काठमाडौं । नेपालमा जलविद्युत् विकासको इतिहासले १०९ वर्ष पार गरिसक्यो । अहिलेसम्म ४०० केभीको सबस्टेसन निर्माण भएको थिएन । १९६८ सालमा फर्पिङ विद्युत्गृह निर्माणपछि अहिलेसम्म पहिलो पटक ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइन ४०० केभीमा सञ्चालन भएको छ ।
सरकारको ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको यो जिआइएस प्रविधिमा आधारित स्वचालित सबस्टेसन हो । प्रदेश २ धनुषाको मिथिला नगरपालिका–७ मा निर्माण भएको सबस्टेसनमा ३१५ एमभिएका ३ थान ४००÷२२० केभीका ट्रान्सफर्मर तथा ८० एमभिएको एउटा ४०० केभी रियाक्टर जडित छ ।
यस सबस्टेसनबाट करिब ९०० मेगावाट विद्युत् ४०० केभी र २२० केभीमा आदानप्रदान गर्न सकिन्छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी सीमापार प्रसारण लाइनमार्फत भारतसँग करिब १००० मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ ।
यस्तै, हेटौंडादेखि इनरुवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि करिब २००० मेगावाटसम्म विद्युत् हेटौंडातर्फ र सोही परिमाण इनरुवातर्फ ल्याउन लैजान सकिनेछ ।
सबस्टेसनमा जडान भएका ३१५ एमभिएका दुई थान २२०÷१३२ केभी र १६० एमभिएका दुई थान २२०÷१३२ केभी ट्रान्सफर्मरमार्फत करिब ९०० मेगावाट विद्युत् २२० केभीबाट १३२ केभीमा आदानप्रदान गर्न सकिन्छ ।
यसैगरी, निर्माणाधीन राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनबाट ढल्केबरको यही सबस्टेसनमा ल्याउन सकिन्छ । यसपछि पूर्व–पश्चिम प्रसारण तथा वितरण गर्न सकिनेछ ।
पूर्व–पश्चिम ४०० केभीको प्रसारण लाइन निर्माण नभएसम्म हालको १३२ केभी लाइनबाट करिब ३०० मेगावाट पूर्व र पश्चिमतर्फ प्रसारण हुन सक्छ । साथै, १५० मेगावाट यही सबस्टेसन र प्रसारण लाइनमार्फत भारततर्फ बेच्न सकिनेछ ।
यस ४००÷२२० केभी सबस्टेसन निर्माण गर्न २०७४ मंसिर २२ गते (सन् २०१७ डिसेम्बर ८) ठेक्का सम्झौता भएको थियो । करिब ३ वर्षमा निर्माण पूरा भई गत कात्तिक २६ गतेबाट सञ्चालनमा आएको छ ।
सबस्टेसनका विशेषता
१. जिआइएस प्रविधिमा आधारित स्वचालित ४०० केभी भोल्टेजको देशकै पहिलो सबस्टेसन ।
२. नेपाल–भारतबीच निर्माण भएको ४०० केभी पहिलो सीमापार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत दुवै देशबीच करिब १००० मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने ।
३. ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् ४०० केभी सबस्टेसनमार्फत देशको पूर्व–पश्चिम क्षेत्रमा प्रसारण गर्न तथा जगेडा विद्युत् भारत निर्यात गर्न सकिने ।
४. यस ४०० केभी जिआइएस सबस्टेसन भविष्यमा थप विस्तार (एक्सटेन्सन) गर्दै लैजान मिल्ने गरी निर्माण गरिएको छ । सोही बमोजिम अरुण तेस्रोबाट नेपालले पाउने निशुल्क ऊर्जा ढल्केबर सबस्टेसनमा प्राप्त गर्ने प्रावधानअनुसार सबस्टेसन विस्तारको काम सुरु भइसकेको ।
५. सबस्टेसन १३ विघा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको ।
६. सबस्टेसनमा ४०० केभीका २ वटा फिडर इनरुवातर्फ, २ वटा हेटौंडातर्फ, २ वटा मुजफ्फरपुरतर्फ, ३ वटा फिडर ट्रान्सफर्मरतर्फ, एउटा फिडर रियाक्टरतर्फ र बाँकी जगेडा फिडरहरू रहेका ।
७. सबस्टेसनमा २२० केभीमा खिम्तीबाट आउने २ वटा फिडरमार्फत माथिल्लो तामाकोसीको विद्युत् आपूर्ति हुने ।
८. देशको पहिलो ४०० केभी सबस्टेसन भए पनि यसको डिजाइन परीक्षण र निर्माण सुपरिवेक्षण नेपाली इन्जिनियरहरूले गरेका छन् । विद्युत् प्राधिकरण र सरकारका निकायको संयुक्त लगानीमा स्थापित एनइए इन्जिनियरिङ कम्पनीले ४००÷२२० केभी सबस्टेसनको सुपरिवेक्षण गरेका हुन् । जसले देशको इन्जिनियरिङ क्षमता उच्चस्तरको रहेको प्रमाण ।
याे पनि पढ्नुहाेस् : देशकै ठूलो स्वचालित सबस्टेसन प्रधानमन्त्रीबाट उद्घाटन हुँदै, के–के छन् विशेषता ?
लागत तथा खर्च
आयोजना सम्पन्न गर्न १ करोड ७७ लाख ४० हजार अमेरिकी डलर र करोड रुपैयाँ सहित करिब २ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । यस्तै, २२०÷१३२ केभी सबस्टेसन निर्माण सम्पन्न गर्न करिब ६९ लाख डलर र २८ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये प्रसारण लाइन र सबस्टेसनमा विश्व बैंकको १३ करोड ८० लाख डलर ऋण सहयोग छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण आयोजना सम्पन्न गर्न केही बढी समय लागेको थियो । विशेषतः चीनबाट उच्च भोल्टेजका परीक्षण उपकरण केरुङ नाका हुँदै ल्याउँदा नाकामा धेरै समय रोकिएका थिए ।