images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो ।

भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । सडकको सहज पहुँच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयवासीको भनाइ छ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ । दैनिक दर्जनौँ मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।

झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताए । विषेशगरेर गर्मीको समयमा धेरै पर्यटकको जमघट हुने उहाँको भनाइ छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उनले जानकारी दिए । 

‘महभिर झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ’, उनले भने, ‘दैनिकजसो दजनौँ मानिस आउने गरेका छन् । यसलाई अझ प्रचार–प्रचारमा ध्यान दिन सक्ने हो भने गाउँपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्छ ।’

भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको स्थानीयवासी राईको भनाइ छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र रहेको छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् ।
 
गाउँपालिकाको वडा नं ४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगतका वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् ।
 
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको उनको भनाइ छ । 

‘महभिर झरना पर्यटकको रोजाइको पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ’, प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘दैनिक दर्जनौँ मानिस पुग्ने गरेका छन् । हामीले यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौँ । यसको थप विकास तथा विस्तारमा भावी दिनमा काम गर्ने योजना छ ।’
 
महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।  झरनासम्म पुग्ने सडकलाई कोशी प्रदेशसँगको सहकार्यमा व्यवस्थित गर्ने काम भइरहेको उपाध्यक्ष राईले बताए । टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने उपाध्यक्ष राईले जानकारी दिए ।  

‘टेम्केमैयुङ गाउँपालिका पर्यटन र कृषिमा धेरै राम्रो सम्भावना बोकेको गाउँपालिका हो’, उपाध्यक्ष राईले भने, ‘यहाँ धेरै पर्यटकीय क्षेत्र छन् । पर्यटनको सँगै यहाँको कृषिलाई जोडेर विकासमा जुटेका छौँ । महभिर झरना एक स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । यसलाई अझ  व्यवस्थित बनाउने योजनाका साथ काम गरिरहेका छौँ ।’ मुख्यरूपमा गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्धरूपमा काम भइरहेको उनको भनाइ छ । 

यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आगमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । पर्यटनलाई गाउँपालिकाको आर्थिक पक्षसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit