विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालमा सञ्चालित जलविद्युतगृहमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचनाको केही मर्मत–सम्भार गरी ८८ दिनपछि मङ्गलबार साँझबाट उत्पादन थालिएको हो ।

अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले मंगलबार साँझ ७.४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु भई राष्ट्रिय प्रणालीमा समाहित गरिएको जानकारी दिए । उनका अनुसार हाल नदीमा उपलब्ध पानीको बहाबलाई पूर्ण रूपमा प्रयोग गरी १ सय २० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाब उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्र्याउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा क्षति पुर्‍याएको थियो ।

गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब ३ सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थ प्रयोग गरी ढुङ्गा फुटाएर सडक खुलाइएको गौतमले बताए । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।

‘दुई वटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डर आंशिक मर्मत गरी तोकिएको तालिकाभन्दा एक दिनअघिबाट विद्युत् उत्पादन सुरु गर्न सकियो,’ गौतमले भने, ‘आंशिकरूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यस्तै, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गरी मर्मत गरिएको छ ।’

डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशी नदी प्रवाहीका रूपमा सञ्चालनमा ल्याइएको र डिस्याण्डरको बाँकी काम भइरहेको उनको भनाइ छ । उनका अनुसार केन्द्रलाई पुसभित्र पिक समय (उच्च माग) मा दैनिक ४ घन्टा चलाउन सक्ने गरी मर्मत भइरहेको छ । कम्पनीले पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो ।

दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षा सुरु हुनु अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोट गर्न बोलपत्र (टेण्डर) आह्वान भइसकेको पनि गौतमले जानकारी दिए । जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मत–सम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने बताइएको छ । कम्पनीले पहिरोले पुर्‍याएको क्षतिको १ अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दाबी गरेको थियो ।

कम्पनी र विमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्तरूपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ । उता, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमा सम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३