पछिल्लो समय एकपछि अर्को गर्दै दैनिकजसो विद्युत् आपूर्ति अवरोधमा बल पुग्ने घटना बढ्दैछन् । यसले जनमानसमा विभिन्न आशंका जन्माएको छ । गत चैत ३१ गते विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसनमा रहेको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति दिन र बन्द गर्न प्रयोग हुने ब्रेकर प्यानलमा आगलागी भयो ।
उक्त घटना रहस्यमय देखिएको भन्दै यसबारे सत्यतथ्य अध्ययन गर्न ७ दिनको समय तोकेर (बैशाख ३ गते बुधबार) प्राधिकरणले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । वैशाख ३ गते राति मोरङको सुन्दरहरैँचा नगरपालिका–२ जोगियारेमा ११ केभी लाइनमा जडान भएको विद्युत् ट्रान्सफर्मर चोरी भयो । यसले सो क्षेत्रमा विद्युत् अवरुद्ध हुन पुग्यो ।
लगत्तै वैशाख ४ गते बिहीबार बिहानै प्राधिकरणको १३२/३३/११ केभीको ढल्केबर सबस्टेसनको करेन्ट ट्रान्सफर्मरमा आगो लाग्यो । यसबाट सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही गरी ४ वटा जिल्लामा केही घन्टा विद्युत् अवरुद्ध हुन पुग्यो ।
वैशाख ६ गते शनिबार सर्लाहीको बागमती नगरपालिका–११ सखुवनीमा रहेको ५० केभिए क्षमताको विद्युत् ट्रान्सफर्मर चोरी भयो । सिँचाइका लागि गाडिएको डिप बोरिङमा विद्युत् दिन समेत प्रयोगमा ल्याएको उक्त ट्रान्सफर्मर चोरी भएपछि सेवाग्राही मारमा परेका छन् ।
प्राधिकरणमा नेतृत्व परिवर्तन हुनासाथ आम उपभोक्ताको विद्युत् सेवामै अवरोध पुग्ने गरी बढेका यस्ता घटनाले विभिन्न आशंका जन्माएका छन्, जुन स्वाभाविक पनि छ ।
मुख्यतः यी घटना प्राकृतिक हुन् वा कसैद्वारा नियोजित । यसमा शङ्का उब्जिएको छ । प्राधिकरणले छानबिन समिति गठन गर्नुले पनि यही तथ्यलाई इङ्गित गर्दछ । कसैलाई कुशल वा असल र खराब प्रमाणित गर्ने चाहनाबाट अमुक व्यक्ति वा तत्त्वको उक्साहटमा पनि यस्ता घटना हुन सक्छन् । देशको विद्युत् आपूर्ति व्यवस्थालाई तहसनहस पारेर नाजायज लाभको सपना देख्ने पक्षबाट पनि यस्ता काम भएका हुन सक्छन् । किनकि, देशको राजनीतिक घटनाक्रम, समय र परिवेश पनि ठीक चलिरहेको छैन ।
अर्कोतर्फ, उच्च भोल्टेजको विद्युत् प्रवाह हुने उपकरणमा कहिलेकाहीँ प्राविधिक त्रुटि नआउने होइन । प्राविधिक त्रुटिले पनि ब्रेकर प्यानलमा स्पार्क हुने, ट्रान्सफर्मर पड्किने, तार जल्ने लगायत समस्या आउन सक्छन् । त्यसो हुँदा यी सबै घटनाको मिहिन छानबिन गरी तथ्यहरू केलाउँदै सत्य नपहिल्याएसम्म यस्ता घटनाको आशङ्का निवारण हुन सक्दैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ र सिङ्गो सरकारले नै यसतर्फ ध्यान दिनुपर्ने देखिएको छ ।
विद्युत् सेवामा अवरोधका यस्ता घटना कसरी भए ? यो आशङ्का निवारणको पाटो एकातिर छ । अर्कोतिर, यस्ता घटनापछि तत्काल विद्युत् आपूर्ति सुचारु गर्न र भविष्यमा दोहोरिन नदिने वातावरण बनाउनु पनि प्राधिकरणका लागि चुनौतीको विषय बनेको छ ।
प्रसारण तथा वितरण उपकरणमा प्रवाह भइरहेको करेन्टको ‘लोड क्याल्कुलेसन’ गरी त्यही अनुसार चुस्त व्यवस्था मिलाउनुपर्छ । ‘लोड म्यानेजमेन्ट’ गर्ने, दिगो तथा उच्च गुणस्तरको उपकरण प्रयोग गरी दिगो प्रसारण तथा वितरण पूर्वाधार विकास गर्ने प्राधिकरणको दायित्व हो । त्यस्तै, जडित उपकरणको अवस्थाबारे समय–समयमा निरीक्षण एवम् सुपरिवेक्षण गर्नुपर्छ । आवश्यक मर्मतसम्भार, नयाँ उपकरण जडान गरी व्यवस्थित पार्नु पर्दछ ।
पछिल्लो समय ग्रामीण र दुर्गम तथा विकट क्षेत्रका हरेक मानव वस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत विद्युतीकरण गर्ने काम प्राथमिकताका साथ अघि बढाएको छ । विद्युत्को पहुँच शतप्रतिशत पु¥याउने सरकारको लक्ष्य पूरा गर्ने दिशामा भइरहेका काम प्रशंसनीय छन् । त्यस्तै, सहरी क्षेत्रमा वितरण लाइन भूमिगत गर्ने कार्य अघि बढाइरहेको छ । यो काम गर्दा अझ बढी संवेदनशील हुनुपर्ने छ ।
पोल र टावरमार्फत जमिनमाथिबाट लगिने लाइनको तुलनामा भूमिगत लाइन विस्तारको लागत निकै ठूलो हुन्छ । त्यस्तै, प्रवाह भएको करेन्ट चुहिँदा हुने क्षति अझ बढी हुन सक्छ । यसबाट विद्युतीय दुर्घटना बढ्न सक्छन् । मर्मतसम्भार र उपकरण परिवर्तनमा ठूलो खर्च व्यहोर्नुपर्ने हुन सक्छ । दिगो भूमिगत लाइन विस्तारमा पनि प्राधिकरणको भूमिका प्रभावकारी हुनुपर्ने देखिएको छ ।
समग्र वस्तुस्थितिको अध्ययन र विश्लेषण गरी तत्काल घटेका घटनाको समाधान गर्दै दिगो समाधानतर्फ अगाडि बढ्नु अपरिहार्य छ । त्यसका लागि मानवीय त्रुटिका प्वाल टाल्नु, प्राविधिक जनशक्तिलाई चुस्त दुरुस्तरूपमा परिचालन गर्नु र द्रुत निर्णय क्षमतासहितको व्यवस्थापनको विकल्प देखिँदैन । यस काममा प्राधिकरणको वर्तमान नेतृत्व तथा व्यवस्थापनले अठोटका साथ कदम चाल्नुपर्छ ।