काठमाडौँ । मार्टिन चौतारी र ऊर्जा खबरको सहकार्यमा विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको ‘ऊर्जा नीति संवाद' कार्यक्रम सफल र प्रभावकारी रहेको निष्कर्षसहित तेस्रो वर्ष पनि जारी रहने भएको छ । यसका लागि दुवै पक्षबीच सोमबार (चैत २३ गते) नवीकरणसम्बन्धी सम्झौता भएको हो ।
सम्झौता पत्रमा मार्टिन चौतारीका अध्यक्ष कुमार पाण्डे र ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीले हस्ताक्षर गरेका छन् । वि.सं. २०८३ वैशाख १ गतेदेखि एक वर्षका लागि नवीकरण गरिएको उक्त सम्झौता अनुसार प्रत्येक अङ्ग्रेजी महिनाको अन्तिम मंगलबार दिउँसो ३ बजेदेखि ऊर्जा क्षेत्रका विभिन्न नीतिगत विषयमा रहेर प्रस्तुति तथा छलफल हुनेछ ।
सम्झौतामा हस्ताक्षर गरेपछि चौतारीका अध्यक्ष पाण्डेले अघिल्लो २ वर्षको सम्झौता अनुसार हालसम्म भएका २३ वटा संवाद शृङ्खलामा छलफल भएका विषय तथा सहभागीहरूले निकै उत्साहित बनाएको बताए । अघिल्ला दुई वर्षमा यस कार्यक्रमबाट प्राप्त सफलताको कारण नै आगामी वर्षसमेत संवाद शृङ्खलालाई जारी राख्न आफूहरूलाई ऊर्जा प्राप्त भएको उनले बताए ।
‘अघिल्ला दुई वर्षमा समेट्न नसकिएका ऊर्जा क्षेत्रभित्रै फरक विषय, सन्दर्भ तथा सहभागीलाई समेत आगामी वर्षमा समेट्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै आपसी सहकार्य हामी अघि बढाउने छौँ ।’
ऊर्जा खबरका सल्लाहकार सम्पादक सूर्यप्रसाद अधिकारीले कार्यक्रमलाई आगामी वर्ष अझ प्रभावकारी बनाएर अघि बढ्नुपर्ने चुनौती थपिएको बताए ।छलफलका महत्त्वपूर्ण विषयहरूलाई कुनै न कुनै माध्यमबाट लिपिबद्ध गरी सङ्ग्रहित गर्न सके भविषयमा समेत त्यो ज्ञान विस्तारमा काम लाग्ने धारणा राखे ।
कार्यक्रममा ऊर्जा खबरका सम्पादक वियोगीले मार्टिन चौतारीसँगको विगत दुई वर्षदेखिको सहकार्यमा हुँदै आएको ऊर्जा नीति संवाद कार्यक्रमले ऊर्जा खबर तथा ऊर्जा खबरकर्मीका हिसाबले आफूहरूलाई निकै लाभदायी भएको बताए । यो कार्यक्रम यस क्षेत्रका सम्पूर्ण सरोकारवालाका लागि समेत निकै ज्ञानवर्द्धक भएको संवाद शृङ्खलाहरूमा हुने गरेको उपस्थितिले नै प्रष्ट पारेको उनको भनाइ छ । आगामी दिनमा छलफलका शृङ्खलाहरूलाई ऊर्जाका अझ विविध आयाममा फैलाउनुपर्ने र छलफललाई अझ घनीभूत बनाउनुपर्ने महसुस भएको उनले औँल्याए ।
प्राज्ञिक बहस तथा नीति अनुसन्धान केन्द्रको रूपमा लामो समयदेखि क्रियाशील मार्टिन चौतारी र इनर्जी इन्फर्मेशन सेन्टर प्रालिद्वारा सञ्चालित ऊर्जा खबरको सहकार्य उक्त कार्यक्रम २०८० साल वैशाखदेखि सुरु भएको थियो । नवीकरण सम्झौता अनुसार ‘ऊर्जा नीति संवाद’को तेस्रो वर्षको पहिला संवाद शृङ्खला २०८३ साल वैशाख १५ गते (२८ अप्रिल, २०२६) का लागि तय भएको छ ।
याे पनि पढ्नुहाेस् :
‘ऊर्जा नीति संवाद’ कार्यक्रम थप एक वर्षका लागि नवीकरण
मार्टिन चौतारी र ऊर्जा खबरबीच ‘ऊर्जा नीति संवाद’ सुरु गर्ने सम्झाैता