विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

र्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले महिना अगाडि ‘विद्युत् विकासको मार्गचित्र, २०२३–२०३५ तयार गर्‍यो, जुन नेपाल सरकारले स्वीकृत गर्ने क्रममा रहेको बुझिन्छ । यसले नेपालको भविष्य परिवर्तन गर्न सक्ने शक्ति राख्छ भन्ने विश्वास छ । यो मार्गचित्रले १२ वर्षभित्र १५ हजार मेगावाट बिजुली छिमेकी देशमा निर्यात गर्ने र १३ हजार ५ सय मेगावाट आन्तरिक बजारमा खपत गर्ने प्रक्षेपण गरेको छ । यसका लागि ४६.५० अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने अनुमान छ ।

मार्गचित्रले २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखे पनि सरकारले विकास गर्ने आयोजनाहरू करिब ४ हजार ४ सय मेगावाट बराबरका मात्र छन् । यसको आधारमा आवश्यक पुँजीको निकै सानो अंशमात्र सरकारले व्यवस्था गर्दा हुन्छ । त्यसमा पनि करिब ४० अर्ब डलर उत्पादन क्षेत्रमै खर्च गर्नुपर्ने देखिन्छ । यस्तै, प्रसारण क्षेत्रमा करिब ५.५० अर्ब डलर र वितरणमा करिब १.२ डलरमात्रै व्यवस्था गर्नुपर्ने देखिन्छ ।

यी तथ्यहरू हेर्दा सरकारलाई धेरै आर्थिक भार थपिँदैन तर स्रोतहरूको खोजी गर्नुपर्छ । लगानीको जोहो गर्नु महइभ्वपूर्ण हुँदा–हुँदै उत्पादित विद्युत् कसरी खपत गर्ने भन्ने बढी चुनौती छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि छुट्ट्याइएको जुन कोटा छ, त्यो कसरी जान सक्छ ? यो ठूलो चुनौतीको विषय हो । प्रसारण लाइन कसरी विकास गर्ने वा भू–राजनीतिक व्यवस्थाले यसलाई कसरी असर पार्छ ? यी प्रश्नको जवाफ खोजेर सोही बमोजिम काम गर्नुपर्ने हुन्छ ।

नेपालले अहिले करिब ३ हजार मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । उता, जल तथा ऊर्जा आयोगको सचिवालयको प्रतिवेदन हेर्दा मिश्रित ऊर्जाको पाटोमा वैकल्पिक ऊर्जा समेत गर्दा ७.५ प्रतिशतमात्रै विद्युत्को हिस्सा छ । सन् २०२१ को विश्व बैंकको प्रतिवेदनमा विद्युत्को हिस्सा ५ प्रतिशतमात्रै छ । बाँकी ६५ प्रतिशत बायोमास र २८.५ प्रतिशत जीवाश्म इन्धन (डिजेल, पेट्रोल आदि) को रहेको छ । हामीले ५ प्रतिशतमात्रै रहेको विद्युत्को हिस्सालाई ८ गुणा बढायौँ भने मार्गचित्रले राखेको आन्तरिक खपत बल्ल हामी १३ हजार ५ सय मेगावाटको लक्ष्यमा पुग्न सक्छौँ । यसबाट जीवाश्म इन्धनमा आधारित सबै ऊर्जा विस्थापित भई आंशिकरूपमा बायोमास पनि विस्थापन हुन सक्छ ।

एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्रमा बिजुलीले के अर्थ राख्छ भन्ने अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसले देखाउँछ, आर्थिकरूपमा नेपालको कूल विद्युत् उत्पादन सम्भाव्यताको २० प्रतिशत (४३ गिगावाटको २० प्रतिशत) विकास गरेर बजारीकरण गर्न सकियो (त्यो भनेको करिब ९ हजार हाराहारी) भने त्यसले खूद कूल गार्हस्थ उत्पादन (जीडीपी) ८७ प्रतिशतले बढ्छ । एडिबी साउथ एसियन पेपर, गुणातिलके, २०२० ले यो नतिजा देखाएको छ । अतः हामीले उल्लेख्य मात्रामा जलविद्युत् उत्पादन गरेर आन्तरिक बजार र बाह्य बजारमा बेच्न सक्यौँ भने त्यसले देशको अर्थतन्त्रमा ठूलो फड्को मार्न सक्ने देखिन्छ ।

विद्युत् व्यापार र ऊर्जा सुरक्षा

ऊर्जा सुरक्षा भन्ने वित्तिकै नियमित विद्युत् आपूर्तिका साथै खरिदयोग्य मूल्य पनि हुनुपर्छ । जुनसुकै वा महँगो मूल्यमा विद्युत् वितरण गरेर ऊर्जा सुरक्षा भन्न मिल्दैन । ऊर्जा सुरक्षाका लागि सीमापार विद्युत् व्यापार कति महइभ्वपूर्ण छ भन्ने कुरा नेपालको पछिल्ला घटनाक्रमले समेत देखाएको छ । सुख्खायाममा नेपालले ७–८ सय मेगावाट बिजुली भारतबाट ल्याउन नसक्ने हो भने आपूर्ति कटौती गर्नुपर्ने अवस्था छ । यो अवस्था अझै केही वर्षसम्म रहिरहने देखिन्छ ।

नेपालमा विद्युत्को माग बर्खा र हिउँदमा करिब उस्तै १८००–२१०० मेगावाट छ । यहाँ उत्पादित विद्युत् पूर्णरूपमा खपत हुन नसक्दा बाहिर निर्यात गर्नैपर्छ । कतिपय सन्दर्भमा नेपालको बिजुली निर्यात गर्नै हुँदैन, यो अपराध हो भन्ने कुरा सुनिन्छ । हामी यो भाष्यमा मात्रै केन्द्रित हुनु हुँदैन । अर्थशास्त्रको सिद्धान्त अनुसार कुनै वस्तु उत्पादन भइसक्यो तर खपत गर्न सकिएन भने अर्थतन्त्रमा धक्का पुग्छ । बजार देशभित्र बाहिर जहाँ पनि हुन सक्छ ।

यद्यपि, नेपालमा उत्पादित विद्युत् पहिला देशभित्रै खपत गर्नुपर्छ । सरकार र निजी क्षेत्रको लक्ष्य पनि यही हो । विद्युत्को स्वदेशीका अतिरिक्त बाह्य बजार खोज्न सकिएन भने अर्थतन्त्र अगाडि बढ्दैन । आर्थिक वर्ष (आव) २०७९÷८० मा देशको अर्थतन्त्रको वृद्धिदर १.९ प्रतिशतमात्र थियो । आव २०८०÷८१ मा ३.३ प्रतिशतको वृद्धिदर प्रक्षेपण गरिएकोमा पहिलो ६ महिनामा करिब २.७ प्रतिशत थियो । यसमा मुख्य योगदान विद्युत् निर्यातकै छ ।

२०८० सालको बर्खामा नेपालबाट भारतमा करिब १५ अर्ब रुपैयाँको बिजुली निर्यात भएको छ । नेपालको व्यापारघाटालाई सन्तुलनमा राख्न यसले ठूलो भूमिका खेलेको छ । त्यो एउटा सामान्य उदाहरणमात्रै हो । हामी विद्युत् क्षेत्रमा बृहत् लक्ष्य लिएर अगाडि बढिरहेका छौँ । नेपालको अर्थतन्त्रमा सुधार ल्याउन वा देशको कायापलट गर्न जलविद्युत् विकास गर्नैपर्छ । अनि, देशभित्र यसको उपयोग गर्दै ऊर्जा मिश्रणमा विद्युत्को कूल हिस्सा ५०–६० प्रतिशत पुर्‍याएर ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नुपर्छ ।

आन्तरिक खपत वृद्धिका साथै सीमापार बजारमा बिजुली बेचेर विदेशी मुद्रा आर्जन गर्न सक्यौँ भने हाम्रो अर्थतन्त्र सुदृढ हुँदै जान्छ ।

(क) भारतको नवीकरणीय ऊर्जा विकास 

भारतले नवीकरणीय ऊर्जाको विकासलाई तीव्रता दिइरहेको छ । उसले सन् २०७० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य राखेको छ । यस्तै, सन् २०३० सम्म ५०० गिगावाट नवीकरणीय ऊर्जा प्रणालीमा जोड्ने कार्ययोजना अनुसार अगाडि बढेको छ । त्यहाँ जति सौर्य र वायु ऊर्जाको परिमाण थपिँदै छ, त्यति नै प्रणालीको दिगोपनका लागि जलविद्युत् चाहिन्छ । नत्र, यसले प्रणाली भरपर्दो हुनै सक्दैन र सञ्चालनमा ठूलो जटिलता थप्ने छ ।

नेपाल र भुटान जस्ता देशहरू, जसले जलविद्युत् उत्पादन गरी निर्यातको लक्ष्यसमेत लिई अगाडि बढेका छन्, तिनले भारतमा हुने विद्युत् प्रणालीको अस्थिरतालाई सहयोग पुग्ने जलविद्युत् निर्यात गर्ने हैसियत राख्छन् । यसर्थमा, हामीले आपूर्ति गर्ने जलविद्युत् अर्थात् स्वच्छ ऊर्जाको धेरै नै महइभ्व छ । अतः नेपालका लागि सीमापार विद्युत् व्यापारमा ठूलो अवसर देखिन्छ ।

(ख) अनावश्यक भण्डारण किन ? 

विद्युत् प्रणालीमा अनावश्यक भण्डारण (रिजर्भ किन राख्ने त ? नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भन्दै गर्दा यसमा २० प्रतिशत ‘रिजर्भ मार्जिन’ समेत राखिएको छ । सीमापार विद्युत् व्यापारमा जाने योजना बनिरहेको अवस्थामा किन ठूलो ‘स्पिनिङ रिजर्भ’ राख्ने ? जबकि, त्यस्ते रिजर्भ बराबरको विद्युत् आवश्यक पर्दा छिमेकी देशबाट तथा द्विपक्षीय सम्भौताका आधारमा आयात गर्न सकिन्छ । अतः सीमापार विद्युत् व्यापारले यस्तो ‘स्पिनिङ रिजर्भ’ घटाउन मद्दत पुग्छ । अन्यता, ‘स्पिनिङ रिजर्भ’को विद्युत् पनि बजारमा पुर्‍याउनुपर्ने योजना बनाउनुपर्छ, लगानीलाई अनुत्पादक बनाउनु हुँदैन ।

(ग) अवसर के त ? 

सरकारले तयार गरेको उल्लिखित मार्गचित्रले देशभित्र लगानीको वातावरण बनेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ता आउन उत्साहित देखिएका छन् । अब, त्यही अनुसार नीतिगत तहमा सुधार गरेर जानुपर्छ । ‘सन सेट ल’ ल्याउनुपर्छ भनेर भन्दै आइएको छ । कतिपय कानूनहरू निलम्बन नै गरेर जानुपर्छ । अब नेपालले एउटै दृढसंकल्पका साथ ऊर्जा उत्पादन गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हो । निजी क्षेत्रले विकास गर्न नसक्ने ठूला तथा जलाशय आयोजनामा राज्य अगाडि बढ्ने हो ।

राज्य सञ्चालक तथा राजनीतिक दलसँग इच्छाशक्ति र प्रतिबद्धता छ भने अहिलेको विश्वमा पुँजी (लगानी) ठूलो कुरा होइन । देशसँग ऋण तिर्न सक्ने आत्मविश्वास र कार्ययोजना छ भने लगानीको खाँचो हुँदैन । सीमापार व्यापारमा आज द्विपक्षीय व्यापार भइरहेको छ, निकट भविष्यमै यो त्रिपक्षीयमा जाँदैछ । बंगलादेशसँगको व्यापारको ढोका खुलिसकेको छ । अहिले हुन लागेको ४० मेगावाटको निर्यातले ठूलो फड्को मार्छ भन्न त नसकिएला तर यसले एउटा फलामे ढोका खोलेको छ । यसले क्षेत्रीय विद्युत् व्यापारका लागि सकारात्मक वातावरण बनाएको छ ।

(घ) दीर्घकालीन विद्युत्

सन् २०२४ को जनवरी ४ मा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् निर्यात सम्झौता भयो । यसमा ११ वटा दफा रहेका छन् । त्यसको दफा ५ मा भनिएको छ– १० वर्षमा नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत् निर्यात पुर्‍याउन असल प्रयत्न गरिने छ ।

त्यसैको दोस्रो भागमा उत्पादन र प्रसारण सँगैसँगै जानुपर्ने उल्लेख छ । सन् २०१४ मा भएको पिटिएमा एक देशले उत्पादन गरेको विद्युत् अर्को देशमा आयात वा निर्यात गर्न सक्ने उल्लेख छ । अतः गत जनवरीको सम्झौता त्यसैको विस्तारित रूप हो भन्न सकिन्छ ।यसका लागि संविधानले पनि अगाडि बढ्न मार्ग प्रशस्त गरेको छ । संविधानको धारा २७८ को उपधारा (१) मा नेपाल सरकारले अर्को देशसँग सन्धि सम्झौता गर्न पाउने भनिएको छ । यस्तै, धारा २७९ को उपधारा (१) मा त्यस्ता सन्धि÷सम्झौता नेपालको कानूनमा निर्धारण भएअनुसार स्वीकृति, समर्थन, अनुमोदन, सम्मिलन गर्नुपर्छ भनिएको छ । यी संवैधानिक व्यवस्थासँगै नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २० (घ) ले नेपाल सरकारको पूर्वस्वीकृति लिएर छिमेकी देशबाट विद्युत् किन्न वा बेच्न अधिकार दिएकै छ ।

यसैगरी, विद्युत् ऐन २०४९ को दफा २२ मा पनि अनुमतिपत्र प्राप्त निकायले सरकारको स्वीकृति लिएर विद्युत् आयात निर्यात गर्न सक्ने व्यवस्था उल्लेख छ । विभिन्न कालखण्डमा संसदका नामहरू फरक होलान् तर उसले नै कानूनी मान्यता दिइसकेको अवस्थामा फेरि त्यही विषय लिएर संसदमा गइरहन नपर्ने हुँदा सरकारले आफ्नो क्षेत्रभित्र रही उक्त दीर्घकालीन सम्झौता गरेको देखिन्छ ।

उता, नेपाल–भारतबीच २०१४ मा भएको पिटिए, सन् २०१५ मा भएको पेरिस सम्झौता र ग्लास्गोमा भएको कोप–२६ मा नेपालले सन् २०४५ मा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धतालाई समेत सहयोग पुर्‍याउने गरी उक्त सम्झौता भएको मान्नुपर्छ । सन् २०२३ फेब्रुअरी १७ र १८ मा भएको दुई देशका सहसचिव र सचिवस्तरीय बैठकमा पनि उक्त विषय उल्लेख गरिएको थियो ।

यसैगरी, सन् २०२२ मा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबाट ‘इन्डिया–नेपाल जोइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर को–अपरेसन’ जारी भएको थियो । नेपाल र भारतको विद्युत् उत्पादन र प्रसारणको क्षेत्रमा यसलाई ‘ब्लु प्रिन्ट’ पनि भनिएको छ । यो जारी हुने वित्तिकै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो शब्द प्रयोग गरेका थिए ।

यसमा ‘अन्तरदेशीय प्रसारण पूर्वाधारको विकास’ जस्ता शब्दावली प्रयोग गरिएको छ । यस्तै, विद्युत् व्यापारलाई द्विपक्षीयरूपमा बिबिआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) को तहसम्म लैजाने कुरा छ । उक्त ‘स्टेटमेन्ट’मा नवीकरणीय ऊर्जा विकासलाई प्राथमिकता दिँदै यसलाई पहिलो पटक जलवायु परिवर्तनसँग पनि जोडिएको छ । यस्तै, नेपाल–भारतको सहकार्यमा जलविद्युत् लगायत नवीकरणीय ऊर्जामा लगानी तथा विकासका कुरा समेटिएका छन् ।

बजारसम्मको निर्वाध पहुँचबिना अन्तरदेशीय विद्युत् व्यापार हुन नसक्ने विषय पनि ‘स्टेटमेन्ट’मा छ । त्यसमा द्विपक्षीयबाट त्रिपक्षीय र बहुपक्षीय बजारसम्म जान सकिने आधार तय गरिएको छ । भरपर्दो ग्रिड र लगानीको अभावलाई सम्बोधन गर्न समेत यो स्टेटमेन्ट महइभ्वपूर्ण मानिएको छ । एसी प्रविधिमा आधारित सीमापार विद्युत् व्यापार भएको हुँदा यसमा ‘हार्मोनाइज्ड ग्रिड कोड’ र ‘सिङ्क्रोनाइजेसन’ लगायत विषय पनि यसमा समावेश भएका छन् ।

(ङ) व्यापारको तयारी

सीमापार विद्युत् व्यापारमा गइरहँदा हाम्रा धेरै नीति–नियम, ग्रिड कोड लगायत पक्ष एकआपसमा गाँसिनुपर्छ । नीतिगत सुधारमा पनि नेपालले ध्यान दिनुपर्छ । विद्युत् क्षेत्रको पुनर्संरचनामा निकै पछाडि रहनु, नेपालको सबैभन्दा बढी खड्केको विषय हो । यो क्षेत्रको समय–सापेक्ष पुनर्संरचना नै हुन नसक्दा विद्युत् बजारको विकासमा नेपाल पछि परेको छ ।

वि.सं. २०४९ मा विद्युत् ऐन आयो । यो सँगै विद्युत् उत्पादनमा निजी क्षेत्र त आयो तर प्रसारण र वितरणमा आउन सकेको छैन, नयाँ विद्युत् ऐन संसादमै अड्केर बसेको छ । जबसम्म कानूनमार्फत प्रसारण, विद्युत् व्यापारमा निजी क्षेत्रलाई उत्पादन क्षेत्रमा जस्तै आकर्षित गर्न सकिँदैन, तबसम्म यस क्षेत्रको पुनर्संरचना हुन गाह्रो छ ।

सन् २०१६ देखि आजसम्म ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइन पूर्ण क्षमतामा प्रयोग गर्न सकिएको छैन । यो कम क्षमतामै चलाइएको छ । यसमा छिमेकीलाई मात्र दोष लगाउनुको कुनै अर्थ छैन । हामीले देशभित्रै प्रसारण पूर्वाधारहरू ठिकसँग निर्माण गर्न सकेका छैनौँ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन समयमा नसक्दा त्यसको असर पनि यसमा परेको छ । त्यस्तै, पूर्व–पश्चिम एवम् एमसीसी अन्तर्गत अगाडि बढाइएको प्रसारण संरचना पनि पूरा हुन आवश्यक छ । नेपालका विभिन्न नदी बेसिनमा उत्पादित विद्युत् सीमापार व्यापार हुने बिन्दुसम्म पुर्‍याउन सक्नुपर्‍यो । यसैले, यी चुनौतीमा हामीले ध्यान दिनैपर्छ ।

विद्युत् उत्पादन, प्रसारण र व्यापारमा लगानी र व्यावसायिक चुनौतीहरू त्यतिकै छन् । लगानीका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास कसरी भइरहेको छ ? यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । हिजो १ वा ५ मेगावाटसम्मका लागि बनाएका विद्युत् खरिद–बिक्री सम्झौताका भाका, व्यहोरा आज पनि त्यही छन् । त्यसमा समयानुकूल सुधार हुन सकेको छैन । अन्तर्राष्ट्रिय लगानीकर्ताले कस्ता प्रावधान खोज्छन् ? भुक्तानीका लागि कस्ता प्रत्याभूति चाहन्छन् ? विवाद समाधान कसरी होस् भन्ने ठान्छन् ?

आजको परिप्रेक्ष्यमा स्वदेशी तथा विदेशी लगानी र बजारलाई केन्द्रमा राखेर नीति–नियम ल्यानुपर्छ । अर्को देशसँग सीमापार प्रसारण लाइन निर्माण गर्दा कार्यान्वयन र लगानीको मोडालिटी के हो ? यी चुनौतीहरूबाट बाहिर निस्कन सकेनौँ भने सोचे अनुसार विद्युत् व्यापार पनि अगाडि बढ्न सक्दैन ।

(च) भू–राजनीति र ऊर्जा

आज, भूराजनीतिले संसारलाई नै गाँजेको छ । अवसरलाई प्रयोग गर्न जानेको खण्डमा यही भूराजनीतिबाट देशहरू समृद्ध भएका छन् । नजान्दा अर्थतन्त्र धराशायी भएका पनि छन् । सीमापार विद्युत् बजारले दीर्घकालीन क्षेत्रीय सहकार्यका लागि बाटो खोलेको छ ।

भर्खरै भारतका विदेश मन्त्री एस जयशंकरले भनेका छन्– दक्षिण एसियाको राजनीति तल र माथि भइरहन्छ । यही अवस्थामा भर परेर अल्झिरह्यौँ भने देश विकास गर्न सकिँदैन । हामी दीर्घकालीनरूपमा सहकार्य गरेर अगाडि बढ्न सक्यौँ भने सबै देशहरूको समृद्धि सम्भव छ ।

भारतले जारी गरेको जुन ‘निर्देशिका’ छ, त्यसमा अवश्य पनि भू–राजनीतिक गन्ध छ– विद्युत् व्यापारमा सहकार्यको सम्झौता नभएका र भू–सिमाना जोडिएका देशले आयोजनामा लगानी गरेमा वा सोको स्वामित्व वा नियन्त्रण राखेमा त्यस्तो बिजुली भारतले नकिन्ने उल्लेख छ । राजनीति र कूटनीतिक छलफलबाट नेपालले यसलाई प्रस्ट पार्नुपर्छ । नेपालले भारतीय संवेदनशीलता बुझेर त्यही अनुरूप समस्याको सौहार्दपूर्वक समाधान खोज्नुपर्छ ।

भारतसँग विभिन्न सम्झौता गर्दा वा नदी बेसिनका आयोजनाहरू भारतीय कम्पनीहरूलाई विकास गर्न दिँदा लेनदेनमा खरो उत्रिन सक्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासलाई अनुशरण गरेर अगाडि बढ्न सकियो भने यस्ता समस्या समाधान हुँदै जानेछन् । तोकिएभन्दा बाहिरको तेस्रो मुलुकद्वारा उत्पादित बिजुली नकिन्ने भनेकै दफामा भारतले चाहेमा ‘भारतको विदेश मन्त्रालय र विद्युत् मन्त्रालयसँगको छलफलमा यो व्यवस्थामाथि विचार गर्न सकिने छ’ भनिएको छ । अतः नेपालले यस्ता विषयमा भारतको लचकता खोज्नु अस्वाभाविक हुँदैन ।

नेपालले विद्युत् आयात–निर्यातका विषयमा भारतको नीतिगत प्रावधानमा ‘रिल्याक्ससेन’को दाबी गर्नुपर्‍यो । किनकि, नेपाल र भारतबीच २०१४ मा पिटिए भएको छ । त्यही वर्ष ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी को–अपरेसन (इलेक्ट्रिसिटी)’ मा हस्ताक्षर भयो । सन् २०२४ को शुरूमै भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्य राखेर दीर्घकालीन विद्युत् निर्यात सम्झौता भयो । यस परिप्रेक्ष्यमा ‘नेपालमा तेस्रो देशद्वारा उत्पादित विद्युत् निर्यात गर्न भारतले छुट दिनुपर्छ’ भनेर नेपालले प्रस्टसँग आफ्ना कुरा राख्नुपर्छ– ‘जुनसुकै देशले बिजुली उत्पादन गरोस्, त्यो नेपालको विषय हो । उत्पादन भइसकेको बिजुली बेच्न पाउनुपर्छ’ भन्नुपर्‍यो । यसबाट भारतलाई हानी नहुनेमा नेपालले विश्वस्त तुल्याउनु पर्‍यो । जलवायु परिवर्तनका दृष्टिकोणले नेपालको एक–एक युनिट स्वच्छ, हरित ऊर्जाको महइभ्व छ, दक्षिण एसियामा ।

(छ) साइबर सुरक्षा

साइबर सुरक्षाको विषय पनि धेरै महइभ्वपूर्ण छ । अन्तरदेशीय विद्युत् व्यापारको कुरा गर्नासाथ विभिन्न देशसँग प्रसारण लाइन जोडिने र विद्युत् उत्पादनगृहहरू प्रसारण लाइनमा आवद्ध हुने विषय पर्ने हुँदा साइबर सेक्यूरिटीको विषयमा पनि त्यसमा गाँसिन पुग्छ । अहिलेको समयमा विद्युत् मात्रै होइन, त्यहाँ तथ्याङ्क पनि प्रवाह भइरहेको हुन्छ । अन्तर्राष्ट्रिय परिदृश्यमा विद्युत् प्रणालीमा धेरै साइबर सुरक्षाका ‘थे्रट’हरूसमेत देखिएका छन् ।

यदि, कुनै मुलुकको संलग्नताले विद्युत् प्रणालीमा ‘थ्रेट’ पैदा गरिदियो भने सिङ्गो प्रणालीले नै काम नगर्ने, त्यसका उपकरणहरू नष्ट हुन सक्ने अवस्था आउन सक्छ । यसैले, संरचना वा प्रणाली डिजाइन गर्दा नै धेरै कुरामा ध्यान पुर्‍याउनु पर्छ । नेपालले साइबर ‘थ्रेट’को सङ्केत पहिल्यै दिने प्रविधि जडान गर्नुपर्छ । भारत वा जोसँग हामीले विद्युत् व्यापार गर्दैछौँ, उनीहरूले पनि त्यही प्रविधि बनाएर एउटा समन्यायिक कार्ययोजनामा काम गर्नुपर्छ ।

साइबर सुरक्षाका दृष्टिकोणले पनि भारत लगायत दक्षिण एसियाली देशहरू दीर्घकालीन सहकार्यमा जुट्न आवश्वक देखिन्छ । ऊर्जा कूटनीतिमा ऊर्जा क्षेत्रमा साइबर सेक्यूरिटीको विषय पनि प्रमुख मुद्दाका रूपमा उठाउनुपर्छ ।

लेखक, ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ हु्न् । यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३