विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ मङ्सिर ३, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

संसद् राष्ट्रिय नीति निर्माणको मूल थलो हो । संसद्ले जनहितकै नीति र कानुनका शब्द र तिनको मर्म केलाउनुपर्छ । संसद्ले आमजनता र राष्ट्रहितलाई सर्वोपरि मान्दै आफ्ना गतिवधिलाई केन्द्रित गर्नुपर्ने हुन्छ । हाम्रो विधायिकी शक्तिलाई जनहितमा प्रतिबिम्वित गर्न सकियोस् भन्नका खातिर सामाजिक, आर्थिक तथा अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरेर तत्कालीन र दीर्घकालीन जनआवश्यकता बुझेर काम गर्नुपर्छ । सोही मान्यताका आधारमा काम गर्दै संसदीय अभ्यासले सार्वजनिक तथा निजी क्षेत्रलाई आवश्यकता र औचित्यका आधारमा भूमिका प्रदान गर्ने काम गरेका हुन्छन् ।

ऊर्जामा निजी क्षेत्रको प्रवर्द्धन तथा संरक्षणका सन्दर्भमा पनि यस्तै मूल मान्यतालाई आत्मसात् गरेर संसदीय अभ्यास अगाडि बढेका हुन्छन् । अहिले संघीय संसद् मार्फत हामीकहाँ विद्युत् विधेयक छलफलका लागि आएको छ । यो विधेयकलाई ऊर्जा उद्यमी, व्यवसायीदेखि राज्य र जनहितमा कसरी लाभकारी बनाउन सकिन्छ भनेर हामीले प्रयास गरिरहेको छौँ । हामीले विभिन्न सरोकार राख्नेसँग राय सुझाव संकलन गरेका छाँै । विभिन्न ९६ वटा संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग पनि बृहत् छलफल गरेका छाैँ ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी छ । यसर्थ हाम्रा नीति निजी क्षेत्रको उत्साह बढाउने, लगानीको उचित प्रतिफल सहज प्राप्त गर्न सक्ने र थप लगानीका लागि प्रेरित गर्दै जाने हुनुपर्छ । यसैबाट पनि राज्यलाई ठुलो लाभ हुन्छ भन्ने हामीले बुझेका छौँ । यो विधेयकलाई समितिले संशोधन नपरेका विषयमा समेत विज्ञलाई राखेर मिहिन अध्ययन गरेका छौँ । विधेयकमा पानीको उपयोगिताका विषयमा धेरै आएको देखिएन । सायद जलस्रोतसम्बन्धी छुटै ऐन बनाउन सरकारको सोच पनि हुन सक्छ ।

हामीले इतिहास केलाउने हो भन्ने महाकाली, गण्डक नहर, कोसी ब्यारेजजस्ता सम्झौतामा अनेक विषय उठेका छन् । अपूरो सम्झौता भएको पाउँछौँ । तर अब किन्तु परन्तु भन्ने अवस्था छैन भन्ने मलाई लाग्छ । हामीले यो विधेयकलाई कुनै दोहोरो अर्थ नलाग्ने, जलसम्पदाको प्रभावकारी उपयोग हुने गरी निष्कर्षमा जान चाहन्छौँ ।

पूर्वाधार समिति हतारमा निर्णय गर्ने अवस्थामा छैन । हाम्रा नीतिहरूमा राष्ट्रहित पहिलो सर्त दास्रो जनहित र तेस्रोमा संलग्न उद्यमी व्यवसायीको हित रक्षा गर्ने सोच्नुपर्छ । सरकारले भन्दा धेरै लगानी गरेको निजी क्षेत्रकै कारण हामीले अहिले निर्बाध रूपले बत्ती बाल्न पाएका छौँ । लाखौँ जनताको सेयरसमेत यसमा परेको छ । यो कुरालाई बुझेर दिगो हित हुनेखालका नीतिगत व्यवस्था गरिनुपर्छ ।

पानीको सदुपयोगमा हाम्रो नीतिगत कमजोरी हुनुहुँदैन । विश्वमा ठुला युद्धको कारणदेखि सामाजिक र आर्थिक विकासको आधार पनि पानी बनेको छ । हामीले पानीलाई बिजुलीको आँखाले मात्र हेरेर मात्र हुन्न । यसलाई बहुउपयोगी बनाउने सोच हुनुपर्छ । त्यति मात्र होइन, आयोजना निर्माणका क्रममा हजाराैँ हजारकोे मानव बस्ती प्रभावित हुन्छ । मुआब्जा दिनु एउटा सम्बोधन होला, तर बस्ती नै मेटिँदा प्राचीन कला, सभ्यता, धर्म, संस्कृतिमा कस्तो प्रभाव पर्छ ? यस्ता कुराको उचित सम्बोधन हुनु्पर्छ । खोलालाई रोकेर हामी ठुला बाँध बाँधेर जलविद्युत् निकाल्छौँ । तर, त्यो बाँधका कारण उत्पन्न तल्लो तटीय लाभ, संरक्षण गर्ने दिशामा अझै पनि नीतिगत कमजोरी भइरहेको पाइएको छ । हामी हाम्रै किसानको खेत सिँचाइ गर्न त शुल्क असुल गर्ने अवस्थामा छौँ भने पूरै खोला सिँचाइमा भारतले प्रयोग गर्न पाउने अवसर सिर्जना हुँदा त हामीले मूल्य पाउनुपर्छ । अधिकतम लाभ र राजस्वको पक्ष पनि कानुन बनाउँदा हेर्नुपर्ने हुन्छ ।

वर्तमान विधेयकमा नेपाली उद्योगीले सय मेगावाटभन्दा कमका आयोजना मात्रै पाउने भन्ने व्यवस्था राख्न खोजिएको छ । तर, अब यो मान्य हुँदैन । नेपालको नीति निर्माणका सम्बन्धमा यदाकदा विभिन्न स्वार्थ समूहले खेल्ने गरेको समेत पाइन्छ । तर, मैले नेतृत्व गरेको पूर्वाधार समिति यो मामिलामा असाध्यै सचेत छ । नेपाली उद्यमीले ४/५ सय मेगावाटका आयोजना पनि बनाउन सक्छन् । बनाउन दिनुपर्छ । हामी बाह्य हस्तक्षेप वा देशभित्रकै कसैको पनि हस्तक्षेप हुन दिँदैनौँ र मान्दैनाैँ पनि ।

नेपालको जलविद्युत् विकासका कतिपय नीतिगत दोहोरपन पनि रहेको देखिन्छ । कतिपय आयोजनाले रूख कटानका समस्या भोगिरहेका देखिन्छ । वन, सडक, भूमिसुधार, मन्त्रालयका सचिवलाई राखेर जलविद्युत् यातायात पूर्वाधार विकासमा २/४ रूख बाधक बन्नुहुँदैन भनेर आवश्यक कानुनी सुधारका लागि निर्देशन पनि दिइएको छ । आयोजनाको डिजाइन तयार तथा स्वीकृत हुनासाथ १ महिनाभित्र साइट क्लियर गर्नुपर्ने व्यवस्था हुनुपर्छ ।

जलविद्युत् आयोजना विकासकर्तालाई अर्को झमेला पनि रहँदै आएको छ । त्यो भने जग्गा प्राप्ति हो । आरक्ष क्षेत्रमा प्रसारण लाइन,जलविद्युत् बनाउँदा आरक्षहरूलाई भनौँ, सरकारलाई नै जग्गा नै किनेर दिनुपर्ने व्यवस्था पनि वास्तवमा असाध्यै नमिल्दो छ । आयोजना विकासकर्ताले आयोजना बनाउने कि जग्गा किन्ने ? उसले आयोजना बनाउने कि रूख खोज्ने वा वृक्षरोपण गराउने ? ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमताको सदुपयोग गर्नुपर्दा वन निकुञ्ज आरक्षणजस्ता सरकारी निकायहरूलाई जग्गा कहाँबाट किनेर ल्याउने ? यस्तो अमिल्दो अव्यवस्थालाई हटाउनुपर्छ । वन वातावरण संरक्षण गर्नुपर्छ । तर, राष्ट्रको विकास र प्रगतिको बाधक बन्नहुँदैन । विकासलाई मारेर वातावरण भन्नुभएन । पहिले विकास दोस्रो वातावरण हो । विकास र वातावरणलाई सँंगै लैजाने स्पष्ट नीतिगत व्यवस्था हुनुपर्छ भन्नेमा हामी सचेत छौँ ।

देशको अर्थतन्त्रको सही दिशामा लैजान अहिले पर्यटन, जलविद्युत् जस्ता सीमित क्षेत्रमात्रै छन् । तर, हामीले विचार पुर्‍याउनुपर्ने के हो भने अबको २ दशकमा हाम्रा निम्ति यही पानीमात्रै पनि आर्थिक उपार्जनको महत्वपूर्ण वस्तु बन्नेछ । यो वरदान नै हुने छ र त्यसबेला खानेपानी नै निर्यात गर्ने राम्रो अवसर आउन सक्छ । त्यही भएर जल उपयोगितासम्बन्धमा दीर्घकालसम्म सोच विचार गरेर हामीले देशहितमा काम गर्नुपर्छ ।

विद्युत् क्षेत्रको नीतिगत कुरा गर्दा वास्तवमा यसको व्यावहारिक पक्षलाई मिहिन केलाउनुपर्ने हुन्छ । दायित्व र जिम्मेवारीको सन्तुलन मिलाउनुपर्ने हुन्छ । जनप्रतिनिधिले मुआब्जामा राजनीति गरेको, उकासेको पाइन्छ । यस्तो देशहित विपरीत काम गर्नु हुँदैन ।

सीमित समूहको स्वार्थमा समग्र जनहितलाई हानि पुर्‍याउनुहुन्न । जनताको जीवनस्तर उकास्ने भनेर जनप्रतिनिधि हुने तर त्यही जीवनस्तर खस्काउने गतिविधिमा राजनीति घुसिरहेको देखिन्छ । यस्ता कार्यमा कानुनी छिद्र पनि हटाउनुपर्छ ।

नेपालको जलविद्युत् क्षेत्रको नीतिगत सहजताको कुरा गर्दा वित्तीय व्यवस्थापन पनि ठुलो कुरा रहेछ । मुलुकभित्रको सीमित आर्थिक स्रोतले जलविद्युत्‌काे समग्र र सामयिक विकास हुन नसक्ने तथ्य/तथ्यांकले पुष्टि गरेको छ । यो अवस्थामा नेपालको निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्दा हुन्छ भन्ने मलाई लाग्छ । यद्यपि यसमा धेरै अध्ययन भने हुनुपर्ला । तर, एउटा यथार्थ के हो भने नेपालमा जलविद्युत् विकासमा निजी क्षेत्रको इमान्दार र सक्रिय योगदानका कारण हामी आज चाहिए जति बिजुली खपत गर्न पाउने अवस्थामा आइपुगेका छौँ । यस हिसाबमा अब निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय निकायबाट ऋणका रूपमा वित्तीय स्रोत जुटाउन सरकार नै जमानी बस्ने व्यवस्था गर्दा हुन्छ भन्ने लाग्छ । यो विषय बहसमा ल्याउनुपर्छ । निजी क्षेत्रले किफायती तरिकाले ऋण परिचालन गर्दा त्यसको उत्पादकत्व पनि सार्वजनिक क्षेत्रको भन्दा कैयौँ गुणा बढी हुन सक्छ ।

यो विषयलाई अहिले यही विधेयकमा समेट्न सकिन्छ कि भन्नेमा सोचिरहेका छाैँ । यो प्रावधानले के हुन्छ भने अहिले सय मेगावाटका आयोजना बनाउने उद्यमीले हजार मेगावाटको आयोजना निर्माण गर्न आँट्नेछन् । दातृ निकायका प्रतिनिधिसँग यो विषयमा समितिले तथा मेरो व्यक्तिगत तवरबाट पनि कुरा भएको थियो । उनीहरूले यसलाई सकारात्मक पनि भनेका छन् ।

निष्कर्षमा, नेपालमा हालसम्म जलविद्युत् क्षेत्रले प्रगति हासिल गरिरहेको छ र त्यो प्रगतिले अन्य क्षेत्रलाई योगदान दिइरहेको छ । यो हाम्रो आर्थिक वृद्धिको बलियो उत्तोलक बनिरहेको छ । यसलाई अझ उपयुक्त र प्रवर्द्धनमूलक बनाउनुपर्नेछ । यो दायित्व राज्यका निकायहरूको हुन्छ । संसद्ले पनि यही हिसाबले सोचेर सहजीकरण तथा प्रवर्द्धनकारी नीतिगत र कानुनी व्यवस्थापन गरेर जलविद्युत् क्षेत्रलाई अझै मौलाउन दिनुपर्छ । ऊर्जा क्षेत्रमा संलग्न सबै सरोकारवालाको एकीकृत ध्येय विद्युत् उत्पादन, खपत, विस्तार, निर्यातमा सहजीकरण गर्दै जानेमा हुनुपर्छ ।

सिंह संसद्को पूर्वाधार विकास समितिका सभापति हुन्, याे लेख इपानद्वारा २०८० माघ ४ गते प्रकाशित ऊर्जा समृद्धि नामक स्मारिकाबाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३