काठमाडौँ । गएको भदौ २३ र २४ गते जेन–जेड आन्दोलन भयो । ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालतजस्ता दर्जनौँ सरकारी तथा सार्वजनिक सम्पत्ति जलेर खरानी भए । सयौँ सार्वजनिक पदमा रहेका व्यक्तिका समेत घर जलाइए । यसक्रममा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घर पनि २४ गते जलेर खण्डहर बनेको छ ।
यो पनि पढ्नुहोस्ः प्राधिकरण कार्यकारी निर्देशकको दुखेसो : मैले ‘रगत-पसिना’ बगाएर बनाएको घर थियो, कुन रिसले जलाइयो ?
आफूले कुनै राजनीतिक आस्थातिर लागेर वा अनुचित काम गरेर स्रोत नजोडेको र आफ्नै रगत–पसिना जलेकोमा यसमा दुःख प्रकट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा कुलमान घिसिङ आएपछि उनले शाक्यलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयको विशिष्ट श्रेणीमा सरुवा गरिएको छ ।
यो पनि पढ्नुहाेस्: दुई इन्जिनियरबीचको हार्दिकता : प्राधिकरणका कार्यकारी निर्देशकद्वारा नवनियुक्त ऊर्जा मन्त्रीलाई सफलताको कामना
शाक्यले प्राधिकरणमा खाइपाइ आएको तलब–भत्ता तथा सुविधा आयोग सचिवालयमा पनि यथावत रहने जनाइएको छ । मन्त्रालयका अनुसार शाक्यले प्राधिकरणमा व्यावसायिक भत्ताबापत दुई लाख २१ हजार १९० रुपैयाँसहित मासिक दुई लाख ९४ हजार ९२० रुपैयाँ प्राप्त गर्दै आएका थिए । शाक्यले ‘अहिलेसम्म मन्त्रालयत्रबाट सचिवालयमा हजिर गर्नू’ भन्ने कुनै पत्र तथा मौखिक जानकारी नआएको बताए । उनलाई असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणबाट मन्त्रालय सरुवा गर्ने निर्णय गरेको थियो ।



















