकजस्ता ठूला सवारी र औद्योगिक क्षेत्रमा व्यापकरूपमा प्रयोग गरिरहेको छ । हवाइजहाज, कन्टेनर पानीजहाजमा समेत प्रयोग भइरहेको छ । पूर्णरूपमा हरित हाइड्रोजनको व्यावसायिक चरणमा पुग्न जर्मनीलाई पनि समय लाग्छ ।
पछिल्लो समय हाइड्रोजन उत्पादनदेखि उपयोग र बजारका सन्दर्भमा धेरै अनुमान र प्रक्षेपण भएका छन् । धेरैलाई थाहै छैन । हाइड्रोजन र पानीमा फरक के छ ? पानीले गाडी चल्छ भनिन्छ तर कसरी ? हाइड्रोजन आफैँ पानी होइन । हाइट्रोजनबाट युरिया मल बन्छ भनिन्छ तर कसरी ? यो धेरैले बुझेका छैनन् । पहिला हाइड्रोजन र नाइड्रोजन ग्यासको मिश्रणबाट अमोनिया बन्छ । अमोनिया र कार्बनडाइअक्साइको मिश्रण गराएपछि बल्ल युरिया बन्छ । यी कुरा बोल्दा वा कागजमा लेख्दा सामान्य छ तर प्रयोगमा उतार्न कठिन । हामीले जर्मनी तथा विकसित देशका प्रयोगशाला तथा कारखानामा देखेका कुरा नेपालमा विकास गर्न सम्भव छ ।
नेपालले रासायनिक मल कारखाना खोल्ने विषयमा अध्ययन गर्दै आएको धेरै वर्ष भयो । ठोस परिणाम देखिएको छैन । यहाँहरू बाहिर बसेर अध्ययनसँगै काम गरिरहँदा नेपालको प्रयासलाई कसरी हेर्नु भएको छ ?
विकसित देशमा ग्रीन हाइड्रोजनबाट एमोनिया वा युरिया मल बनाउने प्रक्रिया औद्योगिक चरणमा गइसक्यो । नेपालमा अझै अध्ययन तथा अभ्यासमै छ । यही कारण नै हामीलाई एउटा परीक्षण गर्ने आयोजना आवश्यक परेको हो । हामीले त्यो आयोजनाका लागि पनौतीलाई हेरेका छौँ, जहाँ एमोनिया प्लान्ट राख्न सकियोस् । यसबाट विद्यार्थी, अनुसन्धानकर्ता, लगानीकर्ता, विकासकर्ता सबैका लागि काम लागोस् । त्यो हेरेर हरेकले विश्वास गरुन्, हरित हाइड्रोजनको व्यावसायिक विकास नेपालमा सम्भव छ ।
हाइड्रोजन कसरी बन्छ भन्ने विषयमा नेपालमा अधिकांशले अझै बुझेकै छैनन् जस्तो लाग्छ । यसलाई साधारण भाषामा कसरी बुझाउने ?
यो प्राविधिक कुरा हो । पानीलाई टुक्रयाउँदा H2 तथा O2 बन्छ । अर्को कुरा पनि बुझौँ, युरियाका लागि कार्बन डाइअक्साइड अपरिहार्य छ; जुन वायुमण्डलमा पर्याप्त छ । यो ग्यास पेट्रोल डिजेलका गाडी, सिमेन्ट फ्याक्ट्री वा ठूला औद्योगिक क्षेत्रबाट उत्सर्जन हुन्छ । युरिया बनाउनु भनेको कार्बन घटाउनु पनि हो । हाइड्रोजन ग्यास वा युरिया मल उत्पादन हुँदा एक त कार्बन उत्सर्जन हुँदैन । अर्को, उत्सर्जित कार्बन पनि ‘क्याप्चर’ हुन्छ । अहिले जर्मनीजस्ता देशहरू कार्बन ‘क्याप्चर’का उद्योग विकास गर्नतिर लागेका छन् ।
हाइड्रोजन उत्पादन गर्दा पानी टुक्र्याउन कति बिजुली आवश्यक पर्ला त ? कति लगानी गर्दा कति फाइदा हुन्छ ? यस्ता कुरा लगानीकर्ताले हेरिरहेका हुन्छन् । नेपालमा जति हाइड्रोजन बनाउन सकियो वा सौर्य विद्युत्को परिमाण बढाउँदै गयो, त्यति ऊर्जाको लागत कम हुँदै जान्छ । अहिले अमेरिकामा प्रतियुनिट ७ सेन्टमा बिजुली पाउने हो भने ५ डलरमा १ केजी हाइड्रोजन उत्पादन गर्न सकिने देखिएको छ । बजारको मार्जिन राख्दा एक किलो हाइड्रोजन १५–१६ डलरमा बिक्री भइरहेको छ ।
नेपालको सन्दर्भमा प्रतियुनिट ५ सेन्टमा बिजुली पाउने हो भने ३ अमेरिकी डलरमा एक किलो हाइड्रोजन उत्पादन गर्न सकिन्छ । ८० प्रतिशत हाइड्रोजन उत्पादनको लागत ऊर्जासँग जोडिएको हुन्छ । उपकरण, मर्मत सम्भार तथा सञ्चालन खर्च २० प्रतिशतमात्र हो । एक किलो हाइड्रोजनबाट एउटा कार सय किलोमिटरसम्म गुड्न सक्छ । अझ ठूला–ठूला यातायातका साधनमा यो निकै प्रभावकारी हुन्छ ।
हाइड्रोजनबाट के–के गर्न सकिन्छ ? कसरी भण्डारण हुन्छ ?
हाइड्रोजनलाई एमोनिया बनाएर भण्डारण गर्न सकिन्छ । सिलिण्डरमा भरेर राख्न सकिन्छ । अहिले त जमिनभित्र खनिजजन्य पदार्थ निकालेका गुफा र ओढारहरूमा भण्डारण गर्न सकिनेमा पनि अध्ययन भइरहेको छ । यसका बावजुत पनि नेपाल सुरुवात चरणमै छ । हामीले काम गर्दै जानुपर्छ ।
विश्वव्यापीरूपमा हाइड्रोजनको लेभलाइज्ड कस्ट (खूद लागत) कति देखिएको छ, जुन नेपालमा पनि लागू गर्न सकियोस ?
उपकरण बाहिरबाट ल्याउने हो । त्यसमा नयाँ–नयाँ प्रविधि आएका छन् । भविष्यमा हाइड्रोजनको व्यापार बढ्दै जाँदा नेपालमै पनि इलेक्ट्रोलाइजर एसम्बल गर्न सकिन्छ । त्यो इँटा आकारको हुन्छ । हाइड्रोजन उत्पादन ऊर्जाको लागतमै निर्भर हुने हुँदा जति सस्तो बिजुली भयो, त्यति सस्तो हुन सक्छ । पनौतीलाई परीक्षण आयोजनाका रूपमा लिँदा प्रतियुनिट २.५० देखि ३ रुपैयाँसम्म बिजुलीको मूल्य राखेका छौँ । यो भनेको निकै सस्तो हो ।
अन्त्यमा, हरित हाइड्रोजन विकासतर्फ रूपान्तरण हुन चाहने नेपालका जलविद्युत् तथा सौर्य विद्युत् प्रवद्र्धकलाई तपाईंको के सुझाव दिनुहुन्छ ?
यो क्षेत्रमा जे–जति विकासकर्ताहरू लागिरहनु भएको छ, अहिले केही समस्या देखिए पनि नआत्तिएर अगाडि बढ्नुहोस् । सन् २०४५ सम्म जर्मनीजस्तै नेपालले पनि शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्टाउनु छ । अतः ‘आयातित ऊर्जाको प्रयोग कम गरी नेपाल त्यो लक्ष्यमा पुग्न सफल हुन सक्छ’ भनेर देखाउनुपर्छ । यसैले म भन्छु– जलविद्युत्मा लगानी गरिरहनु भएका विकासकर्ताहरू सौर्य विद्युत्मा पनि अगाडि बढ्नुहोस् । तपाईंहरूलाई हाइड्रोजन वा अन्य प्रविधि जे चाहिन्छ, त्यसमा हामी सहयोग गर्न तयार छौँ । यसमा हामी विश्वास दिलाउन चाहन्छौँ ।