काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिपत्र ग्रहण गरेका छन् । आज (चैत १२ गते) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा उनले ४ वर्षका लागि पत्र बुझ्दै मन्त्री दीपक खड्काबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
पद तथा गाेपनियताको सपथपछि मन्त्री खड्काले शाक्यलाई उद्योगीहरूसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रकृया अघि बढाउन निर्देशन दिए । खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै प्राधिकरणमार्फत इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न पनि निर्देशन दिए ।
साेही क्रममा मन्त्रालयका सचिव सुरेश आचार्यले पनि अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए ।नवनियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो मन वचन र कर्मले आफ्नो योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयमा सपथ लिएसँगै उनले आजै प्राधिकरण पुगेर पदभार ग्रहण गरेका छन् । चैत ११ गतेको मन्त्रीपरिषद् बैठकले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
‘जे जस्तो लोडसेडिङ हुने हल्ला चलिरहेको छ, त्यो बेकार हो,’ उनले मंगलबार पदभार ग्रहण गर्दै ऊर्जा खबरसँग भने, ‘विद्यमान परिस्थिति भन्दा अझ राम्रो व्यवस्थापन गर्ने प्रयास हुनेछ । आम उपभोक्ताले कुनै चिन्ता मान्नु पर्दैन ।’ औद्योगिक क्षेत्रको आपूर्ति पनि थप सुधार गरिने र एक साताभित्र त्यसको परिणाम देखिने उनको दाबी थियो छ ।
सरकारले प्राधिकरणको १९औँ कार्यकारी निर्देशकको रूपमा शाक्यलाई नियुक्त गरेको छ । व्यक्तिका हिसाबले उनी प्राधिकरणको नेतृत्व गर्ने १७औँ कार्यकारी निर्देशक हुन् । यसअघि २०७७ माघ २६ गते उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यद्यपि, शेरबहादुर देउवा नेतृत्वमा बनेको कांग्रेस–माओवादी गठबन्धको पछिल्लो सरकारले माओवादीको दबाबमा ६ महिना पनि नपुग्दै शाक्यलाई बर्खास्त गरी घिसिङलाई कार्यकारी निर्देशक बनाएको थियो ।
त्यसपछि आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै २०७८ साउन ३२ गते सर्वोच्च पुगेका शाक्यको रिट निवेदनको सुनुवाइका लागि तोकिएको पेशी सारेको सार्यै गरी कुनै आदेश नगरी उनको ४ वर्षे कार्यकाल गुजारिएको थियो । हाल सरकारले घिसिङलाई हटाएर शाक्यलाई जिम्मेवारी दिएको हुँदा कतिपयले ४ वर्षपछि उनले न्याय पाएको आशयका साथ विश्लेषण गरिरहेका छन् ।
को हुन् शाक्य ?
प्राधिकरणमा झन्डै ३ दशक विभिन्न जिम्मेवारीमा रहेर काम गरेका शाक्यसँग प्राधिकरणका सहायक र विभिन्न सरकारी तथा वैदेशिक निकायमा गरी ३४ वर्षभन्दा बढी समय ऊर्जा क्षेत्रमा काम गरिसकेको अनुभव छ । प्राविधिक ज्ञान, सीप, क्षमता र दक्षताका हिसाबले अब्बल शाक्यलाई विद्युत् क्षेत्रका वैज्ञानिकको रूपमा समेत चिन्ने गरिएको छ । शाक्यले विद्युत् प्राधिकरणको इतिहासमै विद्युत् प्रणाली सन्तुलनका क्षेत्रमा योग्यता र दक्षता प्रस्ट देखाइसकेका छन् । नरम शैलीका उनी संस्थाभित्र सामान्यदेखि उच्च तहसम्मका कर्मचारीसँग समन्वय गरेर काम गर्न सक्ने र गर्नुपर्छ भन्ने व्यक्तिका रूपमा परिचित छन् ।
शाक्य मुख्यतः जलविद्युत् आयोजना निर्माण, इन्जिनियरिङ (अध्ययन/अनुसन्धान) तथा व्यवस्थापनका क्षेत्रमा ‘नेपालीकै क्षमता विकास गरी काम गर्नुपर्छ’ भन्ने अवधारणाका प्रवर्तक मानिन्छन् । यही कारण उनले मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणपछि जर्मनीको मानवस्रोत आउन नपर्ने गरी त्यहाँको सञ्चालन तथा व्यवस्थापन गरेका थिए । यस्तै, कुलेखानी जलविद्युत् केन्द्र निर्माणपछि अत्यावश्यक पर्दा बाहेक जापानी विज्ञहरू आउनु नपर्ने परिस्थिति सिर्जना गरेका थिए ।
प्राधिकरणकै सहायक एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडको ४ वर्ष नेृतत्व गर्दा उनले नेपालको इन्जिनियरिङ परामर्श क्षेत्रलाई नयाँ उचाइमा पुर्याएका थिए । उनको कार्यकालमा एनइए इन्जिनियरिङले ४ हजार मेगागाटभन्दा बढीका जलविद्युत् आयोजनाहरू र उच्च भोल्टेज क्षमताका प्रसारण लाइनहरूको डिजाइन गर्न सफल भएको थियो । यस्तै, फुकोट कर्णाली, जगदुल्ला, किमाथांका अरुण, मुगु कर्णाली जस्ता आयोजनाको अध्ययन स्वदेशी इन्जिनियरहरूबाटै सम्पन्न गराएका थिए ।
२०४५ सालमा इन्जिनियर पदबाट प्राधिकरणको सेवा प्रवेश गरेका शाक्य २०५२ सालमा खुला प्रतिस्पर्धाबाट ८औँ तहमा बढुवा भएका थिए । यस्तै, २०६९ सालमा निर्देशक (११औँ तह) भएका उनी २०७४ सालमा उपकार्यकारी निर्देशकमा बढुवा भएका थिए । प्राधिकरणको विद्युत् व्यापार, प्रणाली सञ्चालन, योजना, ठूलो जलविद्युत् आयोजना जस्ता विभागका प्रमुख (निर्देशक) भएर जिम्मेवारी निर्वाह गरेका थिए ।
विद्युत् व्यापार विभागको निर्देशक भएर उनले काम गरेको बखत नेपाल–भारत विद्युत् व्यापार सम्झौताका लागि भएका छलफलहरूमा अग्रणी भूमिका निर्वाह गरेका थिए । उक्त छलफलकै परिणाम स्वरूप २०७१ सालमा नेपाल–भारत ऊर्जा व्यापार सम्झौता सम्पन्न भएको थियो । कार्यदलको सदस्यका रूपमा उनले सन् २०१५ मा प्राधिकरणको प्रसारण प्रणाली गुरुयोजना र सन् २०१६ मा नेपाल–भारत सीमापार अन्तरआबद्धता योजना निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
एनइए इन्जिनियरिङको प्रबन्ध निर्देशकका रूपमा ३ वर्ष जिम्मेवारी सम्हालेपछि २०७७ माघ २६ गते कार्यकारी निर्देशक नियुक्त भएका उनले २०७८ साउनसम्म जिम्मेवारी सम्हालेका थिए । उनको करिब ६ महिनाको पहिलो कार्यकालमा प्राधिकरणले नेपालमै पहिलो पटक ४०० केभी ढल्केबर सबस्टेशन सञ्चालनमा ल्यायो । नेपालभित्रै पहिलो पटक २२० केभी प्रसारण लाइन (दाना–कुश्मा) सञ्चालनमा ल्यायो । नेपालमा हालसम्मकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासमेत उनकै कार्यकालमा सञ्चालनमा आएको हो । कोभिड–१९ को महामारी रहेको उनको पहिलो छोटोे कार्यकालमा पनि यस्ता महत्त्वपूर्ण कार्यहरू सम्पन्न भएका थिए ।
राष्ट्रिय योजना आयोगले उनकै नेतृत्वमा सन् २०१८ मा वितरित उत्पादन र सबैका लागि ग्रिड विद्युतीकरण (सुडिग्गा) योजना तयार पारेको थियो । उक्त योजनाले ७ प्रदेशका ७५३ वटै स्थानीय निकायमा १/१ मेगावाटका जलविद्युत् आयोजना विकास गरी स्थानीय सरकारलाई आत्मनिर्भर बनाउन सकिने दस्तावेज तयार गरेको थियो ।
उनले सन् २०१५ मा मिलेनियम च्यालेन्ज नेपाल (ओएमसिएन) को ऊर्जा क्षेत्र विशेषज्ञको रूपमा काम गरेका थिए । त्यसताका उनले तयार पारेको ऊर्जा क्षेत्र अवधारणा पत्र र प्रसारण लाइन परियोजना पछि मिलेनियम च्यालेञ्ज एकाउन्ट्स नेपाल (एमसिएएन) को अनुदान कार्यक्रमका लागि चयन भएको थियो । यसका साथै उनले विभिन्न वैदेशिक निकायबाट सञ्चालित विभिन्न परियोजनाको नेतृत्व तहमा रहेर काम गरेका थिए ।
उनले सन् २००० मा नेपालीद्वारा नै डिजाइन र निर्माण गरिएको पहिलो जलविद्युत् आयोजना चिलिमेको इलेक्ट्रिकल प्रणाली डिजाइन गरेका थिए । सन् २००६ मा माथिल्लो साञ्जेन र मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको इलेक्ट्रिकल प्रणाली डिजाइन गरेका थिए । यसअघि पनि उनले प्राधिकरणको स्वचालन (ओटोमेशन, स्काडा) प्रणाली, संरक्षण प्रणाली, जनेरेटर एक्सिटेशन, पावर लाइन क्यारियर संरचना जस्ता विशेषज्ञता क्षेत्रहरूको विशेषज्ञको रूपमा काम गरेका थिए । उनले चिलिमे हाइड्रोपावर कम्पनी, खुम्बु विद्युत् कम्पनीको बोर्ड सदस्य र सन् २०१४ मा मध्ये भोटेकोसी जलविद्युत् कम्पनीको अध्यक्षको रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए ।
नेपालको आफ्नै नवीन तथा स्वदेशी प्रविधि पहिचान र प्रवर्द्धन गर्न सक्रिय उनले सन् २०१३ मा समितिको सदस्य भएर राष्ट्रिय विद्युतीय तथा वातावरणमैत्री सवारी नीतिको मस्यौदा तयार गर्न, मिनी–ग्रिड इन्टरकनेक्सन योजना तयार गर्ने, विद्युतीय सवारी चार्जिङ मल्टिप्लेक्स साथै स्वदेशी फ्लोटिङ सोलार प्लान्ट डिजाइन गर्ने र स्वदेशी क्षमता विकास गर्ने जस्ता कार्यमा सहयोग गर्दै आएका थिए ।
हालैका दिनमा पनि उनी विद्युत् बजारको डिजाइन, राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा नयाँ डिजाइनका ट्रान्फर्मर विकास र साझा यातायातसँग जोडिएर विद्युतीय बस तथा ट्रकहरूबारे नवप्रवर्तनका कार्यहरूमा समेत सक्रिय रूपमा लागि परेका छन् । समग्रमा भन्दा शाक्य घिसिङको तुलनामा प्रविधिक रूपमा निकै अब्बल मानिन्छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा उनका विभिन्न शोधमूलक लेखहरूसमेत प्रकाशित छन् । हाल उनी नेपाल विद्युत् अभियान्ता समाजका कार्यकारी सचिव र नर्वे–नेपाल एलुम्नाइ एसोसिएसनका कार्यकारी सदस्यसमेत रहेका छन् ।
कोलोम्बो छात्रवृत्ति योजना अन्तर्गत भारत पश्चिम–बंगालस्थित दुर्गापुर विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका उनले छात्रवृत्तिमै नर्वेबाट विद्युत् प्रणाली व्यवस्थापनमा स्नातक गरेका छन् । काठमाडौँ विश्वविद्यालय (केयू) बाट स्नातकोत्तर गरेका उनले हाल केयूबाटै विद्यावारिधि गरिरहेका छन् ।