काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘जेन–जेड’ आन्दोलनका क्रममा आफ्नो घर जलाइएकोमा अत्यन्त दुःख प्रकट गरेका छन् । आफूले कुनै राजनीतिक आस्थातिर लागेर वा अनुचित काम गरेर स्रोत नजोडेको र आफ्नै रगत–पसिना जलेको भन्दै यस्तो भाव प्रकट गरेका हुन् ।
जेनजीले आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीले भदौ २४ गते शाक्यको ललितपुर युएन पार्क नजिक रहेको घर जलाएका थिए । भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा २३ गते (सोमबार) शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेनजी युवालाई प्रहरीले गोली हानी हत्या गरेपछि आक्रोशित भीडले देशका सार्वजनिक तथा निजी सम्पत्तीमाथि तोडफोड र आगजनी गरेका थिए ।
सोही क्रममा आगो लगाउँदा घर तथा भित्रका महत्त्वपूर्ण सामानसहित उनको सवारी पनि जलेर नष्ट भएको छ । ‘एक वर्ष अफगानिस्तानमा काम गरेर फर्केपछि २०६७ सालमा त्यो घर बनाएको थिएँ, त्यो कुनै पार्टीको स्रोत थिएन, मेरो ‘रगत-पसिना’ थियो,’ ऊर्जा सम्बन्धी एक कार्यक्रममा भाग लिन फ्रान्स पुगेका शाक्यले मोबाइल कुराकानीमा दुःख व्यक्त गरे, ‘अब फर्केर कहाँ बस्ने टुङ्गो छैन, धन्न छिमेकीले खबर गरेको हुँदा श्रीमती सुरक्षित रहिन् ।’
‘छिमेकीहररूका अनुसार आगो लाग्नु अगाडि घरभित्रका सामान लुटेर लगेको’ जानकारी पाएको उनले बताए । २०८१ साल चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा पुगेका शाक्यलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सालो’ भन्दै बदनाम गर्ने गरिएको छ ।
इलामका स्थायीबासी शाक्यलाई अनुमानका भरमा ओली पत्नी राधिका शाक्यको ‘भाइ नातो’ लाउँदै हरेक कुरामा भौतिक आक्रमण गर्नेदेखि चारित्र हत्या गर्ने काम हुँदै आएको छ । झन्डै ३ दशक प्राधिकरणको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनी प्राविधिकरूपमा सक्षम व्यक्तिमा गनिन्छन् ।
प्राधिकरणको ३ दशक लामो सेवाकालमा राजनीतिक आस्थाका आधारमा कतै पनि ढल्केको नसुनिएका हितेन्द्रलाई जबर्जस्ति एमाले घोषित गर्दै निवर्तमान प्रधानमन्त्री ओलीसँग जोडी नै रहेको छ । घर जलाइरहेको भिडियोमा पनि ‘ओलीको सालो’ भन्दै अनेक गालीगलौज गरिएको छ ।
केही हदसम्म शाक्यलाई बदनाम गर्ने काम प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङबाट पनि भएको देखिन्छ । घिसिङले पहिलो पटक कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरेपछि दोस्रो पटक शाक्यलाई नै विस्थापित गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भर्याङ चढेर फर्किए ।
शाक्यले आफूलाई जबर्जस्ति पदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे र झण्डै ४ वर्षसम्म उनको सुनुवाई भएन । सत्तामा पुनः ओली फर्केपछि उनले घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरण प्रमुखको जिम्मेवारीमा नियुक्त गरे । ओली सरकारको पालामा नियुक्ति खानु नै हितेन्द्रका लागि सबैभन्दा ठूलो अपिसाप बनिदियो ।
विगतमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को जिम्मेवारी पूरा गरेका, अफगानिस्तान लगायत विदेशमा समेत रहेर काम गरेका थिए । प्राधिकरणभित्रै पनि उनी उत्पादन (चिलिमेमा आयोजनामा काम गरेको), प्रसारण, विद्युत्गृह सञ्चालन, विद्युत् व्यापार विभाग, प्रणाली सञ्चालन जस्ता विभिन्न विभागमा रहेर काम गरिसकेका छन् ।