काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालसम्मको वित्तीय अवस्था, विद्यमान समस्या र भावी कार्यदिशा तय गर्ने गरी स्पष्ट तथ्यगत अवस्था (श्वेतपत्र) सार्वजनिक गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेसँगै बैठक बसेको थियो । प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँगको परामर्श तथा निर्देशनलाई केन्द्रमा राखेर संस्थाको तथ्यगत अवस्था बाहिर ल्याउने निर्णय भएको जनाइएको छ ।
‘प्राधिकरणको नाफा–नोक्सान, भइरहेका कार्यप्रगति लगायत विषयमा आम जनमानसमा रहेका जिज्ञासालाई उक्त श्वेतपत्रले स्पष्ट पार्ने छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘श्वेतपत्र तयार गर्न कार्यकारी निर्देशक ज्यूले एक समिति गठन गर्ने तयारी गर्नुभएको छ ।’
त्यस्तै, बैठकले लामो समयदेखि रोकिएको विद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खोल्ने निर्णय पनि गरेको छ । सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र ल्याएकोले सो मार्गचित्रको लक्ष्य पूरा गर्न पिपिए खोल्नु आवश्यक रहेको बैठकको निष्कर्ष छ । बैठकले विपन्न समुदायका परिवारलाई विद्युत्को विभिन्न शीर्षकमा सहुलियतको विशेष राहत प्याकेजको घोषणा गर्ने निर्णय समेत गरेको छ ।