मैलुङ दाेभान (रसुवा) । सगर छुँला झैँ ठडिएका भीमकाय पर्वतशृङ्खला । कहाली लाग्दा भीरपहरा । सप्तगण्डकीमा मिसिएर सागर छुन हतारिइरहेका छाँगाछहरा । यिनै पहरा अनि छाँगाछहराको काखबाट कुद्दै छौँ हामी– चारपाङ्ग्रा गुडेर । झ्यालबाहिर हेर्छु– छङ्गाछुर भीर छ । खुइलिएकाे टाउकाेका रौँजस्ता चट्टान छेडेरै उम्रिएका छन् दुई–चार सल्लाहरू । चट्टानी पर्वत चिरेर तल मैदानमा सुसेली हाल्दै दौडिरहेछ– त्रिशूली । प्रकृतिको एउटा अनुपम उपहार भन्दा हुन्छ, रसुवा । आहा के छैन यहाँ, सबथोक छ । बस् त्यसलाई चिन्न दिल-दिमाग चाहिन्छ । यथार्थमा त्यसलाई पाउन सही योजना चाहिन्छ ।
तिब्बतबाट आएकाे केरुङ खाेला र नेपाली भूभागबाटै आएकाे लेहेन्दे खोला मिसिएपछि भोटेकोसी बनेर बग्छ । त्यसमा टिमुरे (नेपाल) बाट आउने घट्टेखोला, रोङ्गा, लाङटाङ मिसिन्छन् । अनि अझ तल झरेपछि गोसाइँकुण्डबाट आएको पवित्र पौराणिक नदी त्रिशूली मिसिन्छ । त्यसपछि याे त्रिशूली कहलाउँछ । त्रिशुली सङ्गम स्थलभन्दा केही तल रसुवा सदरमुकाम धुन्चेकाे पुछारतिर झरेपछि देखिन्छ– नदीभित्रै ठूल्ठूला आधुनिक उपकरणसहित द्रुत गतिमा चलिरहेको निर्माण कार्य ।
माेटर टक्क रोकिन्छ । यहीँनिर बन्दै रहेछ– माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको बाँध संरचाना ।
गाडीबाट ओर्लिएपछि आयोजना प्रवर्द्धक कम्पनीका एक प्रतिनिधिले भने– ‘सबै जनाले यो हेल्मेट लगाउनुहोस् ।’
हेल्मेट लगाएर अघि बढ्छौँ । नदीमा पानी देखिँदैन । बाँध निर्माणका लागि सुरुङमा हुलेर नदी पथान्तरण गरिएको रहेछ । सुख्खा नदीको बीचमै स्थायी बाँध संरचना (कङ्क्रिट ड्याम) निर्माण भइरहेको देखिन्छ ।
कोही डन्डी सोझ्याउँदै छन्, कोही सिमेन्टको घोल मिलाउँदै छन् । कोही दुरविनले लेबल मिलाउँदै छन् । कोही टिप्पर दौडाइरहे छन् त कोही हात्तीसुँढे स्काभेटरलाई काम दलाइरहेछन् ।
लाग्छ– बाबा विश्वकर्माको शक्ति र आशिर्वाद प्राप्त ज्याद्रा दूतहरू हुन् यी निर्माणकर्मी । भगवान्ले यिनलाई यति शक्ति दिएका छन्, जो पहरा फोरेर मैदान बनाइदिन सक्छन् । नदी थुनेर फर्काइदिन सक्छन् । अनि पहराभित्रै संसार बसाइदिन सक्छन् ।
अघि बढ्दै जाँदा देखिन्छ, एक गगनचुम्बी उपकरण– क्रेन । माथिल्लो क्याविनमा बसेर ‘जिराफ’ जस्तो क्रेन नचाइरहेछन्, एक युवा ।
‘आहा ! कति मज्जा हुँदो हो माथि बसेर यो क्रेन चलाउनेलाई,’ एक साथी रोमाञ्चित भए ।
अर्काेले जवाफ फर्काए, ‘एक छिनलाई त मज्जै होला तर सँधै यही खोँचमा बसेर काम गर्नुपर्दा त दिक्कै लाग्दो हो,’
तेस्राे साथी हाँस्दै बोले– ‘देश बनाउनु छ, जहाँ बसे पनि सबैले दक्षता र क्षमता अनुसारको काम गर्नै पर्छ ।’
यस्तै जिज्ञासा मिश्रित सवाल–जवाफसहित अघि बढिरह्याैँ । आयोजना प्रदर्शकले निर्माणस्थलतर्फ औँल्याउँदै भने– ‘यो चाहिँ हाम्रो हेड वर्क्स अर्थात् बाँध संरचना ।’
यहाँ १०९ मिटर लम्बाइ, ३०.८ मिटर चौडाइ र २९.५ मिटर उचाइ भएको स्थायी कंक्रिट बाँध निर्माण गरिने उनले सुनाए । उनका अनुसार यहाँ पानी थुनेर ६.७ मिटर ब्यास र ९.७ किलोमिटर लम्बाइ भएको हेडरेस सुरूङमार्फत मैलुङ दोभानभन्दा माथि रहने विद्युत्गृहमा लगेर बिजुली उत्पादन गरिने छ ।’ सुरूङअन्तर्गत नै २९२ मिटर उचाइको ९० डिग्रीको ठाडो पेनस्टक सुरुङ र २४१ मिटर लम्बाइको टेलरेस सुरूङ निर्माण भइरहेका छन् ।
‘वैदेशिक लगानीको यस आयोजनाका संरचना निर्माणको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन,’ ती प्रतिनिधि भन्दै थिए, ‘साँच्चै उदाहरणीय बन्दैछ यो आयोजना, समयमै सञ्चालनमा ल्याउने लक्ष्य अनुसार कामसमेत तीव्र गतिमा भइरहेको छ ।’
यति जानकारी पाइसकेपछि आयोजनाको विद्युत्गृह निर्माणस्थल मैलुङ दोभानतर्फ लाग्यौँ । त्रिशूली तरेर हाकुपाखाको पहराभित्र निर्माण भएको सुरुङ मार्ग हुँदै निर्माणाधीन भूमिगत विद्युत्गृहतर्फ अघि बढ्यौँ । सुरुङभित्र पहरा खोपेर बनाइएको बहु-तले भवनसहितका विशाल संरचना देखेर आश्चर्य चकित बन्यौँ । बिग्रिएको, भत्किएको र अविकास मात्रै देखेका हामीलाई त्यहाँ पुगेपछि भने देशमा केही भइरहे झैँ लाग्यो । ठूल्ठूला पूर्वाधारकाे विकास त नदेखिने गरी भइरहेको पो रहेछ भन्ने बोधले भावुक नै बनायो ।
‘बाफ रे विकास त यहाँ पो रहेछ,’ एक साथीले मन खोले, ‘विकास हेर्न सुरुङभित्र छिर्नुपर्ने रहेछ ।’
अर्काले थपे- ‘सुरुङ छेडेर पहराभित्र भइरहेको विकास बाहिरबाट कसरी देख्नू !’
आयोजना प्रदर्शकले निर्माणधीन संरचनाबारे विस्तारमा बताउन थाले, ‘यहाँ ७२ मेगावाटका तीन वटा विद्युत् उत्पादन युनिट रहने छन् । एउटा सुरुङबाट आएको पानी ३ वटा पेनस्टकमा बाँडेर प्रत्येक युनिटमा रहेका टर्वाइनलाई घुमाउने र बिजुली निकाल्ने योजनाका साथ काम भइरहेको छ ।’
विद्युत्गृहका संरचना हेरेपछि त्यसभन्दा उत्तरपट्टिबाट आउने हेडरेस सुरुङतर्फ अघि बढ्यौँ तर अचानक बम पड्किएजस्तो ठूलो आवाजले मुटु नै हल्लायो ।
‘के को आवाज हो यो ?,’ अत्तालियौँ ।
‘अलि माथि २९२ मिटर लामो ९० डिग्रिको ठाडो सुरुङ छेड्न ब्लाष्टिङ भइरहेको छ,’ आयोजनाका एक इन्जिनियरले भने, ‘नआत्तिनुस् हामी त्यता जान मिल्दैन ।’
हामी रोमाञ्चक त्यो क्षणलाई फोटो र भिडिओमा कैद गरी सुरुङबाट बाहिरियौँ ।
मैलुङ दोभानमाथि रहेको आयोजनाको निर्माण कार्यालय तथा आवासगृह पुगेपछि थाहा भयो, एउटै जलविद्युत् आयोजनाले पनि स्थानीय विकासमा कति चमत्कार गर्न सक्दो रहेछ ।
फाट्टफुट्ट घरबाहेक निकै पातलो मानव आवादी रहेको याे खोँच तथा सुनसान विकट भूगोलमा पनि मानव उपस्थिति बाक्लिएको छ । आयोजनामा काम गर्ने विभिन्न कम्पनीका गाडी कुदेका छन् । स्थानीयको पसल, व्यापार व्यवसाय गुल्जार बनेका छन् । रोजगारी खुलेको छ । सडक, शिक्षा, स्वास्थ्य जस्ता हरेकजसो पूर्वाधार पुगेको छ ।
एक छिनका लागि त्यस ठाउँबाट माथिल्लो त्रिशूली–१ लाई चटक्कै हटाएर कल्पिएँ, ‘को आउँथ्यो होला यो निर्जन ठाउँमा ? जीवन कति असहज हुन्थ्यो होला सिला खोजेजस्तो खोज्नुपर्ने यहाँका मानव बस्तीमा ? सडक, सवारी, बिजुलीबिनाका मानव बस्ती इतिहासको आदिम युग जस्तै त हुन्थ्यो होला ।’ सपनामा छटपटाए जस्तै सकस भयो ।
झल्याँस्स ब्युउँझिएँ, 'जे होस्, आयोजना आयो । र त गाउँले विकास पायो, देशले समृद्धि । साह्रै निराश पनि नबनौँ, केही त हुँदैछ । देशका सबै ठाउँमा यस्तै विकास पुगोस् । विकास पुर्याउने जाँगर हाम्रा प्रतिनिधिलाई मिलोस् ।' ईश्वरसँग मनमनै प्रार्थना गरेँ अनि भावनालाई यथार्थमा विश्राम लगाएँ ।
साथीहरू गोलमेचमा थिए । आयाेजना निर्माणमा तल्लिन इन्जिनियरहरू थिए ।सँगै आयोजनाका इलेक्ट्रिकल म्यानेजर विनय काफ्ले हुनुहुन्थ्यो । उहाँसँग आयोजनाबारे छलफल गर्यौँ र विस्तृत जानकारी लियौँ । जसलाई निम्नानुसार उप-शीर्षकहरूमा उल्लेख गरिन्छ :
आयोजनाका विशेषता
नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले प्रवर्द्धन गरिरहेको २१६ मेगावाट क्षमताको यो आयोजना रसुवामा निर्माण भइरहेको मध्ये सबैभन्दा ठूलो आयोजना हो । त्यस्तै, आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा निर्माण हुँदै गरेको सबैभन्दा ठूलो आयोजना हो । वार्षिक ऊर्जा उत्पादनका हिसाबले पनि नदी प्रवाही आयोजना मध्ये हिउँदमा समेत उत्पादन बढी दिने आयोजना हो । यस आयोजनाले सुख्खा याममा पनि जडित क्षमताको ३९ प्रतिशत र वार्षिक स्थिर रूपमा (औषत) १०५ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।
आयोजनाको उत्पादन झण्डै ५० प्रतिशतबाट नघट्ने देखिएकोले पनि यसलाई आकर्षक आयोजना मानिएको छ । सामान्यतया नेपालका नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् उत्पादन हिउँदमा २० प्रतिशतभन्दा पनि कम क्षमतामा खुम्चिने गरेका छन् । तिब्बतबाट आउने दुई सहित ६ वटा नदीको संगमपछि त्रिशूली नदीको ठूलो जलप्रवाहलाई आयोजनाले विद्युत् उत्पादनमा प्रयोग गर्ने भएकोले आयोजनाको हिउँदे उत्पादनसमेत आकर्षक देखिएको हो ।
ऊर्जामा हिसाब गर्ने हो भने योजनाबाट वार्षिक १ हजार ४५६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ । यस मध्ये वर्षायाममा ८९२.०४ गिगावाट घण्टा र सुख्खायाममा ५६४.३६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ । आयोजनाले वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन दिने छ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३‘बी’ हब सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।
‘लोड सेन्टर’ काठमाडौँबाट आयोजना जम्मा ७० किलोमिटर उत्तरमा पर्ने रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को हाकु पाखामा निर्माण भइरहेको छ । उक्त स्थानको पहराभित्र भूमिगत विद्युत्गृहमा सुरुङमार्फत पानी लगेर विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भइरहेको छ । कडा चट्टानले बनेको पहाडभित्र विद्युत्गृहसहित सम्पूर्ण संरचना भूमिगत भएका कारण आयोजनालाई भूक्षय तथा बाढीपहिराले कुनै असर नगर्ने अपेक्षा गरिएको छ । त्यस्तै भोटेकोसीमा आउने भिषण बाढीबाट आयोजनाका भूमिगत संरचना सुरक्षित गर्न इन्टेकको ढोका बन्द गर्ने प्रविधि अपनाइने छ । विद्युत्गृहमा ७२ मेगावाट क्षमताका तीन टर्बाइन जडान गरी विद्युत् उत्पादन हुने छ ।
निर्माण प्रारूप र स्रोत व्यवस्थापन
माथिल्लो त्रिशूली–१ जलविद्युत् निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण प्रारूप (बुट मोडल) मा आयोजना निर्माण गरिरहेको आयोजना हो । आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित ६४ करोड ७३ लाख अमेरिकी डलर रहने अनुमान छ । यस मध्ये अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् ।
आयोजनामा प्रवर्द्धक कम्पनीले ३० प्रतिशत स्वपुँजी लगानी गरेको छ भने ९ वटा विदेशी बैंक तथा वित्तीय संस्थाहरूले कुल लागतको ७० प्रतिशत ऋण लगानी गरेका छन् । आयोजनामा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), एसियाली विकास बैंक (एडिबी), एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी), कोरियाली एक्जिम बैंक (एक्जिम बैंक अफ कोरिया), कोरियाली विकास बैंक (केडिबी), नेदरल्यान्डस विकास बैंक (एफएमओ), फ्रान्स डेभलपमेन्ट बैंक (प्रोपार्को), बेलायत विकास बैंक (सिडिसी) र आपेक फन्ड (ओएफआइडी) ले ऋण लगानी गरेका छन् ।
समग्र निर्माण प्रगति ५६ प्रतिशत
२०७८ पुसबाट मुख्य निर्माण कार्य सुरु भएको आयोजनाको हालसम्मको समग्र निर्माण प्रगति ५६ प्रतिशत पुगेको छ । हालसम्म आयोजनाको वायर निर्माण ४६ प्रतिशत, इन्टेक ४५ प्रतिशत, डिस्यान्डर ६१ प्रतिशत, हेडरेस सुरुङ ४९ प्रतिशत, प्रेसर सुरुङ ५८ प्रतिशत, ट्रान्सफर्म क्याभर्न ५० प्रतिशत, विद्युत्गृह ९० प्रतिशत, टेलरेस र ड्राफ्ट सुरुङ ४८ प्रतिशत निर्माण सकिएको छ । आयोजनाको निार्माण ५ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजनाको व्यापारिक उत्पादन मिति सन् २०२६ डिसेम्बर अर्थात् २०८३ साल मंसिर रहेको छ ।
आयोजनामा प्रवर्द्धकका लागि इन्जिनियरिङ परामर्श सेवा ट्रयाक्टवेल, एन्जी र जेडकन्सल्टले दिइरहेका छन् । आयोजनाको इपिसी कन्ट्रयाक्टरका रूपमा कोरियाली कम्पनी डुसान रहेको छ भने सब–कन्ट्रयाक्टरका रूपमा पावर चाइना र एन्ड्रिज हाइड्रोले काम गरिरहेका छन् ।
स्थानीय विकासमा १७ करोडभन्दा बढी लगानी
प्रवर्द्धक कम्पनीले आयोजना प्रभावित हाकु क्षेत्रका स्थानीयलाई क्षमता अनुसार रोजगारीको अवसर दिएको छ । आयोजनाले रोजगारी, शिक्षा, स्वास्थ्य, धर्मसंस्कृति संरक्षण, वातावरण तथा जैविक विविधताको संरक्षण, खेलकुद, सुरक्षा, जनचेतना अभिवृद्धि जस्ता क्षेत्रमा अनेक पूर्वाधारको निर्माण तथा सेवाका कार्य सञ्चालन गरिरहेको छ ।
आयोजनाले प्रभावित क्षेत्रका १५० जना स्थानीयलाई रोजगारी दिएको छ । हाकु तथा हाकुबेँसी क्षेत्रका विद्यालयमा एक/एक जना शिक्षकको व्यवस्था गरिदिएको छ । १२१ जनालाई विभिन्न आयआर्जन तथा सिपमूलक तालिमसमेत दिएको छ । धुञ्चेस्थित रसुवा मावि परिसरमा छात्रावास भवन (होस्टेल), राम्चेमा विद्यालय भवन, हाकु स्वास्थ्य केन्द्र भवन निर्माण गरिदिएको छ । विगतको कोभिड–१९ संक्रमण कालमा गोसाईँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिकालाई आर्थिक सहयोगसमेत प्रदान गरेको थियो । आयोजनाले धुञ्चे र हाकुबेँसी जोड्न त्रिशूलीमा बेलिब्रिज, फूलबारी–लाम्राङ सडक, ठूलो हाकु क्षेत्र पुग्ने ३ किमी पैदल मार्ग निर्माण गरिदिएको छ । त्यस्तै, तिरू सडक स्तरोन्नति गरिदिएको छ । धुञ्चे–खोदल सडक निर्माणमा आर्थिक सहयोग प्रदान गरेको छ ।
मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत धुञ्चे पुछारको त्रिशूलीमा पुल निर्माण गरिदिएको छ । गोसाइँकुण्ड मेला व्यवस्थापन, बौद्ध गुम्बालाई आर्थिक सहयोग, हाकु प्रहरीचौकीका लागि जग्गा व्यवस्थापन एवं आर्थिक सहयोग गरेको जस्ता कार्य आयोजनाले गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा सघाउन मैलुङमा सुरक्षा चौकी र धुञ्चेस्थित नेपाली सेनाको हातामा हेलिप्याड निर्माण, जैविक विविधतता संरक्षण तथा डढेलो नियन्त्रणका लागि समेत आर्थिक सहयोग पुर्याएको छ ।
आयोजनाले हालै मात्र आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकु हेल्थपोष्टले सञ्चालन गर्ने गरी गाउँपालिकालाई एउटा एम्बुलेन्स सहयोग गरेको छ । त्यस्तै, उत्तरगया गाउँपालिकालाई समेत अर्को छुट्टै एम्बुलेन्स प्रदान गर्र्ने जनाएको छ । यसरी आयोजनाले यी विभिन्न कार्यक्रम र सहयोगमार्फत स्थानीय क्षेत्रमा सामाजिक उत्थानका लागि १७ करोड रूपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।
आयोजना विकासको समयरेखा
आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) र पहुँच मार्ग तयार गर्ने कार्य सन् २०१३ मा सुरु भएको भएको थियो । २०१४ मा जग्गा अघिग्रहण गरियो । २०१५ मा भूकम्प गएपछि आयोजनाको काम केही समय रोकियो । २०१६ मा परियोजना विकास सम्झौता भयो । २०१७ मा लाइसेन्स प्राप्त गर्यो । २०१८ मा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भयो । २०१९ मा वित्तीय सम्झौता भयो । २०२० मा इन्जिनिरिङ, खरिद, निर्माण सम्झौता (इपिसी कन्ट्रयाक्ट) सम्पन्न भयो । २०२१ मा प्रारम्भिक निर्माणको सञ्चालन तथा मर्मत (ओएन्डएम) सम्झौता गरियो । २०२२ मा वित्तीय व्यवस्थापन पूरा भयो । २०२३ अर्थात् वि.सं. २०७८ साल पुसबाट मुख्य निर्माण कार्य सुरु भएको यो आयोजना २०८३ साल मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
पुष्प काेइराला, ऊर्जा खबरका कार्यकारी सम्पादक हुन् ।