काठमाडौं । काठमाडौं उपत्यकाका मूख्य सहरी क्षेत्रमा भूमिगत लाइनबाट विद्युत् वितरण प्रभावकारी बन्दै गएको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकालाई नै कुरुप बनाएको बिजुलीका पोल तथा ‘ओभरहेड’ तारहरू हटाएर भूमिगत लाइनबाट विद्युत् वितरण बढाउँदै लगेको हो । यस्तो वितरण प्रणाली प्रभावकारी समेत देखिएको छ ।
बिजुलीकै पोलमा टाँगिएका अन्य सेवा प्रदायक कम्पनीको तारलाई समेत भूमगित गर्न मिल्ने गरी काठमाडौं उपत्यकामा ‘अन्डरग्राउन्ड केबलिङ’ भूमिगत वितरण प्रणाली सुदृढीकरण आयोजना अघि बढाइएको थियो ।
यस आयोजना अन्तर्गत पहिलो चरणमा रत्नपार्क, महाराजगञ्ज, किर्तीपुर, बालाजु, कुलेश्वर, बानेश्वर, जोरपाटी, लगनखेल, भक्तपुर, ठिमी वितरण केन्द्र मातहतका ‘ओभरहेड लाइन’ हटाएर भूमिगत बनाउने काम अघि सारेको हो ।
अहिले भूमिगत लाइनको काम तिव्र गतिमा अघि बढेको छ । लाइन निर्माणसँगै काम सकिएका क्षेत्रमा त्यही भूमिगत लाइनबाट बिजुली वितरण समेत सुरु भइसकेको छ । भूमिगत वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत विभिन्न ५ क्षेत्रमा काम भइरहेको छ । यीमध्ये काठमाडौं उपत्यकाका ४ र उपत्यकाबाहिर पोखरा–भरतपुर क्षेत्रमा काम अघि बढेको छ ।
काठमाडौं पूर्व तथा दक्षिण भूमिगत वितरण प्रणाली सुदृढीकरण
काठमाडौं पूर्व तथा दक्षिण भूमिगत वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रन्तपार्क वितरण केन्द्र मातहतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल, जोरपाटी लगायतका स्थानमा करिब २०० किलोमिटर भूमिगत लाइन विस्तार हुनेछ । अहिलेसम्म यस क्षेत्रको ७५ प्रतिशत निर्माण सकिएको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए ।
यो क्षेत्रमा ६५० मध्ये ५१५ किलोमिटर पाइप बिछ्याउने काम सकिएको छ भने ५०० किलोमिटर तार जडान गर्ने काम सकिएको छ । ११५ किलोमिटर सडकको काम सकिएको छ ।
महांकाल, चुच्चेपाटी, चावहिल, लैनचौर, लाजिम्पाट, ठमेलको मुख्य क्षेत्र, लैनचौर–बालाजु चोक, सोह्रखुट्टे–टेकु, टेकु–त्रिपुरेश्वर, उत्तरढोका–नागपोखरी, धोबी खोला कोरिडोर क्षेत्रको काम सकिएको छ । केही क्षेत्रमा काम भइरहेको छ ।
‘भूमिगत लाइनको काम सकिएको अधिकांश क्षेत्रमा भूमिगत प्रणालीमार्फत बिजुली वितरण भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘चावहिल सबस्टेसनबाट हाँडीगाउँ फिडर चार्ज गरिएको छ, पशुपति, नयाँ बजार, पानीपोखरी फिडरबाट विद्युत् वितरण भइरहेको छ, महांकाल क्षेत्रका स्थानीयले पनि यही भूमिगत लाइनबाट सेवा लिइरहेका छन् ।’ अहिले लैनचौर र टेकु सबस्टेसनबाट पनि भूमिगत फिडर चार्ज गर्ने तयारी भइरहेको छ ।
यो आयोजनाको २५ प्रतिशत काम बाँकी छ । आयोजनाअन्तर्गत महत्वपूर्ण मानिएको टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, तीनकुने–सिनामंगल र त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थल लगायत क्षेत्रमा भने सडक विभागबाट अनुमति नपाउँदा कामले गतिले लिन नसकेको उनले बताए ।
‘यस क्षेत्रको काम अघि बढाउन सडक विभागसँग सहकार्य भइरहेको छ,’ उनल भने, ‘विभागबाट अनुमति पाएपछि बाँकी काम ७ महिनाभित्र सम्पन्न हुन्छ ।’
पश्चिम भूमिगत वितरण प्रणाली सुदृढीकरण
यो आयोजनाअन्तर्गत उपत्यकाका ५ वितरण केन्द्र पर्दछन् । कीर्तिपुर, कुलेश्वर, बानेश्वर, जोरपाटी, बालाजु वितरण केन्द्र पर्दछन् । यो आयोजनाको ७० प्रतिशत निर्माण पूरा भएको छ । अहिले जडीबुटी–पेप्सीकोला क्षेत्रमा पाइप तथा तार बिछ्याउने काम पूरा गरी तार जोड्ने तयारी भइरहेको आयोजना प्रमुख पियुष मलाकारले बताए ।
‘कीर्तिपुर वितरण केन्द्रअन्तर्गत एक महिनाभित्र सबै काम सकिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘कुलेश्वर–कालीमाटी क्षेत्रको काम पनि पूरा गरी चार्ज गर्ने तयारी भइरहेको छ ।’ आयोजनाको २२५ किलोमिटर भूमिगत लाइनमध्ये ११० किलोमिटरमा काम सकिएको छ । बाँकी काम पूरा गर्न एक वर्ष लाग्ने मलाकारले बताए । ठेक्का सम्झौता अनुसार आयोजना काम आगामी मंसिरभित्र पूरा गर्नुपर्ने भएपनि कोभिड–१९ लगायतका कारणले तोकिएको तालिकाभन्दा ६/७ महिना ढिला हुने पनि उनले जानकारी दिए । यस आयोजनामा दैनिक २५० जना निर्माणकर्मी खटिएका छन् ।
नेपालमा पहिलो पटक कीर्तिपुर नगरपालिकाको वडा नम्बर–२ मैत्रीनगर क्षेत्रमा भूमिगत लाइनबाट झण्डै ६ महिनाअघि सफलतापूर्वक विद्युत् वितरण सुरु गरिएको थियो । मितेरी टोलको १९ घरधुरीमा भूमिगत वितरण प्रणालीमार्फत बिजुलीको परीक्षण वितरण गरिएको थियो । उक्त परीक्षण सफल भएपछि अहिले उपत्यकाका धेरै स्थानमा भूमिगत लाइनबाट विद्युत वितरण भइरहेको छ ।
मध्य–उत्तर भूमिगत वितरण प्रणाली सुदृढीकरण
महाराजगन्ज वितरण केन्द्र अन्तर्गत बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगन्ज लगायत स्थानमा ६४६ किलोमिटर तार जडान हुनेछ । तार बिछ्याउने काम ७० प्रतिशत सकिएको आयोजना प्रमुख अभिषेक अधिकारीले बताए ।
‘७० प्रतिशत काम सकिएको आयोजनामा ३/४ ठाउँमा सडक विभागले स्वीकृत नदिँदा काम अघि बढ्न सकेको छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रधानमन्त्री निवासदेखि राष्ट्रपति कार्यालय, गंगालालदेखि कान्तिबाल अस्पतालसम्मको काम बाँकी छ । सडक विभागले असारदेखि भदौसम्म सडक खन्न दिँदैन, असोजदेखि बैशाखसम्म फटाफट काम गर्न सकियो भने यो क्षेत्रको काम सकिन्छ ।’
यस आयाेजनाअन्तर्गत बालाजु औद्याेगिक क्षेत्रमा पनि भूमिगत लाइनमार्फत प्रभावकारी रूपमा विद्युत वितरण भइरहेकाे अधिकारीले बताए
ललितपुर–भक्तपुर भूमिगत वितरण प्रणाली सुदृढीकरण
यो आयोजना अन्तर्गत २४० किलोमिटर लामो ११ केभी भूमिगत वितरण लाइन निर्माण हुनेछ । यो क्षेत्रमा भने जम्मा १५ प्रतिशत मात्रै काम सकिएको छ । ८० किलोमिटर पाइप हाल्ने काम सकिएको आयोजना प्रमुख योगेन्द्र ठाकुरले बताए । १५ किलोमिटर तार जडान गर्ने काम पनि सकिएको छ ।
‘ललितपुरको भूमिगत लाइन निर्माण गर्न सडक विभागले अनुमति दिएको छैन, मागबमोजिमको सबै काजगपत्र दिइसकेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘छिट्टै अनुमति पाउने विश्वास छ, अनुमति प्राप्त भएलगतै काम सुरु गर्छौं ।’
भक्तपुरको ठिमी क्षेत्रमा अधिकांश काम सकिएको छ । सल्लाघारीदेखि कमलविनायक हुँदै आर्मी क्याम्पसम्मको अन्तिम चरणको काम भइरहेको छ । तार बिछ्याने काम पनि ५० प्रतिशतभन्दा बढी सकिएको छ । आवश्यक पाइप, तारलगायत उपकरणको आपूर्ति पनि सहज रुपमा भइरहेको छ ।
यो क्षेत्रको निर्माण भारतीय टाटा प्रोजक्टले गरिरहेको छ । ठेकेदारले करिब दुई वर्षसम्म काम सोचेअनुरुप नगरेकोले र सडक विभागले अनुमति नदिएकोले पनि यो क्षेत्रको निर्माणले गति लिन नसकेको ठाकुरले बताए । तर, दुई महिनादेखि ठेकेदारले काम द्रुत गतिमा अघि बढाएको पनि उनले जानकारी दिए ।
यो क्षेत्रको लखनखेल–सातदोबाटो–सातदोबाटो, लखनखेल–जावलाखेल–एकान्तकुना, एकान्तकुना–भनिमण्डल, जावलाखेल–पुल्चोक–मंगलबजार क्षेत्रको निर्माण गर्नका लागि अनुमति नपाउँदा काम हुन नसकेको ठाकुरले बताए । यो आयोजनाको काम एक वर्षभित्र सम्पन्न गर्ने गरी ठेकेदारले काम गरिरहेको छ ।
काठमाडौं उपत्यका जस्ता भौतिक संरचना र जनघनत्व बढी भई खुल्ला ठाउँ कम भएका सहरी क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली भरपर्दो र उपयुक्त विकल्प भएको प्राधिकरणले बताउँदै आएको छ । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित समेत हुने र यसले सहरी सौदर्यता कायम राख्न मदत पुग्ने प्राधिकरणको अपेक्षा छ । एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण र सरकार तथा प्राधिकरणको संयुक्त लगानीमा भूमिगत लाइनको काम भइरहेको हो ।
यशाेदा सुनुवार आधा दशकदेखि ऊर्जा तथा जलविद्युत पत्रकारितामा क्रियाशील छन् ।