काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भएर बग्ने घुन्सा खोलामा निर्माण हुने ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले १२.७० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का तथा सांसद योगेश भट्टराईको उपस्थितिमा लगानी सम्बन्धी सम्झौतामा आज (माघ १३ गते) हस्ताक्षर भएको हो ।
लगानी सम्झौतामा रेमिट हाइड्रोका प्रमुख कार्यकारी अधिकृत नगेन्द्र ज्ञवाली र लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका छन् । रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्ने नदी प्रवाही (आरओआर) प्रकारको यस आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), नागरिक लगानी कोष, एभरेष्ट बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता गरियो ।
हाल ५ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र यसमा कर्मचारी सञ्चय कोषले पनि लगानी गर्ने बताइएको छ । निर्माण अवधिको ब्याजसहित कुल १८ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवद्र्धक कम्पनीका अनुसार लगानी संरचना अनुसार लक्ष्मी सनराइजले ५ अर्ब, एचआइडिसियलले ३ अर्ब, लगानी कोष २ अर्ब, माछापुच्छ्रे बैंकले १.४५ अर्ब र एभरेष्ट बैंकले १.२५ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
आयोजनामा नेपाल विद्युत् प्राधिकरणले २१ प्रतिशत, एचआइडिसिएलले १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेले १५ प्रतिशत लगानी गर्नेछन् । बाँकी पुँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ । साधारण सेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दाको र बाँकी १० प्रतिशत सर्वसाधारणको लगानी रहनेछ ।
निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम पूरा भएको छ । साथै, २०८० साल बैशाख १३ गते आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
आयोजनाका लागि निर्माणस्थलमा आवास निर्माणको काम भइरहेको तथा आवश्यक जग्गामध्ये करिब ५२ रोपनी अधिग्रहण भइसकेको छ । बाँकी २८० रोपनी जग्गा अधिग्रहणको अन्तिम चरणमा रहेको र कञ्चनजङ्घा संरक्षण क्षेत्रको करिब २० हेक्टर सार्वजनिक जग्गा भाडामा लिने प्रक्रियामा रहेको छ ।
कम्पनीका अनुसार हालसम्म आयोजनाको विद्युत्गृह तथा आवासगृहसम्मको बाटो तथा तमोर नदीका २ स्थानमा बेली ब्रिज निर्माण गर्ने काम सम्पन्न भएको छ । साथै, निर्माणका लागि आवश्यक पर्ने विद्युत्का लागि प्राधिकरणले प्रसारण लाइन पुर्याइसकेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि करिब ३ किलोमिटर दूरीमा राष्ट्रिय प्रासारण ग्रिड कम्पनी लिमिटेड तथा सो क्षेत्रका जलविद्युत् आयोजनाबाट सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण गरिने मार्गेनस्थित २२०÷१३२ केभी तमोर सब–स्टेशनमा जोडिने छ । यहाँबाट करिब ३२ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत प्राधिकरणको ढुङ्गेसाँघु २२० केभी सब–स्टेसनमा जोडिने छ ।
तमोर सबस्टेसन तथा २२० केभी डबल सर्किट प्रसारण लाइनको सर्भे, वातावरणीय अध्ययनको कार्य सम्पन्न भई स्वीकृत भइसकेको छ । सार्वजनिक निजी साझेदारी अन्तर्गत सबस्टेशन तथा प्रसारण लाइन निर्माण एवम् सञ्चालन गर्ने गरी नयाँ कम्पनी दर्ता भइसकेको पनि जनाइएको छ ।