विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ। तनहुँमा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलाशय जलविद्युत् आयोजनाको निर्माण करिब ३० प्रतिशत सकिएको छ । प्याकेज दुई (लट–२) को २०७५ साल असोज १५ गते ठेक्का सम्झौता भई काम भइरहेको छ ।

पहिलो प्याकेज अर्थात् पानी फर्काउने, बाँध निर्माण लगायत काम गर्न गत चैत ९ गते (सोमबार) सोङ दा कन्सट्रक्सन भियतनाम र कालिका कन्सट्रक्सनले संयुक्तरूपमा ठेक्का पाएका छन् । तेस्रो प्याकेज अन्तर्गत प्रसारण लाइनको पनि काम भइरहेको छ । पहिलो, दोस्रो र तेस्रोको समष्टिगत प्रगति गत फागुनसम्म २७.५ प्रतिशत रहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए । अहिलेसम्म करिब ३० प्रतिशत काम पूरा भएको अनुमान छ ।

अहिले दोस्रो प्याकेजको विद्युत्गृह, सर्ज ट्यांक, पहुँच सुरुङ (विद्युत्गृहमा जाने पहुँचमार्ग), टेलरेस (पानी निकास) सुरुङ लगायत क्षेत्रको काम भइरहेको छ । यस्तै, प्रसारण लाइनतर्फ अहिलेसम्म १८ वटा टावर निर्माण गर्न जग तयार भइसकेको घिमिरेले बताए ।

पहिलो प्याकेजको २०७५ असोज १५ गते ठेक्का सम्झौता भई काम सुरु भए पनि इटालियन ठेकेदार सिएमसी दि राभेना सोसाइट को–अपरेटिभलाई त्यहाँको सरकारले आर्थिक रूपमा टाट पल्टेको घोषणा गरेपछि उससँगको ठेक्का रद्द गरिएको थियो । यसपछि, दोस्रो वा तेस्रो पटक ठेक्का आह्वान गरी सम्झौता गर्दा करिब साढे २ वर्ष गुज्रेको छ ।

दुवै प्याकेजको काम ठेक्का सम्झौता भएको मितिबाट सुरु भई करिब ५ वर्षमा पूरा गर्नुपर्ने सर्त छ । पहिलो र दोस्रो प्याकेजको निर्माण पूरा गर्न २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँमा विद्युत् किन्ने गरी तनहुँ हाइड्रो पावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ ।

टेक अर पे (लिउ या तिर) प्रावधानमा गरिएको पिपिएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यबृद्धिको व्यवस्था गरिएको छ । आयोजनाबाट २०८१ चैत मसान्तभित्र विद्युत् उत्पादन हुनुपर्नेछ । उत्पादित विद्युत् विद्युत्गृहबाट ३३.६ किलोमिटर टाढा २२० केभीको न्यू भरतपुर सबस्टेसनमा जोडिनेछ ।

कूल ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसहित) लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायत विकास साझेदार निकायको लगानी छ । आयोजनामा एडिबीको १५ करोड अमेरिकी डलर, जाइकाको १८.४० करोड डलर युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले ८.५० करोड डलर र सरकार तथा प्राधिकरणले ८.७० करोड डलर लगानी गर्नेछन् ।

निर्माणको प्रगति

केबल सुरुङ : भूमिगतरूपमा रहने विद्युत्गृहबाट उत्पादित विद्युत् बाहिरी सतहमा निर्माण भएको टावरसम्म ल्याउन केबल टनेल निर्माण भइरहेको छ । २२० किलो भोल्टको केबलमार्फत विद्युत् बाहिर ल्याउन अहिलेसम्म १८८ मिटर केबल सुरुङ निर्माण भइसकेको छ ।

पहुँच सुरुङ : विद्युत्गृह निर्माण हुने ठाउँसम्म पुग्ने बाटो (पहुँचमार्ग) का लागि एक्सेस अर्थात् पहुँच सुरुङ निर्माण भइरहेको छ । जुन विद्युत्गृहसम्म पुग्ने मुख्य पहुँच सुरुङ पनि हो । २६५ मिटरमध्ये अहिलेसम्म १९६ मिटर मुख्य पहुँच सुरुङको काम पूरा भएको छ ।

कार्य सुरुङ (वर्क टनेल) : विद्युत्गृहमा काम गर्न मुख्य सुरुङको बीचबाट छेडेर अर्को साइड (दाँहिनेतर्फ) सुरुङ खनिँदैछ । त्यहाँबाट विद्युत्गृह क्षेत्रसम्म पुगेर काम गर्नुपर्ने हुन्छ । ३६६ मिटरको वर्क टनेलमध्ये अहिलेसम्म करिब ६० मिटर पूरा भएको छ ।

टेलरेस (पानी निकास) सुरुङ : विद्युत्गृहबाट निस्केको पानी सुरक्षित तरिकाले लगेर नदीमा मिसाउन निकास सुरुङ निर्माण गरिन्छ । यस क्षेत्रमा पनि अहिले धमाधम काम भइरहेको छ । २०० मिटर निकास सुरुङमध्ये अहिलेसम्म करिब १५ मिटरसम्म काम पूरा भएको आयोजनाले जानकारी दिएको छ ।

विद्युत्गृह : आयोजनाका लागि जमिनमुनि (भूमिगत) ८९ मिटर लामो, ४४ मिटर अग्लो र २२ मिटर चौडाई वा फराकिलो विद्युत्गृह निर्माण हुनेछ । ४४ मिटर अग्लो भवन निर्माण गर्न ५४ मिटर गहिराईसम्म खन्नुपर्ने हुन्छ ।

अहिले विद्युत्गृहतर्फ टप (माथिल्लो वा सुरु भाग) क्राउन खन्ने काम भइरहेको छ । भौगोलिक अवस्थाको ख्याल गर्दै खन्दै सपोर्ट मिलाउँदै अर्थात् खनेको ठाउँमा माथिको नखस्ने गरी मिलाउँदै काम भइरहेको छ । विद्युत्गृहमा ७० मेगावाटका दुई वटा टर्बाइन (युनिट) रहनेछन् ।

सर्ज ट्यांक : विद्युत्गृहमा कहिले काहीँ समस्या देखिए वा मर्मत गर्नुपर्ने अवस्था आए बाँध बन्द गरिन्छ । तर, सुरुङभित्रको पानी बाहिर फाल्न मिल्दैन । यही पानीको चाप (फ्रेसर) लाई सन्तुलन मिलाउन सर्ज ट्यांक निर्माण गर्ने गरिन्छ । सुरुङभित्र अक्सिजन वा हावा छिर्न पनि यस सुरुङको महत्त्वपूर्ण भूमिका हुन्छ । यसैका लागि निर्माण गर्नुपर्ने ४०० मिटर उचाईको सर्ज ट्यांकको काम २०० मिटर पूरा भएको छ ।

प्रसारण लाइन : उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत न्यू भरतपुर सबस्टेसनमा पुर्याइनेछ । ३३.६ किलोमिटरमा ८४ वटा टावर निर्माण गरिनेछ । अहिलेसम्म १८ वटा टावर गाड्न जग तयार भइसकेको छ भने १० वटामा काम भइरहेको छ । टावर, कन्डक्टर, इन्सुलेटर लगायत ७० प्रतिशत उपकरण निर्माणस्थलमा ढुवानी भइसकेको आयोजनाले जानकारी दिएको छ ।

बाँधस्थल : बाँधस्थल निर्माण गर्न गत चैत ९ गतेमात्र ठेक्का सम्झौता भएको छ । प्रोभिजनल र मूल्य अभिबृद्धि करबाहेक १६ अर्ब ६२ करोड रुपैयाँमा यस प्याकेजको ठेक्का भएको छ । सम्झौता अनुसार ठेकेदारले ५७ महिनाभित्र काम पूरा गर्नुपर्नेछ । केही समयभित्रै निर्माणस्थलमा ठेकेदार परिचालन हुने घिमिरेले बताए ।

‘पहिलो र दोस्रो प्याकेजबीच समन्वय गरेर काम गर्नुपर्ने हुँदा दुवै ठेकेदारलाई राखेर छलफल गर्दैछौं,’ उनले ऊर्जा खबरसँग भने, ‘ठेकेदारले छिटै काम सुरु गर्ने गरी हामीले वातावरण मिलाइरहेका छौं ।’

सामाजिक काम : प्रवर्द्धक तनहुँ हाइड्रोले आयोजना प्रभावित क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व काम गरिरहेको छ । आयोजनाका अनुसार स्थानीयका लागि सीममूलक र भौतिक पूर्वाधारका काम गर्न ‘स्थानीय परामर्श मञ्च’ गठन भएको छ । मञ्चले स्थानीयका गुनासा, उजुरी वा अन्य समस्याको उचित समाधान गर्दै आएको छ ।

यसैगरी, साविकको १८ गाविसमा विद्युतीकरण गर्न ३३ केभीका दुई वटा ८/८ एमभिएका सबस्टेसन निर्माण गरिएको छ । ४५ किलोमिटर वितरण लाइन निर्माण गरी १७ हजार घरधुरीमा विद्युत् पुर्याउने योजना छ । यो काम प्राधिकरणमार्फत भइरहेको छ । पहिलो चरणमा प्लम्बर, विद्युतीकरण, सिलाइ–कटाइको तालिम समेत दिइएको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit