काठमाडौँ । सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत अगाडि बढाइने जलविद्युत् आयोजनाहरूमा ‘विपन्न नागरिक’लाई शेयर खरिदको सुनिश्चितता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पहलमा ‘जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५’ मा दोस्रो संशोधन गरी विपन्न नागरिकका लागि शेयर सुनिश्चित गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियत दरमा ऋण उपलब्ध गराई उक्त कार्यक्रम कार्यान्वयन गरिने मन्त्री खड्काले बताए । ‘स्थानीयवासीका नाममा छुट्याइएको शेयरमा पहुँच पुग्न नसकेको वा पिछडिएको वर्गको जीवनस्तर उकास्ने उद्देश्यका साथ यस्तो कार्यक्रम अघि बढाइएको हो,’ उनले भने, ‘विगतमा विपन्न वर्ग भनिए पनि उनीहरू सँधै त्यसको लाभबाट बञ्चित भए ।’ यो कार्यविधि कार्यान्वयन भएपछि भने अब त्यो वर्गको पहुँच सुनिश्चित भएको उनको भनाइ छ ।
आयोजना प्रभावित तथा स्थानीयबासी, गरिब र पिछडिएको वर्गलाई सरकारले प्रदान गर्ने परिचयपत्रका आधारमा सहुलियत ऋणको सुविधा प्रदान गरिने मन्त्री खड्काले बताए । विगतमा जस्तै सरकारले लागू गर्ने यस्तो कार्यक्रममा धनी वर्गले समेत घुसपैठ गर्न सक्ने पक्षलाई मनन् गर्दै त्यसको कडाइका साथ नियमन गरिने पनि उनले बताए ।
‘स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै अति निम्न वर्गको जीवनस्तर सुधार्ने कार्यक्रम भएको हुँदा यस्तो सुविधा पिछडिएको वर्गले बाहेक अन्यले पाउन नसक्ने खालको मापदण्ड हुनेछ,’ उनले भने, ‘हाम्रा स्थानीय सरकारका निकायहरू छन्, तिनीहरूले समेत यसलाई नजिकबाट निरीक्षण, नियमन र सिफारिस गर्नेछन् ।’
संशोधित कार्यविधि अब मन्त्रालयले प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । ‘यसले निम्न तथा पिछडिएको वर्गको जीवनस्तर सुधार हुने विश्वास गरेका छौँ,’ उनले भने, ‘यसबाट गरिबी निवारणमा सहयोग पुग्नुका साथै नागरिकको प्रतिव्यक्ति कूल राष्ट्रिय आय (एनजीआई) समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।’
‘प्राकृतिक स्रोतमाथिको अधिकार सबै नागरिकका लागि समान हुने भएकाले आर्थिक हिसाबले विपन्न नागरिकलाई समेट्ने गरी जलविद्युत्काे विकास तथा निर्माणमा नेपाली जनताको सहभागीता र स्वामित्व कायम गरी आन्तरिक पूँजी बजारको माध्येमबाट नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको विकास गर्ने उद्देश्यले शेयर लगानी गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर प्रदान गर्न’ कार्यविधि संशोधन गरी यस्तो नयाँ व्यवस्था गरिएको कार्यविधिको प्रस्तावनामा उल्लेख छ ।
२०७३ सालमा तत्कालीन ऊर्जा मन्त्री जनादर्शन शर्माले ‘जलविद्युत्मा जनताको लगानी’ कार्यक्रम अघि बढाए तर करिब १० महिनामै पदमुक्त भए । त्यसपछि, २०७४ सालमा ४/४ महिना मन्त्री बनेका महेन्द्रबहादुर शाही र कमल थापाको उक्त कार्यक्रमतर्फ ध्यान नै गएन । सोही वर्षको फागुनदेखि २०७७ पुस ५ गतेसम्म मन्त्री रहेका वर्षमान पुनले निकै तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई शेयर दिएर ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्काे शेयरधनी’ भन्ने नारा सहित ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम शुरू गरे । जसमा १९ आयोजनाबाट ३५०० सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । पछि ३ वटा थपेर सङ्ख्या २२ पुर्याइयो ।
ती आयोजनामा करिब ७ खर्ब रूपैयाँभन्दा बढी लगानी हुने अनुमान थियो । कार्यक्रम अघि बढाउन कार्यविधि बनाइयाे । यसलाई सहजीकरण गर्न बनाइएको ‘जनताको जलविद्युत् कार्यक्रम’ नामको वेबसाइट पनि बनाइयाे तर याे कार्यक्रमलाई ‘कोमा’मा पुर्याइएकाे थियाे । हाल २२ मध्ये कतिपय आयोजनाका विकासकर्ता फेरिएका छन् । जस्तो, अरुण–४ आयोजना विकास गर्न सरकारले भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) लाई दिएकाे छ भने फुकाेट कर्णाली लगायतमा एनएचएपिसी इन्डियालाई दिइएको छ । यद्यपि, विगतका मन्त्रीहरूले शुरू गरेको यो कार्यक्रमलाई निरन्तरता दिँदै स्वेदेशी निम्न वर्गका जनताको जीवनस्तर सुधार्ने मन्त्री खड्काको अभियानलाई सकारात्मकरूपमा लिन सकिन्छ ।
यस्तो छ कार्यविधिको पूर्णपाठ
जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि (दोस्रो संशोधन), २०७५
प्रस्तावनाः प्राकृतिक स्रोत माथिको अधिकार सवै नागरिकमा समान हुने भएकोले आर्थिक हिसाबले विपन्न नागरिकलाई समेट्ने गरी जलविद्युत्को विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व कायम गरी आन्तरिक पूँजी बजारको माध्यमबाट नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको विकास गर्ने उद्देश्यले शेयर लगानी गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर प्रदान गर्न वाञ्छनीय भएकोले; नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत् नियमावली, २०५० को नियम ९४क. बमोजिम यो कार्यविधि जारी गरेको छ।
परिच्छेद -१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यो कार्यविधिको नाम जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि (दोस्रो संशोधन), २०७५ रहेको छ ।
(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा -
(क) “बिपन्न नागरिक” भन्नाले आर्थिक अवस्था कमजोर भएको नागरिकलाई सम्झनु पर्छ।
•(ख)“आयोजना प्रभावित बासिन्दा” भन्नाले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतका जलविद्युत् आयोजनाको विद्युत्गृह वा अन्य संरचना रहने वा त्यस्तो आयोजनाबाट उत्पादित विद्युत् जोडिने राष्ट्रिय प्रसारण ग्रिड अन्तर्गतको सबस्टेसन/जडान बिन्दु (डेलिभरी प्वाइन्ट) सम्मको प्रसारण लाइन रहने स्थानीय तहका प्रभावित जनता सम्झनुपर्छ।
(ग) “कम्पनी” भन्नाले कम्पनी ऐन, २063 अन्तर्गत स्थापित जलविद्युत् कम्पनी सम्झनु पर्छ र सो शब्दले जलविद्युत् आयोजनाका प्रवर्द्धक समेतलाई जनाउँछ।
_______________
•दोस्रो संशोधनद्वारा थप ।
(घ) “जनताको जलविद्युत् कार्यक्रम” भन्नाले नेपाली जनताले शेयर लगानी गर्न पाउने गरी अनुसूची-१ मा तोकिएको जलविद्युत् आयोजनाहरू सम्झनु पर्छ।
(ङ) “मन्त्रालय” भन्नाले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्झनु पर्छ।
(च) “शेयर” भन्नाले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको आयोजना निर्माण गर्ने कम्पनीले जारी गरेको तोकिएको अङ्कित मूल्य भएका शेयर सम्झनु पर्छ र सो शब्दले अग्राधिकार तथा प्रिमियम शेयर समेतलाई जनाउँछ।
परिच्छेद - २
जनताको जलविद्युत् कार्यक्रम सम्बन्धी व्यवस्था
३. जनताको जलविद्युत् कार्यक्रमः (१) मन्त्रालयले जलविद्युत् आयोजनाको विकास तथा निर्माणको लागि पूँजी सङ्कलन गर्न तथा जलविद्युत् विकासमा नेपाली जनताको स्वामित्व र सहभागिता कायम गर्न जनताको जलविद्युत् कार्यक्रम सञ्चालन गर्नेछ।
(२) अनुसूची-१ मा उल्लिखित जलविद्युत् आयोजनाहरू जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विकास, निर्माण तथा सञ्चालन गरिनेछ।
४. कर्जा तथा स्वपूँजी अनुपातः मन्त्रालयको सहमति लिई जलविद्युत् आयोजनाको प्रकृति र क्षमताको आधारमा कर्जा तथा स्वपूँजीको संरचनामा आवश्यकता अनुसार कर्जा तथा स्वपूँजी अनुपात कायम गरिनेछ ।
५. शेयर संरचनाः जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतका आयोजना निर्माण गर्ने कम्पनीको शेयर संरचनामा कम्तीमा एकाउन्न प्रतिशत संस्थापक समूह र बढीमा उनन्चास प्रतिशत सर्वसाधारण समूहको रहनेछ।
परिच्छेद - ३
संस्थापक तथा सर्वसाधारण समूहको शेयर सम्बन्धी व्यवस्था
६. संस्थापक समूहको शेयरः सम्बन्धित कम्पनीले मन्त्रालयको सहमति लिई दफा ५ बमोजिमको संस्थापक समूहका शेयरधनीको लागि छुट्याईएको शेयर विभाजन गर्दा नेपाल सरकार, प्रदेश सरकार, सम्बन्धित आयोजना रहेको जिल्लाको स्थानीय तह, नेपाल सरकारले तोकेको निकाय तथा सङ्गठित संस्था, स्वदेशी वा विदेशी लगानीकर्तालाई सहभागी गराउन सक्नेछ।
७. • सर्वसाधारण समूहको शेयरः (१) सम्बन्धित कम्पनीले मन्त्रालयको सहमति लिई दफा ५ बमोजिम सर्वसाधारण समूहको लागि छुट्याईएको शेयर संरचनामा आयोजना प्रभावित वासिन्दालाई प्राथमिकता दिई दोहोरो शेयर नपाउने गरी देहाय बमोजिम निर्धारण गर्नेछ :
• (क) जलविद्युत् आयोजना रहेको जिल्लाका प्रभावित बासिन्दा,
•(ख) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक,
•(ग) सम्बन्धित जिल्लाको आर्थिक रूपले बिपन्न नागरिक,
•(घ) खण्ड (क) र (ग) बाहेक अन्य जिल्लाका सर्वसाधारण जनता,
•(ङ) आयोजना प्रभावित स्थानीय बासिन्दा,
•(च) सम्बन्धित कम्पनीमा कार्यरत कर्मचारी,
•(छ) आयोजना रहेको जिल्लामा कार्यरत श्रेणी विहिन/ निम्न तह वा सो सरहका अन्य राष्ट्रसेवक कर्मचारी
• स्पष्टीकरण: शेयर निर्धारण गर्दा घरधुरीको आधारमा गर्नुपर्नेछ
(२) दफा ७ को उपदफा (१) बमोजिम शेयर विभाजन गर्दा कम्पनीले आयोजना रहेको जिल्लाका स्थानीयवासीलाई प्राथमिकता दिई बाँकी शेयर अन्य जिल्लाका सर्वसाधारण जनतालाई छुट्याउनु पर्नेछ।
_________________________
दोस्रो संशोधनद्वारा संशोधित ।
•दोस्रो संशोधनद्वारा थप ।
परिच्छेद - ४
शेयर निष्काशन सम्बन्धी व्यवस्था
८. शेयरको सार्वजनिक निष्कासनः (१) यस कार्यविधि तथा प्रचलित धितोपत्र सम्बन्धी कानून बमोजिम सर्वसाधारण समूहको लागि शेयर निष्कासन गर्न सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्रकाशित सूचनाको म्यादभित्र दफा ७ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (ङ), (च) र (छ) बमोजिमका समूहले शेयर खरिद नगरेमा वा केही शेयर बाँकी रहेमा खण्ड (घ) बमोजिमको समूहलाई खरिद गर्ने अवसर दिनुपर्नेछ।
(३) उपदफा (१) बमोजिमको सूचनामा सर्वसाधारणले न्यूनतम दुईसय कित्ता शेयर खरिदको लागि दरखास्त दिनसक्ने व्यवस्था समेत राख्नु पर्नेछ ।
९. बिक्री प्रबन्धक नियुक्त गर्नुपर्नेः कम्पनीले यस कार्यविधि बमोजिम शेयरको सार्वजनिक निष्कासन गर्ने प्रयोजनको लागि धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीलाई धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्नु पर्नेछ।
१०. शेयर वापतको रकम भुक्तानीः (१) यस कार्यविधि बमोजिम शेयर खरिदका लागि सर्वसाधारण जनतालाई आव्हान गर्दा प्रति शेयर अङ्कित मूल्यको न्यूनतम दश प्रतिशतले हुन आउने रकम दरखास्तसाथ माग गर्नु पर्नेछ । तर, विपन्न नागरिकको लागि छुट्याइने शेयरको हकमा आयोजनाको पचास प्रतिशत कार्य सम्पन्न भएपश्चात लगानी हुने व्यवस्था कम्पनीले मिलाउनु पर्नेछ ।
(२) उपदफा(१)बमोजिम शेयर वापत चुक्ता गर्न बाँकी रकम सम्बन्धित जलविद्युत् आयोजनाको पचास प्रतिशत भौतिक प्रगति र कम्पनीको संस्थापक समूहका शेयरधनीले लिन कबुल गरेको शेयर वापतको सबै रकम चुक्ता गरे पश्चात मात्र भुक्तानी माग गर्नु पर्नेछ ।
(३) उपदफा(२) बमोजिम शेयर वापतको बाँकी रकमको भुक्तानी प्रचलित कानून बमोजिम हुनेछ।
_________________________
• दोस्रो संशोधनद्वारा थप ।
(४) यस कार्यविधिको दफा ७ को उपदफा (१) को खण्ड (ग) बमोजिम शेयर खरिदका लागि आयोजना निर्माण हुने जिल्लाभित्रका आर्थिक रूपले विपन्न, पिछडिएका र गरिब नागरिकलाई बैङ्क तथा वित्तीय संस्था मार्फत शतप्रतिशत बिना धितो सहुलियत व्याज दरमा कर्जा उपलब्ध गराउनको लागि कम्पनीले मन्त्रालयको सहयोग लिई आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। तर दातृ निकाय वा सामाजिक कोष वा म्युचियल फण्ड वा त्यस्तै प्रकृतिका संस्थाले पनि सतप्रतिशत बिना धितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन बाधा पर्ने छैन।
(५) उपदफा (४) बमोजिमको कर्जा सुविधा आयोजनाको जडित क्षमता अनुसार प्रति घरधुरी दुईलाख रूपैयाँदेखि पाँचलाख रूपैयाँसम्म हुन सक्नेछ।
परिच्छेद - ५
विविध व्यवस्था
१५. शेयरधनीको सूची सम्बन्धी जानकारीः यस कार्यविधि बमोजिम जारी भएका शेयरको लगत र शेयरधनीहरूको सूची अनुसूची -२ बमोजिमको ढाँचामा मन्त्रालयलाई दिनु पर्नेछ।
१६. पूर्व स्वीकृति लिनुपर्नेः (१) जनताको जलविद्युत् कार्यक्रममा समावेश भएका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त कम्पनीले मन्त्रालयको पूर्व स्वीकृति लिई शेयर संरचनामा परिवर्तन गर्न वा संस्थापक समूहका शेयरधनीले लिएको शेयर बिक्री गर्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न सक्ने छ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित धितोपत्र सम्बन्धी कानून बमोजिम कम्पनीको शेयर धितो बन्दकमा राखी कर्जा वा डिवेञ्चर उठाउन बाधा पुर्याएको मानिने छैन।
_________________________
• दोस्रो संशोधनद्वारा थप ।
दोस्रो संशोधनद्वारा झिकिएको ।
१७. अनुसूचीमा हेरफेर वा थपघटः मन्त्रालयले आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।
१८. प्रबन्धपत्र तथा नियमावलीमा संशोधनः जनताको जलविद्युत् कार्यक्रममा समावेश भएका जलविद्युत् आयोजनाको विकास तथा निर्माण गर्ने कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा यस कार्यविधिको दफा 5 मा उल्लेख भए बमोजिमको शेयर संरचना कायम गर्नु पर्नेछ। तर, जनताको जलविद्युत् कार्यक्रममा समावेश भई सर्वसाधारणको लागि शेयर निष्कासन भइसकेका जलविद्युत् आयोजना सम्बन्धी कम्पनीले प्रबन्धपत्र र नियमावलीमा यस कार्यविधिको दफा 5 बमोजिम संशोधन गर्नुपर्ने छैन।
१९. आवश्यक सहयोग गर्नुपर्नेः (१) नेपाल सरकारका सम्बद्ध निकाय, प्रदेश तथा स्थानीय तहले यस कार्यविधि बमोजिम जनताको जलविद्युत् कार्यक्रम सञ्चालन गर्न आवश्यक सहयोग गर्नु पर्नेछ।
(२) जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत शेयर आवेदन बुझाउने प्रयोजनका लागि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्ने वा शेयरका विषयमा सर्वसाधारण जनताले मागेको जानकारी वा सूचना दिई आवश्यक सहयोग गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
२०. निर्देशन दिन सक्ने: मन्त्रालयले सम्बन्धित जलविद्युत् कम्पनीलाई सञ्चालनका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ।
२१. बाधा अड्काउ फुकाउने अधिकारः यस कार्यविधिको कार्यान्वयनमा कुनै द्विविधा वा बाधा अड्काउ उत्पन्न भएमा त्यस्तो द्विविधा वा बाधा अड्काउ फुकाउने अधिकार मन्त्रालयलाई हुनेछ।
_________________________
दोस्रो संशोधनद्वारा झिकिएको ।
•दोस्रो संशोधनद्वारा थप ।
२२. प्रचलित कानून बमोजिम हुनेः यस कार्यविधिमा लेखिएको बाहेक अन्य कुराको हकमा प्रचलित कानून बमोजिम हुनेछ।
•२३. बचाउ: जनताको जलविद्युत् कार्यक्रम(सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २075 बमोजिम भए गरेका काम कारवाही यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ ।
_________________________
• दोस्रो संशोधनद्वारा थप ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत विकास गरिने जलविद्युत् आयोजनाहरूको सूची
क्र. सं. | आयोजना | क्षमता (मेगावाट) | प्रभावित जिल्ला | कैफियत |
१. | अरुण किमाथाङ्का | ४८२ | संखुवासभा | |
२ | माथिल्लो अरुण | १०६३ | संखुवासभा | |
३ | इखुवा | ३० | संखुवासभा | |
४ | अरुण- ४ | ३७२ | संखुवासभा | |
५ | घुन्सा खोला | ७२ | ताप्लेजुङ | |
६ | सिम्बुआ खोला | ७० | ताप्लेजुङ | |
७ | तामाकोशी-५ | ९६ | दोलखा | |
८ | माथिल्लो त्रिशुली -३ बि | ३७ | नुवाकोट | |
९ | बूढीगण्डकी ग्वारखोला | ६० | गोरखा | |
१० | बूढीगण्डकी प्रोक | १०० | गोरखा | |
११ | बूढीगण्डकी प्रोक-२ | २४० | गोरखा | |
१२ | बूढीगण्डकी क | ७५ | गोरखा | |
१३ | भेरी बबई डाइभर्सन | ४८ | सुर्खेत | |
१४ | फुकोट कर्णाली | ४९२ | कालिकोट | |
१५ | जगदुल्ला-१ | ९२ | डोल्पा र जाजरकोट | |
१६ | जगदुल्ला-२ | ६५ | डोल्पा र जाजरकोट | |
१७ | चैनपुर सेती | २१० | बझाङ | |
१८ | सेती नदी-३ | १६३ | बझाङ | |
१९ | अपर सेती | ५० | बझाङ | |
२० | माथिल्लो साञ्जेन | १४.८ | रसुवा | |
२१ | साञ्जेन | ४२.५ | रसुवा | |
२२ | रसुवागढी | १११ | रसुवा |
स्रोत : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय