काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले विद्युत् चुहावटका विषयमा जानकारी प्रस्तुत गरेका छौँ । अघिल्लो साता विद्युत् वितरण प्रणाली र वितरण लाइनका विषयमा जानकारी दिएका थियौँ ।
(१) विद्युत् चुहावट भनेको के हो ?
उत्तर : साधारण भाषामा भन्नु पर्दा विद्युत्गृहले उत्पादन गरेको विद्युत् युनिट र ग्राहकले खपत गरेको युनिटको बीच हुने फरक नै विद्युत् चुहावट हो । उदाहरणका लागि विद्युत्गृहले १०० युनिट उत्पादन गर्यो तर ग्राहकले खपत गरेको युनिट ८० मात्र देखियो भने १००–८०=२० युनिट चुहावट भयो । यो चुहावटलाई उत्पादनको बिन्दुदेखि ग्राहकको घरसम्मको दूरीको बीच भएको बुझ्नु पर्दछ ।
अचेल प्रत्येक सबस्टेसनबाट सहर वा गाउँ जाने ११ केभी वा ३३ केभी लाइनको बिजुली परिमाण थाहा पाउन सबस्टेसनमै इनर्जी मिटर राखिएको हुन्छ । यो इनर्जी मिटरले त्यो लाइनबाट सहर वा गाउँमा कति युनिट विद्युत् गइरहेको छ भनी रेकर्ड राखिएको हुन्छ । मानौँ, सबस्टेसनमा जडान भएको इनर्जी मिटरले १० हजार युनिट देखाउँछ र सो लाइनबाट सहर वा गउँमा रहेका घर तथा उद्योगहरूमा जडान भएका मिटरले देखाएको खपत जोड्दा कुल ८ हजार ५०० यूनिट आयो भने १०,००० – ८५०० = १५०० यूनिट चुहावट भयो । यो चुहावट सबस्टेसनदेखि ग्राहकको घरसम्म विद्युत् वितरण गर्ने क्रममा भएको बुझ्नु पर्दछ ।
(२) विद्युत् चुहावट कति प्रकारका हुन्छन् ?
उत्तर : विद्युत् चुहावटले उत्पादनकर्ता, वितरक वा ग्राहक कसैलाई पनि फाइदा गर्दैन, नोक्सान नै गराउँछ । यो चुहावट दुई प्रकारको हुन्छ : एउटा प्राविधिक चुहावट (टेक्निकल लस) र अर्को गैरप्राविधिक चुहावट (नन– टेक्निकल लस)
(क) प्राविधिक चुहावट (टेक्निकल लस) : विद्युत् शक्ति बग्ने कन्डक्टरले पनि विद्युत् ऊर्जा सोस्दछ, जसलाई हामी प्राविधिक चुहावट भन्दछौँ । कसैको घरमा कम भोल्टेज हुनु अथवा साँझपख ट्यूब्लाइट नबल्नु पनि प्राविधिक चुहावट हो । अर्को शब्दमा भन्ने हो भने ‘भोल्टेज ड्रप’को प्राविधिक चुहावटसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । जति बढी भोल्टेज ड्रप भयो, उति बढी चुहावट हुन्छ । निम्न उपायहरू अपनाएर प्राविधिक चुहावट कम गर्न सकिन्छ :
(ख) गैर–प्राविधिक चुहावट (नन–टेक्निकल लस) : घर/उद्योगमा जडान भएको इनर्जी मिटरले जति खपत देखाउनु पर्ने हो सो भन्दा कम खपत देखाउने काम विभिन्न तरिका अपनाई गरेमा र यस प्रकार हुने चुहावटलाई अप्राविधिक चुहावट (नन–टेक्निकल लस) भन्दछन् । कोहीले मिटरको ढक्कनमा लगाइने सिल चुडालेर ढक्कन खोली भित्रको पुर्जाहरू चलाई चक्काको गति नै कम पारेर मिटरले कम खपत देखाउने पार्दछन् । कसैले मिटरको टर्मिनल सिल तोडी मिटरलाई वाइपास गरी अर्थात् मिटरभित्रैबाट करेन्ट नबगाएर मिटर बाहिरैबाट करेन्ट बगाउने तरिका अपनाउँछन्, यसो गर्दा मिटर घुम्दैन अर्थात् खपत युनिट देखाउँदैन । केहीले बाहिरको तारबाट सोझै अंकुशे लगाएर विद्युत् चोर्दछन् । यस प्रकार विद्युत् चोरी गर्ने विभिन्न तरिकाहरू छन्, यी सबै दण्डनीय अपराध हुन् ।
बहु–वैकल्पिक प्रश्नहरू
(१) पोलदेखि घरको मिटरसम्म लगिने तारलाई साधारणतया के भन्ने गरिन्छ ?
(क) सर्भिस केबुल
(ख) नेकेड केबुल
(ग) ओभरहेड केबुल
(घ) पावर केबुल
उत्तर : सर्भिस केबुल
(२) ४०० भोल्टको वितरण प्रणलीमा सबभन्दा मुनिको तारलाई के भन्दछन् ?
(क) आर फेज
(ख) वाई फेज
(ग) न्युट्रल
(घ) बि फेज
उत्तर : न्युट्रल
(३) एउटा बल्बलाई दुई ठाउँबाट बाल्न–निभाउन कस्तो र कतिवटा स्वीच चाहिन्छ ?
(क) एकतर्फी – दुई स्वीच
(ख) एकतर्फी र दुईतर्फी – दुई स्वीच
(ग) दुईतर्फी – एक स्वीच
(घ) दुईतर्फी – दुई स्वीच
उत्तरः दुईतर्फी – दुई स्वीच
(४) पोल गाड्न कति गहिरो खन्नु पर्दछ भन्ने कुरा केमा भर पर्दछ ?
(क) पोलको माेटाइमा
(ख) पोलको लम्बाइमा
(ग) पोलको लम्बाइ र माेटाइ दुवैमा
(घ) कुनै पनि होइन
उत्तर : पोलको लम्बाइ र माेटाइ दुबैमा
(५) २३०/३८० भोल्ट वितरण लाइनमा धेरै प्रयोग हुने इन्सुलेटर कुन हो ?
(क) पिन इन्सुलेटर
(ख) स्याकल इन्सुलेटर
(ग) डिस्क इन्सुलेटर
(घ) स्टे इन्सुलेटर
उत्तर : स्याकल इन्सुलेटर
(६) नेपालमा वितरण तथा ट्रान्समिसनमा कुन भोल्टेज हुँदैन ?
(क) ११० केभी
(ख) ११ केभी
(ग) ३३ केभी
(घ) ६६ केभी
उत्तर : ११० केभी
(७) आवासीय क्षेत्रको डिस्ट्रिब्युसन कस्तो प्रकारको हुन्छ ?
(क) सिङ्गल फेज
(ख) थ्रीफेज, थ्री वायर
(ग) थ्रीफेज, फोर वायर
(घ) माथिका कुनै पनि होइन्न
उत्तरः थ्रीफेज, फोर वायर