विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरूसम्म पुर्‍याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिति अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो ।

प्रसारण लाइन निर्माणमा देखिएको रुख कटानको समस्या समाधान गर्ने, मुआब्जा वितरणमा देखिएको जटिलता फुकाउने तथा लगानीको विविधीकरण गर्ने कार्यक्रम निर्धारण गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको ‘विद्युत् खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति, २०८२’ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरेको छ ।

रणनीतिअनुसार, हेटौँडा–ढल्केबर इनरुवा प्रसारण लाइनको हेटौँडा–ढल्केबर खण्ड चालु आवको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ । सो प्रसारण लाइनको पूर्वी खण्ड ढल्केबर–इनरुवा खण्ड भने यसअघि नै सम्पन्न भइसकेको छ ।

आयोजनालाई शीघ्र निर्माण सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मेवार बनाइएको छ । रुख कटान, वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जालगायतका समस्याका कारण सो आयोजना लामो समयदेखि समस्यामा परेको थियो । पछिल्ला दिनमा सो समस्या समाधान भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा नियमित काम सुरु भइसकेको छ ।

यसैगरी नयाँ खिम्ती बाह्रबिसे काठमाडौँ प्रसारण लाइनको काम आव २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त प्रसारण लाइनको क्षमता चार सय केभीको हो । सो प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय तह र वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवार बनाइएको छ ।

हेटौँडा–रातमाटे लप्सीफेदी न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन आव २०८६/८७ सम्म निर्माण सम्पन्न हुनेछ । सो प्रसारण लाइन चार सय केभी क्षमताको हो । यसैगरी नयाँ बुटवल–लमही प्रसारण लाइन आव २०७८/८८ सम्म निर्माण सम्पन्न हुनेछ ।

यस्तै, लहमी–छिन्चु दोदोधारा प्रसारण लाइन आव २०८९/९० सम्म निर्माण सम्पन्न हुनेछ । किमाथांका– हाइटार सितलपाटी प्रसारण लाइन आव २०८९/९० सम्म सम्पन्न हुनेछ ।

अरुण हब इनरुवा प्रसारण लाइन, इनरुवा–अनारमणी प्रसारण लाइन, फुकोट बेतन दोदोधारा प्रसारण लाइन, तिंगला दूधकोसी–ढल्केबर प्रसारण लाइन आव २०९०/९१ सम्म सम्पन्न गर्ने लक्ष्य रणनीतिमा समावेश गरिएको छ ।

भेरी कोरिडोर प्रसारण लाइन र सेती कोरिडोर प्रसारण लाइन पनि आव २०९०/९१ मा सम्पन्न हुनेछ । दोदोधारा–अत्तरिया लम्की प्रसारण लाइन भने आव २०९१/९२ सम्म सम्पन्न हुनेछ । ती सबै प्रसारण लाइनको क्षमता ४०० केभीको छ ।

उत्पादित बिजुलीलाई सहज रूपमा प्रसारण गराएर लोड सेन्टरहरूमा पुर्‍याउने लक्ष्यका साथ सरकारले प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । आवश्यक संरचनागत सुधार गरिने, नीतिगत अस्पष्टता हटाउने तथा तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने लक्ष्यलाई रणनीतिले विशेष प्राथमिकतामा राखेको छ ।

यस्तै, अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै महत्वका साथ रणनीतिले समेटेको छ । अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि पनि अर्को महत्त्वपूर्ण पक्ष छ ।

ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन आव २०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, नानपारा-नेपालगञ्ज, इनरुवा-पूर्णिया, लम्की-बेरली, लमही-लखनउ, निजगढ-मोतिहारी, चमेलिया-जौलजिवी, ढल्केबर-मुजफ्फरपुर र चिलिमे हब-केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण प्राथमिकतामा छ ।

आन्तरिक रूपमा बिजुलीको खपत बढाउने, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरण गर्ने लक्ष्यलाई रणनीतिले स्पष्ट रूपमा सूचीकृत गरेको छ । त्यस्तै, स्मार्ट ग्रिड र सबस्टेसनको आधुनिकीकरण निरन्तर रूपमा अगाडि बढाइनेछ । सबस्टेसनको क्षमता विस्तार गरेर ४० हजार एमभिए पुर्‍याइनेछ । सो कार्य आव २०९२/९३ सम्म सम्पन्न हुनेछ ।

कृषि क्षेत्रको आधुनिकीकरण र किसानको खेतसम्म नै फिडर पुर्‍याउने लक्ष्यलाई पनि उत्तिकै महत्त्व दिएको रणनीतिमा भूमिगत वितरण प्रणालीको काम २०८५ सम्म सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

आव २०९२/९३ सम्म एलपी ग्यास अनुदान खारेजी गर्ने र विद्युतीय चुलोमा अनुदान दिइनेछ । देशभर चार्जिङ स्टेसन सञ्जाल विस्तार गर्ने, प्रमुख सहरहरूमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक विद्युत् खपत क्षमता विकास गरिनेछ ।

हाल नेपालको कूल जडित क्षमता चार हजार ८६ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण ग्रिडको विस्तारसँगै ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रतिबद्धता अनुरूप खनिज इन्धनको परनिर्भरता घटाई स्वदेशी बिजुलीको खपत बढाउन अवलम्बन गर्नुपर्ने सबै काम अगाडि बढाउने रणनीतिको लक्ष्य छ ।

नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरिसकेको छ । हाल करिब १ हजार २०० मेगावाट बिजुली भारत र बंगलादेशतर्फ आयात निर्यात भइरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३