काठमाडौँ । संसारभरि नवीकरणीय ऊर्जाको मुख्य स्रोत मानिएको जलविद्युत् उत्पादन क्षमता हालसम्म १४ लाख ४३ हजार मेगावाट अर्थात् १४४३ गिगावाट पुगेको छ । जलवायु परिवर्तनविरुद्धको अभियानलाई सार्थक विन्दुमा पुर्याउन र शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्नका लागि विश्वका सबैजसो देशले अहिले जलविद्युत् उत्पादनलाई उच्च प्राथमिकतामा राखेका छन् ।
अन्तर्राष्ट्रिय जलविद्युत् संघ (आइएचए) ले हरेक वर्ष प्रकाशन गर्दै आएको ‘वल्र्ड हाइड्रोपावर आउटलुक, २०२५’ अनुसार सन् २०२४ सम्म विश्वभर कुल जलविद्युत् उत्पादन क्षमता १४४३ गिगावाट पुगेको छ । त्यसमध्ये १२५४ नदीप्रवाही (कन्भेन्सनल हाइड्रो) र १८९ गिगावाट बराबरका पम्प भण्डारीकृत (पम्प-स्टोरेज) आयोजना निर्माण भएका छन् । यस प्रतिवेदनले विश्वमा बढ्दै गएको जलविद्युत् विकास, नीतिगत स्पष्टता, लगानीका चुनौती, असल अभ्यासलगायत पक्षहरू किटान गरेको छ ।
आइएचएका अनु्सार सन् २०२४ मा मात्र विश्वभर २४.६ गिगावाट जलविद्युत् उत्पादन भएको छ । जसमध्ये १६.२ गिगावाट कन्भेन्सनल हाइड्रो र ८.४ गिगावाट पम्प भण्डारीकृत आयोजना निर्माण भएका थिए । यसै वर्ष विश्वको जलविद्युत् उत्पादन १० प्रतिशतले वृद्धि भई ४१८० टेरावाट घन्टाबाट ४५७८ टेरावाट घन्टा पुगेको छ ।
वर्तमान विश्वमा जलविद्युत्लाई नवीकरणीय ऊर्जाको सबैभन्दा ठूलो स्रोत मानिएको छ । विश्व उत्पादित विद्युत् मध्ये १४.३ प्रतिशत हिस्सा जलविद्युत्को रहेको उल्लेख गरिएको छ । संसारका १५० देशले जलविद्युत् उत्पादन गरेको आइएचएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, हालसम्म संसारभर १०७५ गिगावाट बराबरका जलविद्युत् आयोजना पाइपलाइनमा रहेका छन् । ती मध्ये ६०० मेगावाट पम्प भण्डारीकृत र बाँकी नदी प्रवाही अर्थात् कन्भेन्सनल आयोजना छन् । सन् २०३० सम्म पम्प भण्डारीकृत आयोजनाको क्षमता १५०० गिगावाट पुर्याउने लक्ष्य राखिएको छ ।
हाल १०५ गिगावाट बराबरका नदी प्रवाही आयोजना निर्माणाधीन छन् भने ६९ गिगावाटका आयोजना निर्माणको चरणमा रहेका छन् । यसलाई वार्षिक ८ प्रतिशतले वृद्धि गरी सन् २०३० सम्म नदी प्रवाही आयोजनाको क्षमता १३५० गिगावाट पुर्याउने लक्ष्य राखिएको छ ।
यसैगरी, हालसम्म १०५ गिगावाटका पम्प भण्डारीकृत आयोजना निर्माणाधीन छन् । त्यसमध्ये ९० गिगावाट चीनमा मात्र निर्माण भइरहेका छन् । चीनले सन् २०३० सम्म पम्प भण्डारीकृत आयोजनाको क्षमता १२० गिगावाट पुर्याउने लक्ष्य राखेको छ । उसले सन् २०३५ मा पूरा गर्ने गरी १३६ गिगावाट बराबरका पम्प भण्डारीकृत आयोजना स्वीकृत गरिसकेको छ । उता भारतले आफ्नो राष्ट्रिय लक्ष्यअनुसार सन् २०३२ सम्म पम्प भण्डारीकृत आयोजनाको क्षमता १२६ गिगावाट पुर्याउने लक्ष्य लिएको छ ।
अहिलेसम्म चीनले जलविद्युत् उत्पादनमा संसारका सबै देशलाई उछिन्दै आएको छ । उसले सन् २०२४ मा मात्र १४.४ गिगावाट उत्पादन गरेर नयाँ रेकर्ड बनायो । त्यसमा ७.७५ गिगावाट पम्प भण्डारीकृत आयोजना रहेका छन् । यस्तै, अफ्रिकाले पनि अघिल्ला वर्षको तुलनामा सन् २०२४ मा आफ्नो उत्पादन दोब्बर गर्दै ४.५ गिगावाट बराबरका आयोजना निर्माण गर्न सफल भयो ।
विश्वको कुल लक्ष्यको ९० गिगावाट बराबरको पम्प भण्डारीकृत आयोजना सन् २०३० भित्रै आइसक्ने आइसक्ने आइएचएको अनुमान छ । त्यसपछि, हालको १८९ गिगावाटबाट वृद्धि भई यो सङ्ख्या २८० गिगावाट हाराहारी पुग्ने छ ।
पछिल्लो ५ वर्षको उत्पादन विश्लेषण गर्दा हरेक वर्ष औसत २० गिगावाट बराबरको जलविद्युत् उत्पादन भइरहेको तथ्याङ्क छ । साथै, विश्वमा नदी प्रवाहीको तुलनामा पम्प भण्डारीकृत आयोजनाको विकासले तीव्रता लिइरहेको आइएचएले तथ्याङ्कमा उल्लेख छ । सन् २०२४ को मात्र तथ्याङ्क हेर्दा नदी प्रवाही आयोजनाको वृद्धि दर करिब १ प्रतिशत रह्यो भने पम्प भण्डारीकृत आयोजनाको विस्तार ५ प्रतिशत देखिएको छ ।
अहिलेसम्म विश्वमा जलविद्युत् उत्पादन तथा यस उद्योगका कारण मात्र २३ लाख मान्छेले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै, २ अर्ब २० करोड टर बराबरको कार्बन उत्सर्जन घटेको आइएचएको प्रतिवेदनमा उल्लेख छ ।