विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

भैरहवा ।भैरहवा क्षेत्रका उद्योगलाई क्षमताअनुरूप उत्पादन गर्न विद्युत् अभाव भएको छ । केही दिनदेखि उद्योगहरूले चाहिएजति विद्युत् नपाएपछि उत्पादन कटौती गर्न बाध्य भएका हुन् । व्यवसायीका अनुसार फागुनको तेस्रो सातादेखि विद्युत् आपूर्ति प्रक्रिया बारम्बार अवरुद्ध भई भोल्टेज तलमाथि (ट्रिपिङ) हुन थालेको छ । यसले उद्योग सञ्चालन असहज र उत्पादन लागत महँगो पर्न थालेको उनीहरूको भनाइ छ ।

कोभिडका कारण लामो समयसम्म लकडाउन, मजदुर अभावलगायतका कारणले पीडित बनेका उद्योगी पछिल्लो समय नियमित विद्युत् अभाव हुन थालेपछि समस्यामा परेका हुन् । व्यवसायीका अनुसार फागुन २५ गतेदेखि दैनिक ३ पटकदेखि ११ पटकसम्म ट्रिपिङ हुने गरेको छ । २४ सै घण्टा चल्न सक्ने उद्योग यतिबेला प्रतिदिन मुस्किलले ११ देखि १४ घण्टा मात्रै सञ्चालन हुने गरेका छन् ।

‘भोल्टेजमा एकरूपता नहुँदा उद्योग सञ्चालनमा कठिनाइ भएको छ,’ भैरहवा–लुम्बिनी औद्योगिक करिडोरस्थित ब्रिज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन कुमारले भने, ‘उत्पादन कटौती मात्रै होइन, लाखौं मूल्यका उपकरणसमेत बिग्रेका छन् ।’ उद्योगमा राखिएको १८ लाख मूल्यको स्टेपलाइजर बिग्रेको र मर्मतका लागि भारतको पुनादेखि प्राविधिक झिकाउनुपर्ने उनले बताए । यस्तै, उद्योगको पीएससी सिमेन्ट उत्पादन गर्ने मुख्य प्लान्टको वे फिडर (मदरबोर्ड) पनि जलेको छ । त्यसका लागि पनि नोयडाबाट प्राविधिक झिकाएर मर्मत गर्नुपर्ने उनले जानकारी दिए ।

‘दुईवटा उपकरण बिग्रेपछि उत्पादन नै बन्द गर्नुपरेको छ,’ रविरञ्जनले भने, ‘यसको नोक्सानी व्यवसायीले कहाँबाट असुलउपर गर्ने ?’ विद्युत् अवरुद्ध नभएका बेला दैनिक ३० हजार बोरा सिमेन्ट उत्पादन हुने गरेकामा अहिले डिजेल प्लान्टबाट समेत उत्पादन गर्दा २० हजार बोरामा झरेको उनले बताए । डिजेलबाट उत्पादन गर्नुपर्दा प्रतिबोरा सिमेन्टको उत्पादन लागत ३० रुपैयाँ बढ्ने उनको दाबी छ ।

विद्युत् अभाव र बारम्बारको ट्रिपिङले भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका डेढ दर्जन, बुटवल–भैरहवा आद्योगिक करिडोरका डेढ दर्जन र भैरहवा–परासी औद्योगिक करिडोरका एक दर्जन ठूला उद्योग मारमा परेका छन् । भैरहवा क्षेत्रमा ११ वटा सिमेन्ट उद्योग र भैरहवा–परासी क्षेत्रमा ११ वटा स्टिल उद्योग सञ्चालनमा छन् । चाहिएजति विद्युत् दिन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले लोड व्यवस्थापन गर्ने भन्दै सातामा एक दिन एउटा उद्योगलाई सम्पूर्ण उत्पादन बन्द गर्न परिपत्र नै गरेको छ तर प्राधिकरणको परिपत्रमा लेटरप्याड र छाप भने प्रयोग गरिएको छैन । विद्युत् आपूर्तिको यो प्रक्रियालाई व्यवसायीले ‘अघोषित लोडसेडिङ’ भन्न थालेका छन् ।

प्राधिकरणले बन्द गर्न भनेको बाहेकका दिनमा पनि विद्युत् आपूर्तिमा निरन्तरता नहुँदा समस्या भएको एसआर औद्योगिक समूहका प्रबन्ध निर्देशक तथा एसआर स्टिल्सका सञ्चालक सुरज उप्रेतीले बताए । ‘छड उत्पादन गर्दा पहिला निश्चित तापक्रममा फलाम पग्लन सक्ने गरी तापक्रम र उपकरण मिलाइएको हुन्छ,’ उनले भने, ‘भोल्टेज तलमाथि हुनासाथ उत्पादनको अन्तिम चरणमा पुगेको माल पनि स्क्रापमा परिणत भई पूरै खेर जान्छ ।’ विद्युत् आपूर्तिमा एकपटक ट्रिपिङ हुँदा एक टनको कच्चा पदार्थको उत्पादन क्र्याक भई नोक्सानी हुने दाबी उनले गरे ।

विद्युत् प्राधिकरण भैरहवा शाखाका इन्जिनियर अञ्जनीकुमार यादवले भैरहवा र आसपासका औद्योगिक क्षेत्रमा मागअनुरूपको विद्युत् उपलब्ध गराउन नसकिएको स्विकारे । पछिल्लो समय नेपालको विद्युत्ले नपुगेर भारतबाट ल्याउँदा आपूर्तिमा समस्या आउने गरेको उनले बताए । ‘भारतबाट ल्याइएको विद्युत् लामो दूरीबाट आएकाले बारम्बार अवरुद्ध हुँदा ट्रिपिङको समस्या बढी छ,’ यादवले भने, ‘अर्कोतर्फ भैरहवा क्षेत्रमा विद्युत् प्रसारण गरिएका संरचना धेरै पुराना र क्षमताभन्दा ओभरलोड भएकाले पनि विद्युत् अवरुद्ध हुने समस्या छ ।’ उनका अनुसार लोड व्यवस्थापनका लागि एउटा उद्योगलाई एक दिन बन्द गर्न भनिएको हो ।

भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा २० एमभीए लोड क्षमता मात्र धान्न सक्ने वा प्रसारण गर्न मिल्ने संरचना रहेकामा २३ एमभीए लोड प्रसारण भइरहेको उनले बताए । हरेक दिन उद्योग सञ्चालन गर्नुपूर्व उद्योगका सबै प्लान्ट सञ्चालन गर्न आवश्यक पर्ने भोल्टेजअनुरूप सबै उपकरण सेट गरेर उद्योग सञ्चालन गरिन्छ । यो सबै उद्योगको दैनिकी र नियमित प्रक्रिया हो । भोल्टेजअनुरूप प्लान्टका मेसिन फिट गर्न २० देखि ३० मिनेट लाग्ने गर्छ । मेसिनमा सेट गरेको भोल्टेजमा उच्च वा कम हुनासाथ सबै उपकरणले काम नगर्ने भएपछि पुनः सेट गर्नुपर्ने हुन्छ । आवश्यकताभन्दा धेरै भोल्टेज एक्कासि आउँदा स्टेपलाइजर वा अन्य उपकरण जल्ने खतरा हुन्छ ।

विद्युत् प्राधिकरण ग्रिट महाशाखा बुटवलका प्रमुख उमेश झाका अनुसार टनकपुरबाट ल्याइएको १ सय ५० मेगावाट भारतीय विद्युत् महेन्द्रनगरदेखि दाङको लमही र घोराहीसम्म वितरण गरिएको थियो । विद्युत् स्टेसन मर्मतका लागि अवरुद्ध भएपछि ती क्षेत्रमा विद्युत् उपलब्ध गराउनु पर्दा साबिक उपलब्ध गराइएको स्थानमा अपुग भएको उनले बताए । विद्युत् ट्रिपिङ समस्या समाधानका लागि मैनहिया सबस्टेसन सञ्चालन हुनुपर्ने उनको भनाइ छ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit