काठमाडौँ । नेपालको कृषि क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयाेग गरी सिँचाइ सुविधा विस्तारमा सघाउन पुर्याउन प्योर (प्रडक्टिभ युज अफ रिन्युएबल इनर्जी) प्लाटफर्म तयार गरी सञ्चालनमा ल्याइएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) र अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा उक्त प्लाटफर्म विकास गरिएको हो ।
यसबारे विस्तृत जानकारी दिन विन्ड पावर नेपाल प्रालिले एइपिसी र इसिमोडको सहकार्यमा बुधबार ‘प्योर प्लाटफर्म : सिँचाइ योजनाका लागि एक डिजिटल नवप्रवर्तन’ विषयक राष्ट्रिय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले कृषि नेपाल सरकारको प्राथमिकतामा रहेको र कृषिका लागि सिँचाई महत्त्वपूर्ण भएकोले प्लाटफर्मले कृषियोग्य भूमिमा नवीकरणीय ऊर्जाको प्रयोग गरी सिँचाई सुविधा विस्तार गर्न सघाउने अपेक्षा रहेको बताए । ‘यो निकै महत्त्वपूर्ण प्लाटफर्म तयार भएको छ,’ उनले भने, ‘यसले विविध डिजिटल डाटा उपलब्ध गराएर सिँचाई विस्तारका लागि सघाउने छ ।’
त्यस्तै, इसिमोडकी रेजिलियन्ट इकोनोमिक्स एन्ड ल्यान्डस्केप्स प्रमुख सरला खालिङले जलवायु परिवर्तनको असर स्वरुप पछिल्लो समय मौसममा देखिएको अनिश्चितताका कारण कृषि उत्पादन सिँचाइ निकै चुनौतीपूर्ण बन्दै गएकोले त्यसको सामना गर्न प्योर प्लाटफर्म सहयोगी हुने बताइन् । ‘यो प्लाटफर्म महत्त्वपूर्ण हुँदाहुँदै यसले अझ धेरै प्रश्नहरू र चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने छ,’ उनले भनिन्, ‘आगामी दिनमा यसलाई अझ समृद्ध बनाउँदै लगिने छ ।’
कार्यक्रममा विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत ऊर्जा विज्ञ कुशल गुरुङले ६० प्रतिशत नेपाली कृषि पेशामा आवद्ध रहेको तर जम्मा ३५ प्रतिशत कृषियोग्य भूमिमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा पुगेको र १६औँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत कृषियोग्य भूमिमा सिँचाइ पुर्याउने लक्ष्य लिएको अवस्थामा नेपालमा सौर्य ऊर्जाबाट सिँचाई सुविधा विस्तार गर्नु आवश्यक रहेको बताए । नेपालको सोलार रेडिएसन राम्रो रहेको भए पनि डिजेल पम्प जेनेरेटर चलाएर सिँचाइ गर्दा भइरहेको कार्बन उत्सर्जन कम गर्न पनि सौर्य विद्युत्बाट सिँचाइ सुविधा विस्तार गर्नुपर्ने बताए । यसका लागि प्योर प्लाटफर्मले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ । एक सर्वेक्षण अनुसार ऊर्जा सिँचाइ परियोजनाको पूर्व सम्भाव्यता अध्ययनका लागि ५० हजारदेखि १ लाख रुपैयाँ र १० दिनको समयावधि लाग्ने उनले बताए । यसका लागि ४ देखि ५ जनासम्म स्रोत व्यक्तिहरू आवश्यक पर्ने देखिएको उनको भनाइ छ ।
‘यसले डाटामा आधारित बैंकको लगानीयोग्य सिँचाइ परियोजना तर्जुमा गरी अघि बढ्न तथा सिँचाइमा लाग्ने ऊर्जा परिमाणको पूर्वानुमान गर्न समेत ३ तहका सरकार, प्राविधिक तथा योजनाकारहरूलाई सघाउँछ,’ उनले भने ।
एइपिसीका निर्देशक लक्ष्मणप्रसाद घिमिरेले सबैजसो डिजिटल उपकरणका केही न केही सीमितता हुने भन्दै यो प्लाटफर्मलाई अझ सुधार गर्दै अघि बढ्नुपर्ने र यसको प्रयोग सरोकारवाला सबैले गर्नुपर्ने बताए ।
कार्यक्रममा इसिमोडका रिन्युएबल इनर्जी इन्टरभेन्सन म्यानेजर अभिषेक मल्लले उक्त प्लाटफर्मबारे प्रस्तुति गरेका थिए । उनले विश्वको कुल ऊर्जा उत्पादनको ३० प्रतिशत कृषिमा आधारित खाद्य उत्पादनमा खपत भइरहेको भन्दै नेपालमा पनि नवीकरणीय ऊर्जाको प्रयोगबाट सिँचाइ सुविधा विकास गरी कृषि उत्पादन बढाउन यो प्लाटफर्म सहयोगी हुने बताए । विभिन्न २१ वटा विषयगत विवरणहरूको समूह (डाटा सेट) तयार गरी उक्त प्लाटफर्म सञ्चालनमा ल्याइएकोले लिफ्ट सिँचाइका लागि आवश्यक नेपालभरका करिब सबैजसो विवरण उपलब्ध रहेको बताए ।
नेपालमा ६० प्रतिशत कृषियोग्य भूमिका भरपर्दो सिँचाई सुविधा नरहेकोले झण्डै ९ सय मेगावाटभन्दा बढी नवीकरणीय विद्युत् ऊर्जामार्फत सिँचाइ सुविधा विस्तार गर्न र कृर्षिमा १ लाख १३ हजार नयाँ रोजगारी सिर्जना गर्न समेत सघाउने बताए ।
इसिमोडका जिआइएस एनालिस्ट सुजन नेपालीले उक्त प्लाटफर्म प्रयोगको तरिकारबारे प्रयोगात्मक प्रस्तुतीसहित विस्तृत जानकारी दिएका थिए । कार्यक्रममा ऊर्जा तथा सिँचाइ क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता थियो ।
के हो प्योर प्लाटफर्म ?
प्योर प्लाटफर्म एक नवप्रवर्तनात्मक डिजिटल प्लेटफर्म हो, जसले विशेष गरी नेपालको पहाडी क्षेत्रहरूमा नवीकरणीय (सौर्य) ऊर्जाको प्रयोग गरी सिँचाइका योजना बनाउन सघाउने लक्ष्य राखेको छ । यो प्लेटफर्मले भू–उपग्रहबाट प्राप्त चित्रहरू र अत्याधुनिक मोडलिङको प्रयोगमार्फत सिँचाइमा नवीकरणीय ऊर्जा एकीकरणका सम्भावनाहरू पहिचान गर्न सहयोग गर्छ । यसले लिफ्ट सिँचाइका लागि स्थान पहिचान गर्न सघाउँछ ।
यो प्लेटफर्ममा नेपालका प्रसाशनिक सिमाना, प्रसारण लाइनहरू, नदी तथा नहर सञ्जाल, सडक पहुँच र कृषियोग्य भूमि समावेश गरिएको छ । यी सबै विवरण भरेर सिँचाइका लागि आवश्यक ऊर्जा परिमाणको अनुमानसहित उक्त परियोजनाका लागि लाग्ने लागतबारे जानकारी समेत प्राप्त गर्न सकिने छ । यो प्लाटफर्म एइपिसीको वेबसाइटमा राखिएको छ ।