विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नदीमा पानीको सतह घट्नु र भारतबाट आयात हुने विद्युतमा कटौती हुँदा औद्योगिक क्षेत्रले पुनः लोडसेडिङको सामना गर्नु परेको छ । रुस र युक्रेनबीच चर्किएको युद्ध नरोकिँदा भारतमा विद्युत संकट गहिरिँदै गएको छ । नेपाल आयातित विद्युतमा भर पर्दै आएको हुँदा भारतमा आएको समस्याले प्रत्यक्ष असर पारेको हो ।

नेपाल विद्युत प्राधिकरणले अहिले पूर्वका विराटनगर, मोरङ, वीरगन्ज हुँदै हेटौंडा औद्योगिक कोरिडोरमा न्यूनतम १२ घन्टादेखि १५ घन्टासम्म विद्युत कटौती गरेको छ । उता बुटवल, भैरहवा तथा नेपालगन्ज औद्योगिक क्षेत्रमा पनि दैनिक १२ घन्टासम्म विद्युत कटौती गरिएको उद्योगीहरू बताएका छन् ।

प्राधिकरणले गत सातादेखि निरन्तर विद्युत कटौती गरे पनि त्यसको कुनै जानकारी नदिएको उद्योगीहरूले गुनासो गरेका छन् । बिनाजानकारी लाइन कटौती हुन थालेको हुँदा पूर्वका उद्योगहरू अस्तव्यस्त भएको मोरङ उद्योग संघका महानिर्देशक चुडामणि भट्टराईले बताए ।

‘सूचना वा जानकारी नै नदिइकन लाइन काटिन्छ, काटिएपछि कतिबेला आउँछ भन्ने समेत थाह हुँदैन,’ उनले बुधबार ऊर्जा खबरसँग भने, ‘प्रायः बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म लाइ जाने गरेको छ । आएको बेलामा पनि धेरै पटक ट्रिपिङ भइरहन्छ, यो प्राधिकरणको गैरजिम्मेवारी गतिविधि भयो ।’

यसैगरी, हेटौंडा औद्योगिक क्षेत्रमा सोमबारबाट दैनिक १२ देखि १५ घन्टासम्म विद्युत कटौती भएको त्यहाँका एक इन्जिनियरले जानकारी दिए । उनका अनुसार सोमबार बेलुकी साढे ८ बजेबाट मंगलबार बिहान ७ बजेसम्म लाइन काटिएको थियो भने मंगलबार अपरान्ह ४ बजेबाट बुधबार बिहान ७ बजेसम्म कटौती भएको थियो ।

हेटौंडा औद्योगिक क्षेत्रमा कमाने (१० एमभिए) र चौकी टोल (३ एमभिए) बाट विद्युत आपूर्ति दिने गरिएको छ । ‘कमाने फिडर निरन्तर काटिएको छ भने चौकी टोलको फिडरबाट पनि कम भोल्टेजमा विद्युत भइरहेको छ,’ एक इन्जिनियरले भने, ‘चौकी टोल फिडरतर्फ पनि दबाब पर्ने कुनै उद्योग नचलाउन भनिएको छ ।’

प्राधिकरण हेटौंडा ग्रिड प्रमखु राजु श्रेष्ठले पनि औद्योगिक क्षेत्रमा विद्युत कटौती भइरहेको स्वीकार गरे । ‘हाम्रो प्रसारण लाइनमा कुनै समस्या छैन, विद्युत कटौतीको पाटो भार प्रेषण केन्द्रले हेर्ने हो,’ उनले भने, ‘केन्द्रले लोड सन्तुलन मिलाउन केही ठाउँमा काटेको देखिन्छ ।’

उता बुटवल भैरहवा औद्योगिक क्षेत्रमा पनि दैनिक १२ घन्टासम्म विद्युत कटौती भइरहेको प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयले नै जानकारी दिएको छ । भार प्रेषण केन्द्रले उद्योगहरूलाई राति विद्युत नदिन निर्देशन दिएको पनि कार्यालयले जानकारी दियो । प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले भने, ‘रातिको समयमा भारतबाट आपूर्ति बन्द हुन्छ, दिउँसो गण्डकबाट आउने विद्युत पनि लो भोल्टेजमा आउँछ ।’

नेपालगन्ज तथा दाङ औद्योगिक क्षेत्रमा पनि विद्युत कटौती भइरहेको तर पूर्वमा जस्तो समस्या नरहेको बताइएको छ । रुस र युक्रेनको युद्ध चर्किरहँदा २०७८ चैत दोस्रो सातादेखि औद्योगिक क्षेत्रको आपूर्ति दैनिक १२ घन्टासम्म कटौती गरिएको थियो । भारतले आयातित कोइलाबाट उत्पादित विद्युतमात्र नेपाललाई बेच्ने हुँदा समस्या भयावह बनिरहेको छ ।

बीचका केही दिन नेपालमा पानी परेको र खोलानालाको बहाबमा सुधार भई नदीको प्रवाहमा आधारित विद्युतगहृ बढी क्षमतामा सञ्चालन भएको हुँदा विद्युत आपूर्तिमा समेत केही सुधार भएको थियो । अहिले, तराईतिर गर्मी बढेसँगै लोड (माग) बढिरहेको र आयातमा सुधार नहुँदा लोडसेडिङ गर्नुपरेको केन्द्रले जनाएको छ ।

प्राधिकरणले विद्युत एक्सचेन्ज बजारबाट खरिद गर्न थालेपछि आयातको परिमाणमा असर परिरहेको छ । केन्द्रका अनुसार विद्युत आदानप्रदान सम्झौता अनुसार बिहारबाट प्राप्त हुने करिब ३०० मेगावाट विद्युत रातिको समयमा कटौती हुने गरेको छ । दिउँदो पनि चाहिएको परिमाणमा बिहारले दिँदैन । यही कारण, औद्योगिक क्षेत्रमा राति विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

यो समस्या अब पानी नपर्दासम्म वा राम्रोसँग बर्खा नलाग्दासम्म रहिरहनेछ । पानी परेर खोलामा बहाब बढेसँगै विद्युतगृहहरूको उत्पादनमा सुधार आएपछि समस्या विस्तारै कम हुनेछ । यसबेला, फेरि बढी उत्पादन भएर खेर फाल्नुपर्ने अवस्था सिर्जना हुनेछ । विद्युत उत्पादनको असन्तुलन, मागको उतारचढाव र आयातमा निर्भरता जस्ता कारणले आपूर्तिमा अझै लामो समयसम्म असर परिरहने देखिन्छ ।

यसले गुणस्तरीय आपूर्ति तथा ऊर्जा सुरक्षामा समेत असर परिरहने देखिन्छ । अझ, आपूर्ति व्यवस्थापनका लागि निर्माण गर्नुपर्ने पूर्वाधार संरचनाको फरक खालका समस्या दोहोरिइरहेका छन् । जबसम्म ठूला जलाशय आयोजना निर्माण गरी विद्युत उत्पादन हुँदैन आपूर्तिको दिगो समाधान देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit