काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई सफलताको शुभकामना व्यक्त गरेका छन् । शाक्य हाल देश बाहिर रहेको र मन्त्रीको पदभार ग्रहण कार्यक्रममा सहभागी हुन सकेका थिएनन् ।
शाक्यले भदौ ३१ गते मंगलबार सामाजिक सञ्जाल (फेसबुक) मार्फत ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका घिसिङलाई नयाँ नेपालको क्षेत्रगत मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा बधाई दिएका छन् । यसअघिको सरकारले प्राधिकरणमा घिसिङको कार्यकाल सकिन करिब ४ महिना बाँकी छँदै हटाएर शाक्यलाई नियुक्त गरेको थियो । त्यसअघि पनि २०७८ सालमा केपी शर्मा ओलीको सरकारले घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो ।
घिसिङ र शाक्य यस क्षेत्रका क्षमतावान इन्जिनियरको रूपमा चिनिन्छन् । एक अर्काबीच व्यक्तिगत सम्बन्ध सुमधुर रहे पनि यी दुवै पछिल्लो करिब एक दशकमा सरकारको निर्णयकाे बीचमा परेर पिसिँदै आएका छन् ।