काठमाडौँ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित उत्थानशील एवम् न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जामा रूपान्तरण सम्बन्धी सम्मेलन, २०२५’ ७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको सम्मेलनले ऊर्जा सुरक्षा, ऊर्जा दक्षता, गुणस्तरीय ऊर्जा आपूर्ति लगायत पक्षालाई घोषणापत्रमा समेटेको छ ।
केन्द्रका अनुसार घोषणापत्रमा नवीकरणीय ऊर्जालाई ऊर्जा रूपान्तरणमा तीव्रता दिने, ऊर्जा दक्षताको दरलाई दोब्बर वृद्धि गर्ने, जलवायु अनुकूलन र उत्थानशीलतालाई थप बलियो बनाउने, नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय सहायता वृद्धि गर्ने, अनुसन्धान विकास तथा नवीनतम प्रविधिको माध्यमबाट सर्वसाधारणमा जनचेतना तथा क्षमता अभिवृद्धि गर्ने र पारदर्शी अनुगमन तथा मूल्याङ्कनलाई प्रोत्साहन गर्ने विषय समेटिएको छ ।
संयुक्त राष्ट्रसंघले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने उद्देश्यअनुसार सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’को रूपमा मनाउने घोषणा गरेको थियो ।
सम्मेलनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो र समावेशी बनाई न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकास गर्न सरकार योजनाबद्ध ढङ्गले अघि बढेको बताए । सम्मेलनले समेटेका विषयवस्तु सरकारले हालै मात्र स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ ले लिएका लक्ष्यहरूसँग मेल खाने उनको भनाइ थियो ।
‘जलवायुजन्य विपदका जोखिमको न्यूनीकरण गर्न निरन्तर स्वच्छ ऊर्जा विकासमा लाग्नुपर्छ,’ उनले भने, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको माध्यमबाट स्वच्छ ऊर्जा रूपान्तरणको लक्ष्य हासिल गरी नेपाल अन्तत खुद शून्य उत्सर्जनको गन्तव्यमा पुग्ने भएकोले यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहयोग आवश्यक पर्छ ।’
कार्यक्रममा मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारले हालै स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ लगायत सरकारको ऊर्जा सम्बन्धी नीति, रणनीति र आवधिक योजनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतालाई उच्च प्राथमिकता दिएको बताइन् । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रियसभामा छलफलमा रहेकोमा छिट्टै यस त्यसलाई संसदको दुवै सदनबाट पारित गराई ऐनको रूप दिने कार्य मन्त्रालयको प्राथमिकतामा रहेको उनको भनाइ छ ।
सोही सम्मेलनमा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुप्रसाद भेटुवालले क्षेत्रगत आवश्यकता, अवसर र चुनौतीको पहिचान, लगानीयोग्य आयोजनाको प्राथमिकीकरण गरी स्वच्छ ऊर्जा रूपान्तरणमा अग्रसर हुनुपर्ने बताए । ‘लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर सिर्जनामा सम्मेलनले विशेष भूमिका खेल्नेछ,’ उनले भने, ‘सम्भाव्य लगानी अभिवृद्धि, यस क्षेत्रको असल अभ्यास र ज्ञान आदानप्रदान लगायत उद्देश्य हासिल गर्न समेत सफल हुनेछ ।’
यसैगरी, केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षामा केन्द्रले महत्त्वपूर्ण योगदान पुर्याएको बताए । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाका ८१ बुँदे कार्ययोजनामा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अफ ग्रिड सौर्य, वायु तथा लघु जलविद्युत्मार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्याइने छ,’ उनले भने, ‘फोहोरबाट ऊर्जा उत्पादन गर्ने, सौर्य विद्युत खरिद बिक्रीका लागि आवश्यक व्यवस्था समेत मिलाइने छ ।’ वायु ऊर्जालाई ग्रिडमा आबद्ध गर्न सम्भाव्यता अध्ययन गर्ने, ग्रिड जडित ऊर्जा भण्डारण प्रणालीका लागि विद्युत खरिद बिक्री दर निर्धारण गर्ने, ऊर्जा दक्षता अभिवृद्धिका लागि विद्युतीय उपकरणको मापदण्ड बनाइने उनको भनाइ थियो ।
उता सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा. पेमा ग्याम्सोले नेपालमा ऊर्जा रूपान्तरणको सम्भाव्य क्षेत्रको बारेमा चर्चा गर्दै घरायसी क्षेत्र, कृषि क्षेत्र तथा यातायात क्षेत्रमा ऊर्जा रूपान्तरणको ठूलो सम्भाव्यता रहेको बताए । उनले ऊर्जा सम्मिश्रण तथा ऊर्जा रूपान्तरणसम्बन्धी कार्यमा नेपाल सरकारसँग सहकार्य गर्न इसिमोड सदैव तयार रहेको पनि बताए ।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संस्थाकी उपमहानिर्देशक डा. गौरी सिंहले विश्वव्यापी रूपमा सन् २०३० सम्म नवीकरणीय ऊर्जाको प्रवर्द्धनलाई तीन गुना एवम् ऊर्जा दक्षता अवलम्बनलाई दुई गुनाले वृद्धि गर्ने लक्ष्य हासिल गर्न सबैले आपसमा सहकार्य गर्नुपर्ने बताइन् । यस क्षेत्रमा कुल लगानीको ६० प्रतिशतभन्दा बढी हिस्सा निजी क्षेत्रको रहेको उनको भनाइ थियो ।
त्यस्तै, एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (ए.आइ.टि.) का प्राध्यापक डा.शोभाकर ढकालले ‘उत्थानशील एवम् न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धमा अन्तर्राष्ट्रिय अनुभव, नेपालको लागि अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ऊर्जा सम्मिश्रणमा जोड दिने, छरिएका लघु तथा साना जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक ऊर्जा लगायत प्रविधिलाई राष्ट्रिय प्रसारणमा जोड्ने लगायत विषयमा काम गर्न राष्ट्रिय नीति, योजना र लक्ष्य हुनुपर्नेमा उनले जोड दिएका थिए ।
सम्मेलनमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवम् जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी/गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक/प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरू, यस क्षेत्रका अभ्यासकर्ता, निजी क्षेत्र, सञ्चार जगत, नगारिक समाज एवम् क्षेत्रगत विज्ञहरू सहित ४०० भन्दा बढीको सहभागिता थियो । यसबाहेक अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा केन्द्रले ३ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।