देशकै एकमात्र मानव निर्मित ताल ‘इन्द्र सरोवर’ अर्थात् कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन् ।
नेपाल विद्युत् प्राधिकरण तथा कुलेखानी आयोजनाले सर्वसाधारणका लागि यो क्षेत्र खुकुलो बनाएपछि घुम्न आउनेको संख्या बढ्दै गएको हो । मकवानपुरकाे मार्खुमा निर्माण भएकाे जलाशयसम्म काठमाडौंबाट मोटरसाइकल वा गाडीमा करिब दुई घन्टामा पुग्न सकिन्छ । यस्तै, हेटौडादेखिको दूरी पनि बराबर छ ।
छोटो दूरी हुनाले सहर तथा ग्रामीण क्षेत्रका व्यक्ति सरोवर घुम्न आउन लालयित देखिन्छन् । यहाँ पछिल्लो समय डुंगा सवार गर्दै पिकनिकमा रमाउनेको संख्या बढ्दै गएको छ । काठमाडौं तथा हेटौंडाबाट नजिक भएकाले स्कुल र क्याम्पसका विद्यार्थीले यसलाई पिकनिक स्पटका रूपमा रोज्ने गरेका छन् ।
अन्य दिनको तुलनामा कुनै चाडपर्व वा बिदाका दिन सरोवर घुम्न आउनेको संख्या बढ्ने डुंगा सञ्चालक सुवास तामाङले बताए । यहाँ पोखराको फेवातालमा जस्तै डुंगा सवार गर्न पाइन्छ । अघिल्ला वर्ष सरोवरमा डुबेर केही व्यक्तिको मृत्य भएको थियो ।
डुंगा सञ्चालकले सुरक्षाका उपाय ‘लाइफ ज्याकेट’ लगाएर डुंगा सवार गराउने गरेका छन् । यहाँ पौडीका पारखीले पौडीसमेत खेल्न पाउने व्यवस्था छ । यस्तै, काठमाडौं, हेटौडा तथा अन्य सहरमा सरोवरको माछा चर्चित छ । स्थानीय माछाको स्वाद लिँदै पिकनिक मनाउन हिउँदमा धेरै मान्छे आउने गर्छन् ।
धुम्न अाउनेले जलाशय वरपर, चाउचाउ, बिस्कुट, लेजलगायत जंक फुडका खाेल र पानीका बाेतल छाेड्ने हुँदा याे क्षेत्र केही प्रदुषित हुन थालेकाे छ । यस्तै, पिकनिक मनाउन अाउनेले गर्ने फाेहाेर पनि व्यवस्थापन हुन सकेकाे छेन । जलाशय वा ताल छेउमा हाेटल तथा रेष्टुरेन्टकाे संख्या बढ्दै छ । तर, व्यवस्थित हुन सकेकाे छैन।
प्राधिकरण तथा कुलेखानी अायाेजनाले स्थानीय नै परिचालन गरी वातावरण तथा फाेहाेर व्यवस्थापनमा ध्यान दिए हजाराैं पर्यटक अाउन सक्ने काठमाडाैंबाट घुम्न गएका गरिमा विकास बैंकका सूचना प्रविधि प्रमुख कमल अर्यालले बताए । ‘जुन रूपमा पर्यटककाे संख्या बढ्दैछ, त्यहीअनुसार वातावरण तथा ताल व्यवस्थापनमा ध्यान दिन जरुरी छ,’ उनले भने ।
तालको पानी उपयोग गरी विद्युत् उत्पादन गरेकाले वीरगन्ज, विराटनगर, चितवन, बुटवल, पोखरालगायत क्षेत्रबाट यहाँ पर्यटक आउने गर्छन् । तत्कालीन राजा वीरन्द्र शाहको पालमा विद्युत् उत्पादन गर्न पानी सञ्चय गर्ने लक्ष्यले जलाशय निर्माण भएको थियो ।
अहिले जलाशयको पानीबाट ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो आयोजना सञ्चालनमा छन् । २०३४ (सन् १९७७) सालमा निर्माण सुरु भई २०४३ (सन् १९८६) सालमा दुई आयोजना पूरा भएका थिए ।
दुवै आयोजना करिब ११ करोड ८० लाख अमेरिकी डलर लागतमा पूरा भएका थिए । अहिले १४ मेगावाटको तेस्रो आयोजना निर्माणाधीन छ । आगामी ६ महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
पानी जम्मा गर्न १ सय १४ मिटर अग्लो र १० मिटर चौडा रक फिल (ढुंगा र माटो मिश्रित बाँध) ड्याम निर्माण भएको छ । ७ किलोमिटर लामो र करिब २ किलोमिटर चौडा जलाशयमा ८ करोड ५३ लाख घनमिटर पानी सञ्चित हुन्छ । यसमध्ये ७ करोड ३३ लाख घनमिटर पानी मात्र विद्युत् उत्पादन गर्न प्रयोग गर्न मिल्छ । जलाशयमा १५३० मिटरसम्म पानी भण्डारण गर्न सकिन्छ ।