काठमाडौँ । सौर्य विद्युत् प्रविधिमा अग्रणी चिनियाँ कम्पनी लङ्गी र नेपालको मोघा नवीकरणीय ऊर्जा बीच रणनीतिक साझेदारी सुरु भएको छ । उक्त साझेदारीअन्तर्गत लङ्गीले उत्पादन गरेका नवीन प्रविधिकाे (नयाँ संस्करणको लङ्गी हाइ–मो एक्स–१०) उच्च दक्षतायुक्त सौर्य प्यानल नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । योसँगै नेपाल नवीन प्रविधियुक्त सौर्य प्रविधि प्रयोगमा ल्याउने विश्वका प्रारम्भिक मुलुकहरूमध्ये एक बनेको छ ।
दुगड समूह र मोघा इनर्जीको सहकार्यमा स्थापित मोघा रिन्यएबल इनर्जीले सौर्य परियोजनाको कार्यान्वयन तथा बजार व्यवस्थापनमा आफ्नो अनुभव उपयोग गर्ने जनाएको छ । सम्राट मोघा र अभिषेक दुगडको नेतृत्वमा रहेको यस कम्पनीले लङ्गीसँगको सहकार्यमा देशभर ठूला सौर्य आयोजना, उद्योग–व्यवसाय तथा संस्थागत प्रयोजनका लागि उच्चस्तरीय सौर्य ऊर्जा प्रविधिको विस्तार गर्ने लक्ष्य लिएको छ ।
सार्वजनिक गरिएको नयाँ सौर्य प्यानलमा अत्याधुनिक सम्पर्करहित तथा संरक्षण प्रविधि प्रयोग गरिएको बताइएको छ । यस प्रविधिबाट परम्परागत सौर्य प्यानलको तुलनामा करिब ९ प्रतिशत बढी विद्युत् उत्पादन हुने र करिब ८ प्रतिशत कम जमिन आवश्यक पर्ने जनाइएको छ । यसले आयोजनाको लागत घटाउन र भूमिको उपयोगीता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त प्यानलमार्फत कम तापक्रममा पनि उच्च क्षमतामा विद्युत् उत्पादन, अत्यधिक तापबाट हुने क्षति न्यूनीकरण, आगलागी जोखिम कम गर्ने सुरक्षा प्रणाली, आंशिक छायाँमा पनि प्रभावकारी उत्पादन क्षमता, धुलो तथा हिउँ प्रतिरोधी संरचना र दुबै सतहबाट विद्युत् उत्पादन गर्न सक्ने विशेषता रहेको कम्पनीले जनाएको छ । यसले नेपालको विविध भौगोलिक तथा मौसमी अवस्थामा पनि स्थिर उत्पादन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै मोघा नवीकरणीय ऊर्जाका अध्यक्ष सम्राट मोघाले नयाँ सौर्य प्यानलले सौर्य ऊर्जा प्रविधिमा ठूलो परिवर्तन ल्याएको बताए । उनका अनुसार उद्योगहरूले विद्युत् लागत घट्दै गएपछि आफ्नै प्रयोजनका लागि सौर्य प्रणाली जडान गर्न थालेका छन् र हाल करिब १ हजार मेगावाट क्षमताका सौर्य आयोजना विकासको चरणमा छन् । प्रारम्भिक लगानी केही बढी भए पनि दीर्घकालमा विद्युत् उत्पादन लागत उल्लेखनीय रूपमा घट्ने उनले बताए ।
त्यसैगरी, दुगड समूहका अभिषेक दुगडले मोघा नवीकरणीय ऊर्जासँगको सहकार्यले नेपाललाई दिगो ऊर्जातर्फ अघि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । आगामी केही वर्षभित्रै निर्माण, सञ्चालन तथा सेवा मोडेलमा आधारित सौर्य आयोजनामा अग्रणी कम्पनी बन्ने लक्ष्य रहेको उनले बताए ।
विश्वस्तरीय सौर्य प्रविधि र स्थानीय अनुभवको संयोजनले नेपालमा स्वच्छ ऊर्जाको विकासलाई तीव्रता दिने र दीर्घकालीन ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने दुवै कम्पनीले अपेक्षा गरेका छन् ।