काठमाडौँ । लमजुङमा निर्माण हुने १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनामा ३ वटा बैंकले १६ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । आयोजनामा प्रोजेक्ट फाइनान्स (टर्म लोन) का रूपमा नेतृत्वकर्ता लक्ष्मी सनराइज बैंकले ७ अर्ब, सह–नेतृत्वकर्ता ग्लोबल आइएमई बैंकले ६ अर्ब र प्रभु बैंकले ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् । यसका लागि प्रवर्द्धक कम्पनी अपर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालि र सहवित्तीयकरण ऋण लगानीको नेतृत्वकर्ता सनराइज बैंकबीच हालै सम्झौता भएको छ । आयोजना प्रवर्द्धक कम्पनीमा केसी ग्रुप र क्याल ग्रुपको लगानी रहेको छ ।
कुल २१ अर्ब ४० करोड लागत अनुमान रहेको आयोजनामा ७४.७७ प्रतिशत बैंक ऋण र २५.२३ प्रतिशत प्रवर्द्धकको स्वपुँजी लगानी रहेन गरी वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरिएको हो ।
गत पुस ९ गते मात्रै आयाेजनाकाे विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएकाे थियाे । आयोजना निर्माणका लागि प्रवर्द्धक कम्पनीले २०७५ पुस १० गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरेको थियो ।
आयोजनाको निर्माण २०२९ जुलाइभित्र सक्ने लक्ष्य रहेको प्रवर्द्धक कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत उत्पादन हुने बताइएकाे छ ।