विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवद्र्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत  यो साता हामीले विद्युत् ट्रान्सफर्मरको काम र यसका प्रकारका साथै अन्य विविध विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता हामीले विद्युत् सर्किटमा प्रयोग हुने रिले र यसका प्रकारबारे जानकारी दिएका थियौँ ।

१. ट्रान्सफर्मरले के काम गर्दछ ?

ट्रान्सफर्मरले भोल्टेजलाई धेरैबाट थोरै वा थोरैबाट धेरैमा बदल्दछ । यो ट्रान्सफर्मर पनि साधारणतः दुई किसिमको हुन्छ । एउटा पावर ट्रान्सफरमर र अर्को डिस्ट्रीब्युसन ट्रान्सफर्मर । विद्युत् गृह वा सबस्टेसनमा जडान हुने ठूला ट्रान्सफर्मरलाई पावर ट्रान्सफर्मर भनिन्छ भने गाउँ शहरमा जडान हुने ट्रान्सफर्मरलाई डिस्ट्रीब्युसन ट्रान्सफर्मर भनिन्छ । यी दुवैको बनोटमा भने केही फरक हुन्छ । ट्रान्सफर्मरको दुई मुख हुन्छ । एउटालाई हाई भोल्टेज साइड र अर्कोलाई लो भोल्टेज साइड भन्दछन् । हाइभोल्टेज साइडमा ठूला इन्सुलेटरहरू हुन्छन् । यसैमा हाई भोल्टेजको तार जोड्नु पर्दछ । हाई भोल्टेजको तार भन्नाले ११ हजार भोल्ट ६६ हजार भोल्ट वा १ लाख ३२ हजार वा सो भन्दा बढी भोल्टको तार बुझाउँछ ।

यसरी एकातर्फ हाई भोल्टेजको लाइन जोड्यो भने अर्कोतर्फ लो भोल्टेज निस्कन्छ । खास गरेर डिस्ट्रीब्यूसन ट्रान्सफर्मरको ‘लो टेन्सन साइड’तर्फ चारवटा इन्सुलेटरहरू हुन्छन् । सबभन्दा दाहिनेतर्फको न्युट्रल हुन्छ र बाँकी ३ वटा चाहिँ फेज हुन्छन् । हाइटेन्सन साइडतर्फको इन्सुलेटरलाई एचटी बुसिङ भन्छन् भने लो टेन्सन साइडतर्फको बुसिङलाई एलटी बुसिङ भन्छन् ।

ट्रान्सफर्मरभित्र ट्रान्सफर्मर तेल, क्वायल र फलामको ठूलो ढिक्का (आइरन कोर) हुन्छ । तारको थुप्रै फन्कोलाई क्वायल भन्दछन् । मान्छेले सास फेरे जस्तै ट्रान्सफर्मरले पनि सास फेर्छ । यो सास फेर्ने काम ब्रेदर भएर हुन्छ । ब्रेदरमा सेतो/निलो जस्तो देखिने मसिना दानाहरू (सिलिका जेल) हुन्छन्, यसले सास फेर्दा हावामा रहने साना पानीको कणहरूलाई सोस्दछ । ट्रान्सफर्मर भित्र पानी पर्‍यो भने ट्रान्सफर्मर जल्दछ ।

ट्रान्सफर्मर तेलले ट्रान्सफर्मरलाई चिसो पार्ने र बिजुलीलाई ट्रान्सफर्मरको ‘बडी’बाट छुनदेखि बचाउने काम गर्दछ । कन्जरभेटर ट्याङ्कमा पनि आधा भन्दा बढी तेल हुन्छ यस ट्याङ्कमा सीसाको झ्याल हन्छ । त्यसबाट तेल कति छ भन्ने थाहा पाउन सकिन्छ । कन्जरभेटर ट्याङ्कलाई सजिलोका लागि आयल ट्याङ्क पनि भन्ने गरिन्छ । आधुनिक सो ट्याङ्कमा मिटर हुन्छ, जसले तेलको लेभल देखाइरहेको हुन्छ ।

२. ट्रान्सफर्मरका प्रकार

प्रयोजन अनुरूप ट्रान्सफर्मर पनि विभिन्न प्रकारका हुन्छन् :

(१) वितरण (डिस्ट्रीब्यूसन) ट्रान्सफर्मर : यो घर वा कारखानामा विद्युत् आपूर्ति गर्न प्रयोग हुन्छ ।

(२) स्टेप अप/स्टेप डाउन ट्रान्सफर्मर : इनपुटभन्दा आउटपुट भोल्टेज बढी हुने ट्रान्सफरमरलाई स्टेप अप ट्रान्सफर्मर भन्दछन् भने इनपुटभन्दा आउटपुट भोल्टेज कम हुने ट्रान्सफरमरलाई स्टेप डाउन ट्रान्सफर्मर भन्दछन् । खास गरेर विद्युत् गृहको उत्पादन भोल्टेज कम हुन्छ र यसलाई स्टेपअप ट्रान्सफर्मरको सहायताले भोल्टेज बढाएर ट्रान्समिशन लाइन हुँदै सबस्टेशनसम्म लगिन्छ र सबस्टेशनमा स्टेप डाउन भोल्टेज ट्रान्सफर्मरको सहायताले भोल्टेज कम गरिन्छ ।

(३) पावर ट्रान्सफर्मर : पावर ट्रान्सफर्मर विद्युत्गृह वा सबस्टेशनमा प्रयोग गरिन्छ र सो ठाउँको यो महत्त्वपूर्ण अङ्ग हो । यसले नै भोल्टेजलाई माथि वा तल लगी पावर एक ठाउँबाट अर्को ठाउँ पठाउने वा ल्याउने काम गर्दछ ।

(४) अटो ट्रान्सफर्मर : यो एउटा वाइन्डिङ भएको ट्रान्सफर्मर हो । यसले वाइन्डिङको केही भाग साझा वाइन्डिङ्गका रूपमा (प्राइमरी र सेकेन्डरी दुवै) काम गर्दछ । यस प्रकार यस ट्रान्सफर्मरमा अन्य ट्रान्सफर्मरमा जस्तो प्राइमरी र सेकेन्डरी क्वायल छुट्टाछुट्टै हुँदैन ।

(५) भेरिएबल भोल्टेज ट्रान्सफर्मर : यसको प्राइमरी साइडमा जोडिएको भोल्टेज निश्चित हुन्छ तर यसबाट निस्कने सेकेन्डरी भोल्टेज परिवर्तनशील हुन्छ । यसको प्रयोग खास गरेर टेष्टिङ्ग प्रयोगशालामा गरिन्छ ।

(६) आयल कुल्ड/ड्राइ टाइप ट्रान्सफर्मर : प्रायः ट्रान्सफर्मर आयल कुल्ड नै हुन्छ तर विशेष प्रकारकोमा भने हावाले चिसो पार्ने पनि हुन्छ जस्तै स–साना वेल्डिङ ट्रान्सफर्मरहरु ।

(७) कोर/सेल टाइप ट्रान्सफर्मर : ट्रान्सफर्मरको यो आन्तरिक बनावट हो । नेपाल विद्युत् प्राधिकरणले प्रयोगमा ल्याएको ट्रान्सफर्मर कोर टाइपकै हो । सेल टाइपको ट्रान्सफरमरमा कोरले प्रायः जसो वाइन्डिङ्गलाई ढाकेको हुन्छ तर कोर टाइपमा भने प्रायः जसो बाइन्डिङ्गले नै कोरलाई ढाकेको हुन्छ । कोर टाइप सिङ्गल फेज ट्रान्सफर्मरमा कोरको दुईटा खुट्टा हुन्छ भने सेल टाइपमा तीनवटा । यस प्रकार दुवै प्रकारमा आ–आफ्ना विशेषताहरू छन् । अर्को कुरो, सेल टाइपको भन्दा कोर टाइपको ट्रान्सफर्मर मर्मत गर्न धेरै नै सजिलो हुन्छ र तसर्थ जहाँ पनि सजिलै मर्मत गरिन्छ । तर सेल टाइपकोमा पनि केही फाइदाहरू छन्ः सेल ट्रान्सफरमरमा राखिएका क्वायलहरू कोर टाइपको भन्दा बढी सुरक्षित हुन्छन् । साथै यसको लिकेज रिएक्टेन्स पनि कोर ट्रान्सफर्मरभन्दा कम हुन्छ ।

(८) आउटडोर/इनडोर ट्रान्सफर्मर : घर/टहराभित्र राखिने ट्रान्सफर्मरलाई इनडोर टाइप भन्दछन् भने बाहिर खुला आकाशमुनि राखिनेलाई आउटडोर टाइप ट्रान्सफर्मर भन्दछन् । खास गरेर कुलिङ र बुसिङको हकमा भने यी दुवै प्रकारका ट्रान्सफर्मरमा केही भिन्नता हुन्छ ।

बहु–वैकल्पिक प्रश्नहरू

(१) कोर लस भनेको के हो ?

(क) हिस्टेरेसिस लस
(ख) एडी करेन्ट लस 
(ग) कपर लस
(घ) (क) र (ख) दुवै

उत्तर : (क) र (ख) दुवै

(२) ट्रान्सफर्मरले मुख्यतः के परिवर्तन गर्दछ ?

(क) पावर
(ख) पावर फ्याक्टर
(ग) भोल्टेज
(घ) फ्रिक्वेन्सी

उत्तर : भोल्टेज

(३) भोल्टेज स्थिर राखी फ्रिक्वेन्सी मात्र बढाएको अवस्थामा यसले कोर लसमा के प्रभाव पार्दछ ?

(क) बढ्दछ
(ख) घट्दछ
(ग) स्थिर रहन्छ
(घ) यी मध्ये कुनै पनि होइनन्

उत्तर : बढ्दछ

(४) ट्रान्सफर्मरको ब्रेदरमा रहेको सिलिका जेलको काम के हो ?

(क) पानीको कण सोस्ने
(ख) तेलको कण सोस्ने
(ग) हावा सोस्ने
(घ) यी कुनै पनि होइनन्

उत्तर : पानीको कण सोस्ने

(५) ट्रान्सफर्मरको क्षमता जनाउन कुन इकाई प्रयोग गरिन्छ ?

(क) भीए/केभीए/एमभीए
(ख) भोल्ट
(ग) एम्पिएर
(घ) किलो वाट

उत्तर : भीए/केभीए/एमभीए

(६) ट्रान्सफर्मरको टेप चेन्जरबाट के कुराको नियन्त्रण गरिन्छ ?

(क) करेन्ट
(ख) भोल्टेज
(ग) पावर
(घ) करेन्ट र पावर दुवै

उत्तर : भोल्टेज

(७) बुकहोल्ज रिले कुन उपकरणको सुरक्षाको लागि प्रयोग गरिन्छ ?

(क) सर्किट ब्रेकर
(ख) ट्रान्सफर्मर
(ग) क्यापेसिटर बैंक
(घ) अल्टरनेटर

उत्तर : ट्रान्सफर्मर

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३