विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
समाचार टिप्पणी

काठमाडौँ । हरेक वर्ष तिहार आउँछ । यसमा पनि लक्ष्मीपूजाको दिनलाई विद्युत् आपूर्तिका दृष्टिले अलि भिन्नरूपले चित्रण गरिन्छ । यो दिन हरेक नागरिक (जो जसको घरमा बिजुलीको पहुँच पुगेको छ) ले द्वीप प्रज्वलन गरी घरघरमा उज्यालो बनाउने हुँदा पनि विशेष मानिएको हो ।

यस वर्ष अर्थात् २०८१ सालमा पनि कात्तिक १५ गते लक्ष्मीपूजा पर्‍यो । यो दिन नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ सहित देशभरको उच्च माग र आपूर्तिको आँकडा रेकर्ड गरेको छ । जसअनुसार कात्तिक १५ गते देशभर १६०२ मेगावाट बराबरको माग कायम भएको छ, जुन आन्तरिक उत्पादनबाटै पूर्ति गर्न सकिएको प्राधिकरणले जनाएको छ ।

हिजोका दिनमा विद्युत् अभावले हाहाकार हुने अवस्था छैन । राष्ट्रिय प्रणालीमै ३ हजार २ सय मेगावाटभन्दा बढी विद्युत् उपलब्ध भइसक्यो । आवश्यक पर्दा भारतबाट आयात गर्ने बाटो (प्रसारण लाइन) पनि सञ्चालनमा छ । अतः हिजोको तुलनामा आज अवस्था निकै सजिलो भइसकेको छ । आज पनि २०७३ साल यता विद्युत् क्षेत्र र प्राधिकरणको उपलब्धिलाई ‘चमत्कार’को रूपमा चित्रण गर्ने गरिन्छ ।

त्यो साँच्चै चमत्कार थियो वा दशकौंदेखिको निरन्तरको काम, सामुहिक प्रयास र नतिजाको परिणाम थियो ? यी अधिकांश पक्ष आज सतहमा आइसकेका छन् । बाँकी विषय समयान्तरमा पक्कै बाहिर आउलान् । यहाँ, अन्य विषयभन्दा विगत ९ वर्षमा लक्ष्मीपूजाकै दिन विद्युत माग र आपूर्तिको अवस्था कस्तो थियो ? यसबारे यहाँ संक्षिप्त विश्लेषण गरिएको छ :

२०७३ साल : यो वर्ष कात्तिक १४ गते लक्ष्मीपूजा परेको थियो । ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा र प्राधिकरणमा कुलमान घिसिङको नेतृत्व थियो । यो कुलमानको पहिलो कार्यकालको सुरुवात पनि थियो । लोडसेडिङले देश आक्रान्त भइरहेकै बेला उज्यालो पर्व परेको थियो । चाहे जति बिजुली थिएन । लोडसेडिङ हटाउनुपरेको थियो, फसादै फसाद । प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयात गरेर त्यो साँझ पिक आवर (उच्च माग) मा जम्मा ९६० मेगावाट विद्युत आपूर्ति भएको थियो ।

४८४ मेगावाट पुगेन, त्यसैले त्यति बाराबर लोडसेडिङ हुने नै भयो । त्यसैलाई जोडेर प्राधिकरणले त्यो लक्ष्मीपूजाको नेपालको उच्चतम माग १४४४ मेगावाट भन्यो । त्यो वास्तविक रेकर्ड गरिएको पिक डिमाण्ड (उच्च माग) थिएन । ‘इस्टिमेटेड (अनुमानित)’ थियो । इन्जिनियरिङ क्षेत्रमा अनुमान नगरी हुँदैन तर अनुमान गर्न जानेन भने खतरनाक परिणाम निम्तिन सक्ने प्राधिकरणकै विश्लेषण रहँदै आएको छ ।

जे होस्, त्यो दिन लक्ष्मीपूजाको दिन उत्साह थपियो । किनभने, काठमाडौंमा लोडसेडिङ भएन । त्यो साँझ काठमाडौँ उपत्यकाको लोड ३१० मेगावाट थियो । सबैलाई बिजुली पुग्यो । काठमाडौंबासी रमाए । यसले मिडिया कभरेज पायो । ‘बिग न्यूज’ बन्यो । मन्त्री शर्माको हाइट चुलियो । कुलामान रातारात हिरो बन्न पुगे । त्यही उत्साह र उमङ्गगमा कुलमानको मनोबल बढ्यो । टिम बनाए र झन् जोशमा प्रचारित हुँदा उनी ‘सेलेब्रेटी’ नै बने ।

२०७४ साल : यो वर्ष लक्ष्मीपूजाको अधिकतम डिमाण्ड (माग) १५०८ मेगावाट पुगेको अनुमान भयो, खासमा भार नियन्त्रण कक्षमा रेकर्ड गरिएको त्यस दिनको आपूर्ति भने ११६५ मेगावाट थियो । अर्थात्, अनुमानित ३४३ मेगावाट बराबर लोडसेडिङ भएछ, त्यो (२०७४ कात्तिक २ गते) साँझ ६ः५५ बजे ।

२०७५ साल : यो वर्ष लक्ष्मीपूजा कात्तिक २१ गते परेको थियो । त्यो साँझ (साँझ ६ बजे) देशको उच्च माग १०९७ मेगावाट पुग्यो । प्राधिकरणले भार नियन्त्रण कक्षबाट मिडियालाई ११०५ मेगावाटको जानकारी दिएको थियो । पछि वास्तविक हिसाब गर्दा केही फरक पर्न गएको थियो ।

२०७६ साल : यस वर्ष लक्ष्मीपूजा कात्तिक १० गते परेको थियो । साँझ ६ः३० बजे अधिकतम माग ११२८.८८ मेगावाट रेकर्ड भयो । भार नियन्त्रण कक्षबाट भने १०८९ मेगावाटको जानकारी दिइयो, जो पछि केही थप भएको पाइयो । यो वर्ष पिक लोड १२६५ मेगावाट थियो । तिहारमा उद्योग–धन्दा चल्दैनन् । प्राधिकरणका अनुसार तिहारको लोड वार्षिक पिक लोड हुन सक्दैन ।

२०७७ साल : यो वर्ष लक्ष्मीपूजाका दिन करिब १०५०–११०० मेगावाट पिक लोड पुग्ने प्रक्षेपण गरिएको थियो । जसमा प्राधिकारणको ५२० मेगावाट, निजी क्षेत्र ४६० मेगावाट र भारतबाट करीब १२० मेगावाट गरी सम्पूर्ण माग आपूर्ति गर्ने लक्ष्य थियो । त्यति गर्दा प्राधिकरणसँग जगेडामा करिब २०० मेगावाट विद्युत थियो । यस वर्ष कात्तिक २९ गते परेको लक्ष्मीपूजाको दिन साँझ ६ः१५ बजे अधिकतम लोड ११३२ मेगावाट रेकर्ड गरिएको थियो । प्रक्षेपित लोड ११०० मेगावाटभन्दा बढेको लोड पुर्‍याउन भारतबाट १५० मेगावाट आयात गर्नुपरेको थियो ।

२०७८ साल : कात्तिक १८ गते परेको लक्ष्मीपूजाका दिन अघिल्ला वर्षको तुलनामा माग केही बढ्ने अर्थात् माग करिब १ हजार ५ सय मेगावाट पुग्ने अनुमान थियो । प्रणालीमा पर्याप्त विद्युत भएको हुँदा कुलेखानी जलाशय सञ्चालन नगरी माग र आपूर्तिबीच सन्तुलन मिलाउन सकिने आकलन थियो । साँझ प्रक्षेपण गरिएको उच्च मागभन्दा कम अर्थात् १२७० मेगावाट रेकर्ड गरियो ।

२०७९ साल : यस वर्षको लक्ष्मीपूजा कात्तिक ७ गतेका दिन (साँझ ६.१० बजे) देशभित्र रेकर्ड गरिएको विद्युत् उच्च माग १३०५ मेगावाट थियो । अघिल्लो वर्षभन्दा यस वर्ष जम्मा ३५ मेगावाट बराबरको माग थपियो । यो माग आपूर्ति गर्न प्राधिकरणका नदी प्रवाहमा आधारित जलविद्युत्‌गृहबाट ४३५.२ मेगावाट, सहायक कम्पनीका जलविद्युत्‌गृहबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूबाट ७६७.५ मेगावाट विद्युत् उत्पादन भएको थियो ।

२०८० साल : यस वर्षको तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते आइतबार परेको थियो । यस दिन देशभित्रको  विद्युत्को उच्च माग १४३८ मेगावाट रेकर्ड गरियो । साँझ ६ बजे रेकर्ड गरिएको माग २०७९ सालको भन्दा १३३ मेगावाटले बढेको थियो । देशभित्रको मागलाई पूरा गरी त्यो वर्ष ५१७ मेगावाट विद्युत् पिक समयमा भारत निर्यात गरियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको थियो ।

२०८१ साल : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे (कात्तिक १५ गते) देशभित्रको  विद्युत् उच्च माग १६०२ मेगावाट रेकर्ड गरियो । गत  वर्षभन्दा यस वर्ष उच्च माग १६४ मेगावाट बढेको छ । देशभित्रको मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् उच्च मागको समयमा भारत निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३