काठमाडौँ । म्याग्दीमा पर्ने राहुघाट नदी बेसिनमा ३७.५ मेगावाटको पहिलो जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिकामा पर्ने उक्त नदीमा चिमखोला मङ्गले राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको हो । तुदी पावर कम्पनी लिमिटेडको विकास गरेको आयोजन निर्माण सकिएपछि अब परीक्षण उत्पादनको चरणमा प्रवेश गर्न लागेको छ ।
आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु हुने जानकारी दिए । उनका अनुसार आयोजनाको विद्युत्गृहमा आवश्यक सम्पूर्ण उपकरण जडान भइसकेको छ भने प्रसारण लाइन समेत तयार भइसकेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् १४ किलोमिटर लामो २२० केभी क्षमताको केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । सो लाइनमार्फत विद्युत् केन्द्रीय ग्रिडमा प्रवाह गरिने छ ।
आयोजनाबाट व्यावसायिक रूपमा नियमित विद्युत् उत्पादन हुन थालेपछि स्थानीय क्षेत्रको विकासका साथै समग्र क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताइएको छ ।