विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेश अन्तर्गत मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणालीगत सुधारका कामहरू तीव्र गतिमा अघि बढाएको छ । प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्रणालीमा रहेका प्राविधिक कमीकमजोरीमा सुधार ल्याउने गरी काम अघि बढाएको हो । 

प्राधिकरणले प्रसारण तथा वितरणतर्फका चालू लाइनहरू सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनहरूको क्षमता वृद्धि गर्ने र नयाँ सबस्टेसन निर्माण जस्ता कार्यलाई योजनावद्ध रुपमा तीव्रता दिएको जनाएको छ । 

मोरङ र सुनसरीका उद्योगीले पटक–पटक लाइन जाने–आउने (ट्रिपिङ) समस्या भोग्दै आएका छन् । प्राधिकरणले सुनसरीको दुहबीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुरानो लाइनहरूको सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरी यो समस्याको सम्बोधन गर्न लागि परेको छ । 

केही समयअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति गर्न प्रसारण तथा वितरण लाइन र सबस्टेसन निर्माण गरिरहेको छ । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गर्न सकिने छ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्ने प्राधिकरणको अपेक्षा छ । 

अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत् इनरुवा सबस्टेसनमा जोडिने छ । ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलाहरूबाट उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउने छ । यसले गर्दा त्यस क्षेत्रमा आपूर्तिका लागि विद्युत् स्रोतको अभाव छैन । 

प्राधिकरणका अनुसार सुनसरी र मोरङको विद्युत् आपूर्ति सुधार र १३२ केभीको दुहबी तथा विराटनगर क्षेत्रमा रहेका ३३÷११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनहरूको भार घटाउन १३२ केभीको विराटनगर सबस्टेसन निर्माणाधीन छन् । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पुर्याउन इनरुवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ । 

ठेकेदार कम्पनी सानडोङ ताइकाई इन्जिनियरिङ र मुडभरी एण्ड जोशी कन्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । सबस्टेसनमा रहने उपकरणहरू राख्न अधिकांश सिभिल संरचनाहरू निर्माण भइसकेका छन् भने सबस्टेसनका अधिकांश उपकरणहरु पनि निर्माणस्थलमा आइसकेका छन् ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहीसमयअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । घिसिङले आगामी फागुनभित्र निर्माण सम्पन्न नगरे विद्युत् आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै आयोजनाको काम उक्त अवधिभित्र सक्न निर्देशन दिएका हुन् । उक्त अवधिभित्र ठेकेदारले काम सम्पन्न नगरे ठेक्का सम्झौता बमोजिम कारबाही गर्ने चेतावनी समेत उनले दिएका छन् । 

विद्युत् आपूर्तिमा रहेका समस्या समाधान गर्न भइरहेका कामबारे जानकारी दिन उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानालाईसमेत घिसिङ नेतृत्वको अनुगमन टोलीमा सहभागी गराइएको थियो । ‘सुनसरी र मोरङमा सञ्चालित उद्योगहरूलाई गुणस्तरीय विद्युत् आपूर्ति गर्न अधिकतम प्रयास गरिरहेका छौं,’ घिसिङले भने, ‘विकल्प धेरै छन्, सञ्चालित योजनाहरू गर्मी सुरूहुनुभन्दा पहिलेनै सक्नुपर्ने बाध्यतामा छौं । यसका लागि जनशक्ति थप्नुहोस् । स्थानीय रुपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, उद्योगी व्यसायीहरूलगायतका साथ र सहयोग आवश्यक छ ।’

इनरुवा–विराटनगर २३ किलोमिटरको दूरीमा रहेको १३२ केभी प्रसारण लाइनमा पर्ने ८० वटा टावरमध्ये ७३ वटाको जग हालिएको छ । त्यसमध्ये ७२ वटा खडा गरिसकेको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयको अवरोधका कारण २ वटा र प्राविधिक समस्याले ५ वटा टावर निर्माण सुरु हुन सकेको छैन । इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माणको काम भने अन्तिम चरणमा छ । यो लाइन सञ्चालनमा आएपछि दुहबी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिने छ । 

इनरुवाबाट पुरानो इनरुवा सबस्टेसनसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । यसले पनि दुहबी सबस्टेसनको भार घटाउने छ । इनरुवा–दुहबी १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता वृद्धिको प्रक्रिया अगाडि बढाइएको छ । 

झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्न दमकबाट विराटनगर सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ । करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहबी हुँदै विराटनगर सबस्टेसनमा जोडिने छ । उक्त लाइन निर्माण भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्ने छ । यसले विद्युत् आपूर्तिलाई गुणस्तीय बनाउने छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit