विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बेइजिङ । चीनले नवीकरणीय ऊर्जाको क्षमतामा ऐतिहासिक छलाङ मारे पनि कोइलाबाट विद्युत् उत्पादनमा समेत तीव्र वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ । सोमबार जारी गरिएको उक्त प्रतिवेदन अनुसार चीनले चालु वर्ष (सन् २०२५) को पहिलो ६ महिनामा कोइलाबाट विद्युत् उत्पादन ह्वात्तै बढाएको हो । 

दशकौँदेखि चीनको ऊर्जा प्रणालीमा कोइला प्रमुख स्रोत रहँदै आएको छ, तर पछिल्ला वर्षहरूमा वायु र सौर्य ऊर्जामा भएको तीव्र वृद्धिले यस देशलाई प्रदूषित जीवाश्म इन्धनबाट मुक्त बनाउने आशा जगाएको थियो ।

सन् २०१६ सम्म चीनको विद्युत् उत्पादन स्रोतको ७५ प्रतिशत हिस्सा कोइलाले ओगट्ने गरेको थियो । हाल यो हिस्सा घटेर झण्डै ५० प्रतिशतमा आएको थियो तर यस वर्षको पहिलो छ महिनामै चीनले कोइलाबाट २१ गिगावाट विद्युत् उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्यायो, जुन २०१६ पछि पहिलो छ महिनाको हिसाबले सबैभन्दा बढी भएको ऊर्जा तथा स्वच्छ वायु अनुसन्धान केन्द्र (सिआरइए) र ग्लोबल इनर्जी मोनिटर (जिइएम) ले संयुक्त रूपमा प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदन अनुसार चीनले ४६ गिगावाट बराबरका नयाँ तथा पुराना कोइलाबाट विद्युत् उत्पादन आयोजना निर्माण तथा पुनर्सञ्चालनमा ल्याउन थालेको छ । यो दक्षिण कोरियाको कुल कोइला उत्पादन क्षमताको बराबर हो । साथै, थप ७५ गिगावाट बराबरका प्रस्तावित वा पुनर्जीवित कोइला विद्युत् परियोजना सुरु भएका छन् ।

कोइलाबाट विद्युत् उत्पादनमा गरेको यो वृद्धिले सन् २०३० सम्म कार्बन उत्सर्जनमा चरम कटौती गर्ने चीनको लक्ष्यलाई चुनौती दिने देखिएको छ । साथै ऊर्जा क्षेत्रमा कोइलाको हिस्सेदारी तथा भूमिका थप बलियो हुने खतरा बढेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो । यद्यपि, जल,वायु, सौर्य लगायत नवीकरणीय स्वच्छ स्रोतबाट विद्युत् उत्पादन गर्न समेत चीन अग्रणी नै रहेको छ ।

'चीनमा कोइलाबाट विद्युत् उत्पादनमा कुनै कमी देखिएको छैन, जसले कार्बन  उत्सर्जनलाई लामो समय उच्च तहमा राख्नेछ र राष्ट्रिय विद्युत् प्रणालीमा वर्षौँसम्म कोइलाको हिस्सेदारी सुनिश्चित गरिराख्ने छ,' ग्लोबल एनर्जी मोनिटरकी अनुसन्धान विश्लेषक तथा प्रतिवेदनकी सह–लेखिका क्रिस्टिन शियररले भनिन् ।

सिआरइएका प्रमुख विश्लेषक लाउरी माइलिभिर्टाले भने, 'पहिल्यै अनुमति प्राप्त कोइला आयोजना अझै निर्माणाधीन भएकाले निकट भविष्यमै थप कोइला विद्युत् सञ्चालनमा आउन सक्छ । सन् २०२२ र २०२३ मा विद्युत् ग्रिडले नवीकरणीय ऊर्जासँग तालमेल गर्न नसकेपछि ठूलो संख्यामा अनुमति दिइएको थियो । त्यसबेलाका समस्या अहिले ग्रिड सञ्चालन र भण्डारण सुधारसँगै समाधान भइसकेका छन् तर ती आयोजना अझै पनि निर्माण हुँदैछन् ।'

काेइलाकाे विद्युत्‌प्रति उच्च चासो

चीनमा नवीकरणीय ऊर्जाको तीव्र विस्तार हुँदै गएको र त्यसले विद्युत् मागको वृद्धिलाई नै पूरा गर्न थालेको परिस्थितिमा कोइलाबाट विद्युत् उत्पादन समेत बढेको हो ।

चीनले यस वर्षको पहिलो छ महिनामा २१२ गिगावाट सौर्य विद्युत्‌को जडित क्षमता थपेको छ, जुन नयाँ रेकर्ड हो । सन् २०२४ को अन्त्यसम्म अमेरिकाले जडान गरेको कुल सौर्य विद्युत्‌को क्षमताभन्दा बढी हो ।

सन् २०२५ मा चीनले जर्मनी र बेलायतको कुल विद्युत् माग बराबर  नवीकरणीय ऊर्जा (सौर्य, वायु, आणविक र जलविद्युत्) स्थापना गर्ने लक्ष्य राखेको छ ।

सन् २०२१ मा राष्ट्रपति सी जिनपिङले सन् २०२६ देखि २०३० सम्म कोइला खपतलाई क्रमशः घटाउँदै लैजाने र कोइला विद्युत् आयोजनामा 'कडा नियन्त्रणु गर्ने प्रतिबद्धता जनाएका थिए तर प्रतिवेदनअनुसार २०२५ को पहिलो छ महिनामा केवल १ गिगावाटका कोइला आयोजना मात्र बन्द गरियो । यसले २०२० देखि यस वर्षअन्त्यसम्म ३० गिगावाटका कोइला विद्युत् आयोजना बन्द गर्ने लक्ष्य प्राप्तिमा निकै ठूलो चुनौती थपेको छ।

'चीनले कोइलामा उच्च चासो देखाउँदै अझै पनि नयाँ आयोजना अघि बढाइरहेको छ,' प्रतिवेदनका प्रमुख लेखक तथा सिआरइएका चीन विश्लेषक चि चिनले भनिन्, 'कोइलाको कुल हिस्सा घट्दै गइरहे पनि दीर्घकालीन सम्झौता र क्षमता भुक्तानी प्रणालीका कारण धेरै आयोजना अझै उच्च स्तरमा सञ्चालन भइरहेका छन् ।'

नयाँ कोइला आयोजनाले नवीकरणीय ऊर्जाले उत्पादनको विस्तार गर्नुपर्ने ठाउँलाई नै खुम्च्याउने खतरा समेत बढाएको छ ।

चीनले आगामी महिना पाँचौँ वार्षिक योजना (२०२६–२०३०) सार्वजनिक गर्दा कार्बन उत्सर्जन न्यूनीकरण तथा ऊर्जा उत्पादनको नयाँ लक्ष्य घोषणा गर्ने सम्भावना छ ।

राष्ट्रपति सीले गत अप्रिलमा भनेका थिए, 'चीनले सन् २०३५ सम्ममा हरितगृह ग्यास कटौती लक्ष्य (एनडिसी) आगामी नोभेम्बरमा हुने कोप–३० सम्मेलनअघि नै सार्वजनिक गर्नेछ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३