काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहजताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान–प्रदान गर्न कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
पहिलो चरणमा काठमाडौं उपत्यका भित्रका ग्राहकहरूका लागि छुट्टै कल सेन्टर सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । ११५० नम्बरको कल सेन्टरमा ग्राहकले प्राधिकरणसँग सम्बन्धित गुनासो टिपाउन सक्नेछन् । उक्त कल सेन्टर २४ नै घण्टा सञ्चालनमा रहने प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाभित्र विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा विद्युत प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी अङ्क १ डायल गरेर कल सेन्टरमा जानकारी गराई सेवाको लाभ लिन सकिने प्राधिकरणले जनाएको छ ।