विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले रसुवामा निर्माण गरको ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको प्राविधिक परिक्षण सफल भई एउटा युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध भएको छ ।

आमाछोदिङ्मो-५ मा निर्माण भएको आयोजनाको पहिलो युनिटबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको हुँदा भोलि (मंसिर ९) देखि बाँकी दुई वटा युनिटबाट पनि उत्पादन शरू हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिए ।

क्यास्केड मोडलमा निर्माण गरिएका पिकिङ रन अफ दि रिभर (आंशिकजलाशय) दुई आयोजनामध्ये सान्जेनबाट (माथिल्लो) २०८० भादौमा मसान्तमै सम्पन्न भई सोही वर्षको असोज २१ गतेबाट ११ के.भी. कन्टिन्जेन्सी प्रसारण लाइनमार्फत व्यापारिक उत्पादन भइरहेको छ ।  उक्त आयोजनाको विद्युत प्रवाहका लागि कम्पनी आफैँले ८ किलोमिटर ११ केभी डबल सर्किट प्रसारण लाइन तथा १३२/११ केभी सबस्टेसन निर्माण सम्पन्न गरेको थियो । यसपछि, चिलिमे-त्रिशूली ६६ केभी प्रसारण लाइनको सीमितताका कारण  करिब ८.५ मेगावाट विद्युत् वैकल्पिकरूपमा बिक्री गरी हालसम्म करिब ३० करोड रुपैयाँ आम्दानी गरिसकेको जनाइएको छ ।

सान्जेन तथा सान्जेन (माथिल्लो) दुवै आयोजनाको निर्माणकालमा आएको २०७२ सालको महा-भूकम्प, कोभिड -१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनु लगायत अवरोधका कारण निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन । हालै चिलिमे-त्रिशुली २२० के.भी. प्रसारण लाइन सम्पन्न हुने वित्तिकै दुवै आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको सिंहले बताए ।

नेपालमा निर्माणाधीन पिकिङमध्ये यो नमुना आयोजना रहेको कम्पनीको दाबी रहेको छ । सान्जेन माथिल्लोको हेडवर्क्समा करिब  ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने पिकिङ पोखरीको निर्माण गरिएको छ 

'उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने छ,' सिहले भने, 'पिकिङ पोखरीका कारण आयोजना मर्मत-सम्भार गर्न  र इमर्जेन्सी ब्रेकडाउनमा समेत विद्युत्‌गृह सञ्चालन गर्न सकिन्छ ।'

नेपालमा भएका क्यासकेड आयोजनामध्ये ईडीभी (इनर्जी डिसिपेन्टिङ भल्भ) जडान गरी माथिल्लो आयोजना मर्मत-सम्भार गर्दा तल्लो आयोजनाबाट निरन्तर विद्युत् उत्पादन गर्न सकिने कम्पनी सचिव घनश्याम श्रेष्ठले बताए । आगामी दिनमा यस्तो प्रविधि अन्य क्यासकेड आयोजनाले जडान गरी तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिने उनको भनाइ छ ।

उक्त  जर्मनीमा निर्माण भएको ईडीभीका कारण कम्पनीलाई आयोजना मर्मत-सम्भार समयका कारण हुने क्षति हुने र आर्थिक रुपमा ठूलो राहत पुग्ने श्रेष्ठले बताए । सोही विशेषताका कारण काठमाण्डौँ विश्वविद्यालयले उक्त आयोजनाको मोडल आफ्नो परीक्षण ल्याबमा मोडेल आयोजनाको रुपमा सञ्चालन गरेको छ । हाल नेपालमा विकास गरिएका क्यासकेड आयोजनामध्ये यो नमुना आयोजना रहेकोले जलविद्युत विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकास लगायत विषयमा अध्ययनरत विधार्थीहरूको प्रयोगात्मक अध्ययन अनुसन्धानका लागि समेत उपयोग हुन सक्ने अपेक्षा गरिएको छ ।

सान्जेन (माथिल्लो) को सिभिल निर्माण कार्य ईसीआई बज्रगुरु सीपीएल जेभीले, इलेक्ट्रो मेकानिकल निर्माण विश्वकै ठूलो टर्बाइन निर्माणकर्ता मध्येको चिनियाँ कम्पनी डोङफोङ ईलेक्ट्रिक कर्पोरेशनले र हाइड्रो मेकानिकल निर्माण स्वदेशी कम्पनी नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेडले गरेको हो । यी दुवै आयोजनाको विद्युत्‌ले हिउँदमा हुने प्रणालीको असन्तुलनलाई धेरै हदसम्म समाधान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

केही दिन अघि १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको समेत परीक्षण सफल भई उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा अवद्ध भइसकेको छ । यस आयोजनाले मंसिर महिनाभित्र व्यापारिक उत्पादन गर्ने लक्ष्य राखेको छ । यो सँगै रसुवामा चिलिमे जलविद्युत् कम्पनी अन्तर्गत निर्माण भएका ३ आयोजनाबाट १६८.३ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा आवद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३