विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

स्याङ्जा (मिर्मी) । अहिले देशव्यापी रूपमा कोरोना महामारी (कोभिड–१९) को त्रास छ । यस्तो समयमा पनि विद्युत् आपूर्तिको चाँजो मिलाउन दिनरात खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले भने कुटाई खानु परेको छ ।

प्राधिकरण स्याङ्जा वितरण केन्द्र अन्तर्गत मिर्मी उपवितरण केन्द्रका इन्चार्ज नन्देश्वर कुशहवालाई कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का सदस्य दिनेश थापाले कुटेका छन् । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘कालीगण्डकी अस्पताल’का लागि दुई वटा फिडरबाट विद्युत् उपलब्ध गराउन इन्कार गरेको भन्दै कुटेको पीडित कुशहवाले ऊर्जा खबरलाई बताए ।

‘मिर्मी क्षेत्रमा पुरानो कृष्ण गण्डकी गाविसका १ देखि ९ नम्बर वडा लगायत स्थानमा मिर्मी बाँधस्थल र कालीगण्डकी आयोजनाको विद्युत्गृहबाट निकालिएका दुई अलग–अलग फिडरबाट विद्युत् वितरण गरिएको छ,’ उनले भने, ‘अस्पतालले दुवै फिडरबाट विद्युत् मागेको छ । तर, त्यो दिन सक्ने मेरो अधिकार छैन ।’

उक्त अस्पतालले २ लाख ४८ हजार रुपैयाँ महसुल बक्यौता पनि तिरेको छैन । वितरण केन्द्र प्रमुखले बक्यौता नतिरे पनि अर्को फिडरबाट लाइन जोडिदिनु भन्ने निर्देशन पाए आफूले काम गर्न सक्ने नत्र नसक्ने कुशहवाले बताए । गाउँपालिका अध्यक्ष खिमबहादुर थापा वडा नम्बर ७ का सदस्य मुक्ति भट्टराई र दुई प्रहरी सहित १०–१२ जनाको समूह रहेका ठाउँमा दिनेशले आफूमाथि हातपात गरेको पीडितको गुनासो छ ।

‘दिनेशजीले हामीले भनेको किन मानिनस् भन्दै कुट्नुभयो, मेरो अधिकार नै नभएको काम गर्न मैले कसरी सक्छु,’ उनले ऊर्जा खबरसँग गुनासो पोखे, ‘कि मलाई माथिबाट गर्नू भन्ने आदेश आउनुपर्यो ।’ २–३ महिना अगाडि मात्र स्थापना भएको अस्पताललाई अहिले क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ ।

कोरोनाको समयमा कुनै पनि बेला सेवा अवरुद्ध हुन नहुने भन्दै गाउँपालिका तथा अस्पतालले एउटा फिडरमा समस्या आए अर्कोबाट आपूर्ति हुने गरी दुई वटैबाट विद्युत् आउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । तर, विद्युत् वितरण विनियमावली, २०६९ अनुसार एउटै ग्राहकलाई दुई वटा फिडरबाट आपूर्ति दिन मिल्दैन ।

गाउँपालिका तथा अस्पतालको माग सही भए पनि नियमले दिन नमिल्ने स्याङ्जा वितरण केन्द्रका प्रमुख दीलिप मरासिनीले बताए । ‘अस्पतालको पुरानो बाँकी बक्यौता पनि छ । ग्राहक कालोपाटीमा सूचीकृत रहेको र बक्यौता पनि नतिरेको हुँदा दुई वटा फिडरबाट विद्युत् दिन गाह्रो छ,’ उनले भने, ‘त्यहाँको थप समस्या बुझ्न बिहीबार बिहानै म त्यसतर्फ जानेछु ।’

सोही भवनमा यसअघि स्थानीय एक पाण्डे थरका व्यक्तिले कृष्णगण्डकी अस्पताल सञ्चालन गरेका थिए । उनले अस्पताल सञ्चालन गर्न नसकी छोडेर हिँडेपछि भवन बेवारिसे बनेको थियो । त्यसपछि, भवनमा गाउँपालिकाको कार्यालय राखिएको थियो । अन्यत्र भवन निर्माण गरी कार्यालय सरेपछि गाउँपालिकाले त्यसै ठाउँलाई ‘कालीगण्डकी अस्पताल’ सञ्चालन गरेको छ ।

आफ्ना कर्मचारीमाथि भएको हातपातको विषयलाई लिएर कारबाही गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ । उजुरी दर्ता गरेपछि कर्मचारीले घुस मागेको आरोप लगाइएको कुशहवाले बताए । ‘मैले कसरी घुस मागेँ त्यो पुष्टि हुनुपर्यो र त्यसमा पनि मलाई कारबाही गर्ने प्रक्रिया छ,’ उनले थपे, ‘लाखौं रुपैयाँ बक्यौता नतिर्ने । अनि, हामीलाई धम्क्याउने र हातपात गर्ने ?’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit