सुर्खेत । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ । बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध अदालतको फैसलापछि हटाएकोले लाइन विस्तारको बाटो खुलेको हो ।
आयोजनाको काम छ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन बिस्तार आयोजनाका प्रमुख रवि चौधरीले बताए । वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ ।
लाइन विस्तारको काम २०७७ असारदेखि सुरु गरिएको थियो । हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । ७० करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ । हालसम्म ५ हजार रूख काटिएका छन् भने अझै ५ हजार ५०० रूख काट्नुपर्ने छ ।
आयोजना प्रमुख चौधरीका अनुसार १५६ फाउन्डेसन निर्माण गरिएको छ भने अब ६ वटा फाउन्डेसन निर्माण गरिने छन् । हालसम्म ४० किलोमिटर तार तानिएको छ भने अब १२ किलोमिटर तार तान्न बाँकी छ ।
भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा प्रसारण लाइन आयोजना निर्माणको ठेक्का पाएको छ ।