काठमाडौँ । साताकाे हरेक शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले विद्युत् प्रणालीमा प्रयोग हुने अर्थिङका विषयमा जानकारी र विविध विषयमा प्रश्नोत्तर प्रस्तुत गरेका छौँ । अघिल्लो साता हामीले विद्युत् लाइनमा प्रयोग हुने सर्किट ब्रेकर र यसका प्रकार बारे जानकारी दिएका थियौँ ।
१. अर्थिङ भनेको के हो ?
उत्तर : अर्थिङलाई ग्राउन्डिङ पनि भनिन्छ । यो विद्युतीय प्रणालीलाई सुरक्षित राख्न पृथ्वीसँग जडान गर्ने प्रक्रिया हो । यसले अतिरिक्त विद्युतीय प्रवाहलाई सुरक्षित रूपमा जमिनमा निस्कन मार्ग प्रदान गर्छ, जसले विद्युतीय झट्का, आगलागीको जोखिम, र उपकरण क्षति हुनबाट जोगाउँछ ।
२. ट्रान्सर्फमर अर्थिङ कति प्रकारका हुन्छन् ?
उत्तर : जति बढी भोल्टेजको सबस्टेशन भयो उति नै फल्ट करेन्ट बढी हुन्छ । जति बढी फल्ट करेन्ट भयो उति नै स्टेप भोल्टेज वा टच भोल्टेज बढी हुन्छ । यो भोल्टेज बढी हुनु भनेको मानवीय क्षति हुन सक्ने अवस्था हो । अर्थिङले स्टेप भोल्टेजलाई न्यून पार्ने अर्थात् सुरक्षित तहसम्म ल्याउने काम गर्दछ । यो निम्नानुसार तीन तरिकाले प्रकारले गर्न सकिन्छ :
(क) मेस अर्थिङ : यसमा तामाको पाताको जालो प्रयोग गरिन्छ । यसलाई कसैले गुन्द्रकजस्तो अर्थिङ पनि भन्ने गर्दछन् । मेस अर्थिङ विद्युत्गृह र सबस्टेसनको गरिन्छ । मेस कत्रो, कस्तो राख्ने आदि कुराहरू सबस्टेसनमा उत्पन्न हुनसक्ने फल्ट करेन्ट र माटोको प्रतिरोधात्मकतामा निर्भर रहन्छ । यी सबै कुराको लेखाजेखा विद्युत्गृह अर्थिङ सबस्टेशन डिजाइनरले गर्नु पर्ने हुन्छ । यो मेस अर्थिङमा जमिनको सतहबाट ५० सेन्टिमिटरमुनि जालोजस्तो बनाई तामाको पाता राख्ने गरिन्छ । र त्यसमा अतिरिक्त विद्युत् प्रवाह हुन सक्छ ।
(ख) पाइप अर्थिङ : जमिनमुनि पाइप गाडेर गरिएको अर्थिङलाई पाइप अर्थिङ भन्ने गरिन्छ । पृथ्वीको माथिल्लो सतह प्रायः सुख्खा रहने हुनाले यो सतहको प्रतिरोधात्मकता (रेजिस्टिभिटी) बढी हुने गर्दछ तर जमिनको गहिराई बढ्दै जाँदा माटोमा आद्रता वा चिसोपना (मोइस्चर) बढ्दै जान्छ । जसको कारणले यो सतहको प्रतिरोधात्मकता घट्दछ । खास गरी सुख्खायाममा पाइपको चारैतिर आद्रता बनाइराख्न यसको माथि पानी हाल्ने ठाउँ बनाइएको हुन्छ । यो पाइपलाई इलेक्ट्रोड पनि भन्ने गरिन्छ । जहाँ पाइप गाड्न सकिन्छ, त्यस्तोे ठाउँका लागि पाइप अर्थिङ राम्रो हुन्छ । पाइप अर्थिङका लागि प्रयोग हुने पाइपको मोटाइ ४० एम.एम. (डेढ इन्चको) र लाम्बाई २.५ मिटरभन्दा कम हुनु हुन्न, अलि बढी भएको झनै राम्रो हो । अर्थ इलेक्ट्रोडको चारैतिर नुन, कोइला र माटो राख्नु पर्दछ । पानीको सम्पर्कमा आएपछि तयार हुने नुन पानीको झोल चारैतिर फैलिएपछि यसले धेरै अर्थ रेजिस्टेन्स घटाउँछ, अर्थात् विद्युत् बग्नलाई सजिलो बाटो बनाउँछ ।
(ग) प्लेट अर्थिङ : पाइप गाड्न नसकिने पत्थरिलो ठाउँका लागि प्लेट अर्थिङ राम्रो हुन्छ । यसको हकमा भने कोइला, माटो र नुनको तहसम्म पानीलाई सजिलै पु¥याउन यसलाई चारैतिरबाट राम्ररी भिजाउन पौने इन्च (१९ एम.एम) को पाइप राखिएको हुन्छ । पानी हाल्ने वा थप्ने ठाऊँ नपुरियोस् भन्नका लागि पाइपको मुखमा कंक्रिट वा ढुङ्गाको चोइटाले छोपी दिनु पर्दछ । समय समयमा पाइपमा पानी हाली रहनु पर्दछ । यसो गर्दा तल रहेको कोइला माटोको तहमा चिस्यानको मात्रा कायमै रहिरहन्छ अर्थात् रेजिस्टेन्स बढ्न पाउँदैन ।
(घ) केमिकल अर्थिङ : यसमा २/३ मिटर लामो तथा ४०/५० मिलिमिटर मोटो जिआई पाइपभित्र मुख्य कन्डक्टरको रूपमा काम गर्न डिजाइन अनुसार तामाको स्ट्रिप वा रड वा कम मोटाइको जिआई पाइप राखिन्छ । मोटो पाइपलाई ‘आउटर पाइप’ भनिन्छ भने कम मोटाइ भएको भित्र राखिने पाइपलाई ‘इनर पाइप’ भन्ने गरिन्छ । यो इनर पाइप वा स्ट्रीपको लम्बाई आउटर पाइपभन्दा करिब १२ सेन्टिमिटर बढी हुन्छ, जहाँ अर्थ लिड वायरलाई कस्न २ वटा प्वालहरू बनाइएका हुन्छन् । आउटर पाइप र सस्ट्रप इनर पाइपबिचको खाली ठाउँमा सुचालक पदार्थ क्रिस्टल कम्पाउन्ड वा यस्तै अन्य भरिन्छ । यस प्रकार तयार हुने उपकरणलाई केमिकल अर्थ इलेक्ट्रोड भन्दछन् । यो इलेक्ट्रोडलाई साधारण पाइप अर्थिङ जस्तै जमिनमा गाडेर सोको चारैतिर नुन कोइलाको साटो बेन्टोनाइट ग्रेफाइट, आल्युमिनियम सिलिकेट, धातु पाउडर आदिको मिश्रण राखिन्छ ।
बहु–वैकल्पिक प्रश्नहरू
१. कुनै पदार्थको प्रतिरोधात्मकता बढ्यो भने यसको प्रतिरोधको मानमा के प्रभाव पर्दछ ?
(क) घट्दछ
(ख) बढ्दछ
(ग) रेजिस्टिभिटी २ गुणा बढ्दा रेजिस्टेन्स आधा हुन्छ
(घ) केही फरक पर्दैन
उत्तर : बढ्दछ
२. मानिसको हकमा स्टेप भोल्टेज के हो ?
(क) एउटा खुट्टाको पोटेन्सियल
(ख) अर्को खुट्टाको पोटेन्सियल
(ग) दुई खुट्टाको पोटेन्सियल फरक
(घ) उसको शरीरबाट बग्ने करेन्ट
उत्तर : दुई खुट्टाको पोटेन्सियल फरक
३. मानिस विद्युत्बाट घाइते हुने कारण के हो ?
(क) थोरै भोल्टेज
(ख) उसको शरीरबाट बग्ने करेन्ट
(ग) धेरै भोल्टेज
(घ) यस्तो केही पनि होइन
उत्तर : उसको शरीरबाट बग्ने करेन्ट
४. मानिसको लागि साधारणतया सुरक्षित करेन्ट कतिसम्म हो ?
(क) १ एम्पियर
(ख) ०.५ एम्पियर
(ग) ३० एमए
(घ) ३०० एमए
उत्तरः ०.५ एम्पियर
५. अर्थ इलेक्ट्रोडको चारैतिर आद्रता भएमा यसले अर्थ प्रतिरोधमा के प्रभाव पार्दछ ?
(क) घट्दछ
(ख) बढ्दछ
(ग) स्थिर रहन्छ
(घ) एक्कासी घट्दछ
उत्तर : घट्दछ
६. न्यून अर्थ रेजिस्टेन्स कस्तो अर्थिङ प्रणालीमा हुन्छ ?
(क) पाइप अर्थिङ
(ख) पाइप अर्थिङसँग मिलाएर मेस अर्थिङ
(ग) मेस अर्थिङ
(घ) प्लेट अर्थिङ
उत्तर : पाइप अर्थिङसँग मिलाएर मेस अर्थिङ
७. शुद्ध पानी विद्युत्का लागि कस्तो प्रकारको चालक हो ?
(क) सुचालक
(ख) कुचालक
(ग) मध्यम स्तरीय
(घ) यस्तो केही पनि होइन
उत्तर : कुचालक