काठमाडौँ । नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको १७औँ बैठकले आगामी एक वर्षका नेपालले आयात गर्ने विद्युत्को नयाँ खरिद दर निर्धारण गरेको छ । भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट नेपालले नेपालले विद्युत् आयात गर्ने सहमतिसहित नयाँ खरिद दर निर्धारण गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए ।
उनका अनुसार फागुन २८ र २९ गते पोखरामा बसेको बैठकमा भारतीय पक्षले विद्युत् उत्पादन लागत बढेको भन्दै प्रचलित दरमा ५.५ प्रतिशत वृद्धि गर्ने प्रस्ताव राखेको थियो । यद्यपि, नेपाली पक्षले बजार सूचकाङ्कका आधारमा दर वृद्धि आवश्यक नरहेको तर्क अघि सारेको थियो । दुवै पक्षबीचको छलफलपछि गत वर्षको दरमा १.५ प्रतिशत मात्र वृद्धि गर्ने सहमति भएको हो । जुन अघिल्लो वर्षकै समान वृद्धिदर हो ।
नयाँ सहमति अनुसार १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युत्को दर प्रतियुनिट ८.२२ रुपैयाँ, ३३ केभीको ८.९१ रुपैयाँ र ११ केभीको ९.५५ रुपैयाँ कायम गरिएको छ । खरिद दरको संरचनाबारे आगामी वर्ष पुनः विस्तृत समीक्षा गर्ने सहमति पनि भएको छ ।
यस निर्णयले चैत र वैशाखको सुख्खा मौसममा हुनसक्ने विद्युत् मागको चाप व्यवस्थापन गर्न र आपूर्ति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको शाक्यले बताए । हाल दैनिक १२ देखि १४ हजार मेगावाट घण्टा (५८३ मेगावाटसम्म) विद्युत् आयात भइरहेकोमा सुख्खायाममा यो परिमाण अझ बढ्न सक्ने देखिएको उनको भनाइ छ ।
सन् १९९२ देखि निरन्तर यो द्विदेशीय संयन्त्र सञ्चालनमा रहेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व कार्यकारी निर्देशक शाक्यले गरेका थिए भने भारतीय टोलीको नेतृत्व केन्द्रीय विद्युत् प्राधिकरणका बोर्ड सदस्य विजयकुमार सिंहले गरेका थिए । प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई बैठकमा दर निर्धारण र सम्झौताका लागि आवश्यक अख्तियारी दिएको थियो ।
बैठकमा ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सञ्जीव राय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरको उपस्थिति थियो । दुवै पक्षले यस सहमतिले क्षेत्रीय ऊर्जा सुरक्षा र दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।