काठमाडौँ । विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै डाटा सेन्टरहरूको विद्युत् खपत उल्लेखनीय रूपमा बढ्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय ऊर्जा संघ (इन्टरनेशनल इनर्जी एजेन्सी - आइइए) का अनुसार हाल डाटा सेन्टरहरूले विश्वको कुल विद्युत् खपतको करिब १.५ देखि २ प्रतिशतसम्म हिस्सा ओगटेका छन् ।
उक्त खपतको दर सन् २०३० सम्म बढेर करिब ३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्राविधिक कम्पनीहरू जस्तैः गुगल, एमाजोन र माइक्रोसफ्टले सञ्चालन गर्ने १०० मेगावाट क्षमतासम्मका हाइपरस्केल डाटा सेन्टरहरूले करिब १ लाख घरधुरी बराबर विद्युत् खपत गर्ने गरेका छन् । यस्ता केन्द्रले दैनिक करिब २४ लाख युनिट र वार्षिक झण्डै ८७६ गिगावाट-घन्टा विद्युत् उपयोग गर्ने तथ्याङ्हरूले देखाएका छन् ।
एआई प्रविधिको प्रयोग बढ्दै जाँदा डाटा सेन्टरभित्रको ऊर्जा माग पनि असामान्य रूपमा बढेको पाइएको छ । परम्परागत सर्भर र्याकहरूले ५ देखि १५ किलोवाटसम्म ऊर्जा खपत गर्ने गरे पनि एआईका लागि प्रयोग हुने जिपियु (ग्राफिक्स प्रोसेसिङ युनिट) मा आधारित र्याकहरूले ४० देखि ६० किलोवाटभन्दा बढी ऊर्जा खपत गर्ने गरेका छन् । केही अत्याधुनिक र्याकहरूमा यो खपत १०० किलोवाटभन्दा माथि पुगेको छ, जसले ऊर्जा घनत्व र चिस्याउने आवश्यकतालाई थप चुनौतीपूर्ण बनाएको पनि तथ्यहरूले देखाएका छन् ।
डाटा सेन्टरभित्र प्रयोग हुने कुल विद्युत्मध्ये करिब ६० प्रतिशत आइटी उपकरण (सर्भर, स्टोरेज, नेटवर्क) मा खर्च हुने गरेको छ । यस्तै, ३० देखि ४० प्रतिशत चिस्याउने प्रणालीमा र करिब १० प्रतिशत ऊर्जा युपिएसजस्ता पावर इन्फ्रास्ट्रक्चरमा खर्च हुने गरेको छ । विशेषतः एआई प्रणालीका लागि लिक्विड कूलिङजस्ता प्रविधिहरू अपनाइए पनि कम दक्ष डाटा सेन्टरहरूमा अझै एयर कन्डिसनिङमा उच्च निर्भरता देखिन्छ ।
डाटा सेन्टरको माग केही क्षेत्रहरूमा अत्यधिक केन्द्रित हुँदा स्थानीय विद्युत् प्रणालीमा दबाब बढ्दै गएको समेत पाइएको छ । अमेरिकाको भर्जिनिया राज्यमा सन् २०२३ मा कुल विद्युत् आपूर्तिको करिब २६ प्रतिशत हिस्सा डाटा सेन्टरहरूले मात्रै उपभोग गरेका थिए । यसले विद्युत् पूर्वाधार विस्तारको आवश्यकतालाई थप तीव्र बनाएको देखिन्छ ।
यद्यपि, डाटा सेन्टरहरूको ऊर्जा दक्षता सुधार हुँदै गएको र केही हाइपरस्केल केन्द्रहरूले प्रभावकारी विद्युत् उपभोग (पावर युजेज इफेक्टिभनेस - पियुई) १.०८ सम्म पुर्याएका छन् । आगामी वर्षहरूमा अझै तीव्ररूपमा वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
गुगलले सन् २०२४ मा मात्र ३.०८ करोड मेगावाट-घन्टा विद्युत् खपत गरेको थियो, जुन सन् २०२० को तुलनामा दोब्बरभन्दा बढी हो । यसले पनि डाटा सेन्टर र एआई प्रविधिको बढ्दो ऊर्जा मागलाई स्पष्ट रूपमा देखाउँछ ।
विश्वका ऊर्जा विज्ञहरूका अनुसार डाटा सेन्टर अब केवल सूचना प्रविधि पूर्वाधारमात्र नभई उच्च ऊर्जा खपत गर्ने औद्योगिक संरचनाका रूपमा विकसित हुँदै गएका छन् । यसले भविष्यमा ऊर्जा योजना, विद्युत् पूर्वाधार विकास र वातावरणीय सन्तुलनमा गम्भीर प्रभाव पार्ने सङ्केत देखिएको छ ।
एजेन्सीहरूको सहयोगमा अनुवाद