काठमाडौँ । जुम्लामा लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका ती आयोजना अहिले उपलब्धिविहीन भएका हुन् ।
जिल्लाको तिला गाउँपालिकामा ४, हिमामा ४ र तातोपानीमा ८ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रतिआयोजनामा कम्तीमा ५० लाख रुपैयाँभन्दा बढी बजेट खर्च गरिएको छ तर अहिले चार वटा आयोजना मात्र सञ्चालनमा छन् । बाह्र वटा लिफ्ट सिँचाइका आयोजना लथालिङ्ग अवस्थामा छन् ।
तातोपानी गाउँपालिकामा आठ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले २ वटा मात्र सञ्चालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताए । यहाँका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँच वर्षे कार्यकालमा निर्माण भएका हुन् । सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालु आर्थिक वर्ष (आव) मा १ र ६ नम्बर वडामा विद्युतीय प्रणालीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा रहेको चन्दको भनाइ छ ।
हिमा गाउँपालिकामा चार वटा सोलार प्रणालीमार्फत निर्माण भए पनि अहिले सबै आयोजना सञ्चालनमा नरहेको गाउँपालिकाका सूचना अधिकारी रतन रावतले जानकारी दिए । सोलार प्रणालीबाट सञ्चालन गरिएका आयोजना खासै सफल भएका छैनन् । गाउँपालिका–३, मोप्लागाउँमा २८५ घरपरिवारले सिँचाइ पुग्ने गरी २०७७ सालमा यी आयोजना निर्माण भएका थिए ।
कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको सहयोगमा गाउँमा ५० लाख रुपैयाँमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण भएको थियो । सोलार प्यानलको आयु कम्तीमा २५ देखि ३० वर्षसम्म हुने र त्यतिबेलासम्म सिँचाइ गर्न सकिने विश्वास गरिए पनि अहिले प्रयोगविहीन हुँदै गएकाे रावतको भनाइ छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार त्यहाँ चार वटा लिफ्ट सिँचाइ आयोजना छन् । ती मध्ये विद्युतीय प्रणालीबाट जडान गरिएका दुई वटा मात्र सञ्चालनमा छन् ।
सञ्चालित आयोजनाहरू कुन अवस्थामा रहेको त्यसबारे स्थानीय तहबाट जानकारी नआएको प्रवक्ता समेत रहेका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले बताए । 'निर्माणपछि स्थानीय तहले नै सञ्चालन तथा मर्मत-सम्भार गर्ने हो तर त्यहाँ दक्ष जनशक्तिको अभाव छ,' उनले भने, 'माग भई आएमा हामीले जनशक्ति पठाउँछौँ, स्थानीय तह र केन्द्रबीच सहकार्य र समन्वयमा काम हुन सके आयोजना दीर्घकालीनरूपमा सञ्चालनमा आएन सक्छन् ।'
जुम्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार १ सय हेक्टरमध्ये ३९ हजार ४८६ हेक्टर जमिनमात्र खेतीयोग्य छ । उक्त भूमिमा पनि सिञ्चित ३ हजार ३६४ हेक्टर र असिञ्चित (पाखो) २३ हजार ७१ हेक्टर रहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।
अहिले २६ हजार ४३५ हेक्टरमा मात्र खेती भएको छ । जिल्लामा खेतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नपुगेका जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेषतः कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखरकाे खेती गर्ने गरिएको छ । सिञ्चित नहुने जमिनमा सिँचाइ सुविधा पुर्याउन एक दशकअघिदेखि नजिकको तिला र हिमा नदीको पानी सोलार प्रणालीबाट लिफ्ट गरी सिँचाइ गर्ने योजना ल्याए पनि आयोजना दीर्घकालीनरूपमा सञ्चालन हुन नसकेको यहाँका स्थानीयवासीकाे गुनासाे छ ।