विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

याे आलेख तयार पार्दासम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत् कम्पनीको सङ्ख्या ८७ पुगेको छ । यसको अर्थ सङ्ख्यात्मक हिसाबले नेपालको सेयर बजारमा सबैभन्दा धेरै जलविद्युत् समूहका कम्पनी छन् भन्ने हो । तपाईं सेयर बजारको नियमित लगानीकर्ता हुनुहुन्छ भने कुनै न कुनै जलविद्युत् कम्पनीको सेयर तपाईंसँग हुनुपर्छ ।

उसो भए, तपाईंले जलविद्युत् कम्पनीको सेयर खरिद गर्ने निर्णय गर्दा केलाई आधार बनाउनु भयो ? कम्पनीको आधारभूत वित्तीय पक्षलाई हेर्नुभयो ? कम्पनीको भविष्यलाई हेर्नुभयो ? कम्पनीको सेयर बजारमा कारोबार भएको मूल्यलाई हेर्नुभयो ? हल्लाको पछाडि नलाग्ने सचेत लगानीकर्ताले सेयर बजारमा किनबेचको निर्णय गर्दा कुनै न कुनै आधार लिने गर्छन् । यस आलेखमा जलविद्युत् समूहका कम्पनीको आधारभूत पक्षलाई हेर्ने प्रयास गरिएको छ ।

सेयरमा लगानी गर्ने भनेको नाफा कमाउनका लागि हो । सेयर बजारमा सहभागीलाई सामान्यतः दुई तरिकाले लाभ प्राप्त हुन्छ । एक, लगानीकर्ताले किनेको भन्दा बढी मूल्यमा बिक्री गरेर पुँजीगत लाभ प्राप्त गर्न सक्छन् । दुई, कम्पनीले प्रदान गर्ने लाभांशबाट पनि लगानीकर्तालाई फाइदा हुन्छ ।

लाभांश प्राप्तिको उद्देश्यले सेयर खरिद गर्नेहरूले कम्पनीको आधारभूत पक्षलाई हेर्छन् । यस्ता लगानीकर्ताले लामो (कम्तीमा एक वर्षभन्दा बढी) समयका लागि सेयर खरिद गरेका हुन्छन् । कम्पनीको व्यवसाय के हो ? ऋण–धन कति छ ? आम्दानी कति गर्छ ? खर्च कति गर्छ ? नाफा–नोक्सानको अवस्था के छ ? भन्नेमा उनीहरूको चासो हुन्छ ।

आम्दानी, नाफा र नगद प्रवाहको राम्रो ट्र्याक रेकर्ड भएको कम्पनीको खोजी गर्नु बुद्धिमानी हुन्छ ।  लगानीकर्ताले चासो दिनुपर्ने अर्को महत्त्वपूर्ण विषय ऋण (डेट) र स्वपुँजी (इक्विटी) अनुपात हो । न्यून डेट र इक्विटी अनुपातलाई अनुकूल मानिन्छ । हाम्रोमा यस किसिमको अध्ययन अनुसन्धान गरेर लगानी गर्ने चलन बसिसकेको छैन ।

सूचीकृत कम्पनीहरूका हकमा यस किसिमको विश्लेषण गर्दा आम्दानी, खर्च, नाफा–नोक्सानका रकमहरूलाई निरपेक्ष ढंगले हेरिन्छ नै त्यसबाहेक कम्पनीको स्टक एक्सचेन्जमा कारोबार भइरहेको बजार मूल्यको सापेक्षमा पनि अध्ययन गरिन्छ । अझै सम्बन्धित क्षेत्रका प्रतिस्पर्धी कम्पनी र सेयर बजारमा कारोबार भइरहेका अन्य कम्पनीसँग पनि तुलना गरिन्छ ।

यहाँ जलविद्युत् समूहका कम्पनीको स्टक एक्सचेन्जमा २०८० कात्तिक २० गतेसम्म कारोबार हुँदाको समयसम्म उपलब्ध केही वित्तीय सूचकहरूको चर्चा गरिएको छ ।

सेयरको बजार मूल्य र वृद्धि 

सबैलाई जानकारी भएको विषय हो, हाल सेयर बजार ओरालो लागिरहेको छ । अरु क्षेत्रका कम्पनीको जस्तै जलविद्युत् कम्पनीको पनि बजार मूल्य घटेको छ । कुनै बेला ३२०० सम्म पुगेको समग्र बजार परिसूचक नेप्से अहिले २००० वरिपरि घुमिरहेको छ । संयोगवश कात्तिक २० गतेको कारोबारमा जलविद्युत् क्षेत्रका ८७ मध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको थियो । कारोबार भएका ५ कम्पनीको सेयर मूल्य ५०० रुपैयाँभन्दा माथि थियो, ३०० देखि ४०० रुपैयाँको बिचमा कारोबार हुने कम्पनीको सङ्ख्या २२ थियो, २०० देखि ३०० रुपैयाँको बीचमा ३४ र २०० रुपैयाँभन्दा कममा कारोबार हुने कम्पनीको सङ्ख्या २६ थियो ।

जलविद्युत् कम्पनीमध्ये सेयरको सबैभन्दा बढी बजार मूल्य ७५७ रुपैयाँ थियो भने सबैभन्दा कम १२२ रुपैयाँ थियो । चलाख लगानीकर्ताले सेयर किनबेचको निर्णय गर्दा बजार मूल्य र इतिहासलाई हेर्नैपर्छ । यद्यपि खरिद वा बिक्री कारोबारका लागि सेयरको बजार मूल्य विवरण र इतिहास मात्रै हेरेर पुग्दैन ।

प्रतिसेयर आम्दानी 

प्रतिसेयर आम्दानी कुनै पनि कम्पनीलाई मूल्याङ्कन गर्ने सबैभन्दा सरल सूचक हो । कम्पनीको खुद आम्दानी (नाफा) लाई सेयर सङ्ख्याले भाग गरेपछि प्रतिसेयर आम्दानी प्राप्त हुन्छ । यसलाई समान प्रकृतिका अन्य कम्पनी वा सेयर बजारका सबै कम्पनीसँग तुलना गर्न सकिन्छ । अथवा, आफूले कारोबार गर्न चाहेको कम्पनीकै विगत र वर्तमानमा प्रतिसेयर आम्दानी कति छ ? भविष्यमा कति हुन सक्छ ? भन्ने सामान्य विश्लेषण पनि गर्न सकिन्छ । प्रतिसेयर आम्दानी जति धेरै भयो त्यति राम्रो ।

जलविद्युत् कम्पनीमध्ये ६ वटाको प्रतिसेयर आम्दानी १० देखि २० रुपैयाँ छ । यसैगरी, २४ वटा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा कम छ । अधिकांश (४७) कम्पनीको प्रतिसेयर आम्दानी शून्य वा ऋणात्मक छ भने १० वटाको विवरण उपलब्ध छैन ।

बुक भ्यालु

नेप्सेमा सूचीकृत कम्पनीको सेयर बजारमा एउटा मूल्यमा कारोबार भइरहेको हुन्छ भने उक्त सेयरको आन्तरिक (अन्तर्निहित) मूल्य अर्कै हुन सक्छ । अंग्रेजीमा बुक भ्यालु (नेट वर्थ) र नेपालीमा किताबी मूल्य (खुद मूल्य) भनिने यो सूचकलाई बोलीचालीको भाषामा सेयरको खास मूल्य वा वास्तविक मूल्य भन्न सकिन्छ । कम्पनीको सेयरको किताबी मूल्यभन्दा स्टक एक्सचेन्जमा कारोबार हुने मूल्य कहिले बढी हुनसक्छ, कहिले कम । सचेत लगानीकर्ताले सकेसम्म वास्तविकभन्दा बजारले कम मूल्याङ्कन गरेको सेयर पहिल्याएर खरिद गर्नुपर्छ ।

सूचीकृत जलविद्युत् कम्पनीमध्ये ३६ वटाको प्रतिसेयर किताबी मूल्य १०० देखि २०० रुपैयाँको बीचमा छ, ४१ वटाको ४० रुपैयाँदेखि १०० रुपैयाँको बिचमा छ । ९ वटा कम्पनीको विवण उपलब्ध छैन भने एउटा कम्पनीको प्रतिसेयर किताबी मूल्य एक रुपैयाँको हाराहारीमा छ ।

पिइ रेसियो

वित्त साहित्यमा मूल्य–आम्दानी अनुपात (पिइ रेसियो) लाई कम्पनीले समीक्षा अवधिमा गरेको आम्दानीलाई र बजारमा चलिरहेको सेयरको मूल्यसँग दाँजेर हेर्ने सूचकका रूपमा व्याख्या गरेको पाइन्छ । कुनै कम्पनीको आम्दानीलाई हेरेर लगानीकर्ताले सेयरलाई कति मूल्य तिर्न तयार भएका छन् भन्ने पनि यो सूचकले बताइरहेको हुन्छ । यसले लगानीकर्ताको अपेक्षालाई पनि प्रतिबिम्बित गर्छ भनिन्छ । सेयर बजारमा लगानीकर्ताको मनोबलले ठूलो भूमिका खेलेको हुन्छ । कुनै वस्तुगत कारण बिना पनि सेयरको मूल्य तलमाथि गरिरहेको हुन्छ । यसैले, अन्य लगानीकर्ताको अपेक्षा के छ भन्ने जानिराख्नु पनि उचित हुन्छ ।

सामान्यतः मूल्य–आम्दानी अनुपात २० सम्म हुनुलाई सुरक्षित मानिन्छ । मूल्य–आम्दानी अनुपात २० भन्दा जति माथि हुन्छ जोखिम त्यति नै बढ्दै जान्छ । यो सूचकका आधारमा जलविद्युत् क्षेत्रका सबैजसो कम्पनीबाट लगानीकर्ताले बढी अपेक्षा गरेको देखिन्छ ।

तीन वटा जलविद्युत् कम्पनीको पिइ रेसियो २० देखि ३० को सीमाभित्र छ । सूचीकृत मध्ये २१ कम्पनीको पिइ रेसियो ३० भन्दा माथि र सयभन्दा कम छ । सयभन्दा माथि १० हजारसम्म पिइ रेसियो हुने कम्पनीको सङ्ख्या १३ छ । अधिकांश जलविद्युत् कम्पनीको आम्दानी ऋणात्मक भएकाले पिई रेसियो गणनाले अर्थ राख्दैन । आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये ४७ कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक वा शून्य बराबर भएको चर्चा माथि पनि गरिएको छ ।

पिबी रेसियो

सेयरको बजार मूल्य र किताबी मूल्यको अनुपात (पिबी रेसियो) कारोबार निर्णयका लागि सहयोग गर्ने एक अर्को महत्वपूर्ण सूचक हो । कुनै कम्पनीको पिबी रेसियो १ (एक) भन्दा कम छ भने बजारले उक्त कम्पनीको सेयरको कम मूल्याङ्कन गरिरहेको छ भन्ने हुन्छ । पिबी रेसियो १ (एक) भन्दा बढी छ भने बजारले कम्पनीको सेयरको बढी मूल्याङ्कन गरिरहेको छ भन्ने हुन्छ । परम्परागत रूपमा यो सूचकको मान ३ हुँदासम्म सेयर खरिद गर्न उचित हुन्छ भन्ने मान्यता रहिआएको छ । अर्थात्, कुनै कम्पनीको सेयरको पिबी रेसियो ३ रहेको छ भने त्यस्तो सेयर खरिदलाई सुरक्षित मानिन्छ । अब यो मापदण्डमा हाम्रा जलविद्युत् कम्पनीको सेयरलाई हेरौँ ।

स्टक एक्सचेन्जमा सूचीकृत भएका झण्डै आधा (४८ प्रतिशत) कम्पनीको पिबी रेसियो २ देखि ३ को बीचमा छ । पिबी रेसियो ४ भन्दा बढी भएका कम्पनी २३ प्रतिशत, १ देखि २ को बीचमा भएका कम्पनी १८ प्रतिशत र विवरण उपलब्ध नभएका कम्पनी १० प्रतिशत छन् ।

सेयरमा प्रतिफल 

नेपाली लगानीकर्ताले कम चासो दिने अर्को वित्तीय सूचक हो, सेयरमा प्रतिफल (रिटर्न अन इक्विटी) । यसले सेयरधनीले कम्पनीमा लगाएको पुँजी बापत कति प्रतिफल पाइरहेका छन् भन्ने देखाउँछ । यसको अर्थ यो प्रतिफल दर जति धेरै भयो कम्पनीको सेयर त्यति नै आकर्षक हुन्छ । 

हाल अधिकांश (५७ प्रतिशत) सूचीकृत जलविद्युत् कम्पनीको सेयरमा प्रतिफल दर शून्य वा ऋणात्मक छ । सूचीकृत ८ प्रतिशत जलविद्युत् कम्पनीका सेयरधनीले एक प्रतिशतभन्दा कम प्रतिफल दरमा चित्त बुझाउनुपर्ने अवस्था छ । यसैगरी, १९ प्रतिशत जलविद्युत् कम्पनीले मात्र १ देखि ५ प्रतिशतसम्म सेयरमा प्रतिफल प्राप्त गर्ने गरी आम्दानी गरिहेका छन् । बाँकी १५ प्रतिशत जलविद्युत् कम्पनीले ५ देखि १३ प्रतिशतसम्म सेयरमा प्रतिफल पाइरहेका छन् ।

सम्पत्तिमा प्रतिफल

कम्पनीको स्वामित्वमा भएका सबै किसिमका भौतिक तथा अभौतिक सम्पत्तिको लगानीबाट कति प्रतिफल प्राप्त भइरहेको छ भन्ने कुराको जानकारी सम्पत्तिमा प्रतिफल दरले दिन्छ । यो सूचकमा पनि हाम्रा लगानीकर्ताले खासै चासो दिएको पाइँदैन । यो सूचक र सेयरमा प्रतिफल दरको नतिजा लगभग उस्तै छ । अधिकांश सूचीकृत जलविद्युत् कम्पनीको सम्पत्तिमा प्रतिफल दर शून्य वा ऋणात्मक छ ।

ऋण–स्वपुँजी अनुपात

सामान्य चेतको विषय के हो भने जति थोरै ऋण भयो त्यति राम्रो । व्यक्तिगत जीवन र सार्वजनिक दुवैमा यो कुरा लागु हुन्छ । ऋणलाई उत्पादनशील कार्यमा लगाउन सकिएन भने त्यसले ठूलो वित्तीय भार सिर्जना गर्छ र अन्ततः ऋणीलाई धराशयी बनाउन सक्छ । यसैले, वित्तीय संसारमा कुनै कम्पनी कति स्वपुँजीमा र कति ऋण लिएर चलेको छ भन्ने विषयमा निकै चासो दिइन्छ ।

नेपालका अधिकांश जलविद्युत् कम्पनीको पुँजी संरचनामा ऋणको अंश बढी छ । सूचीकृत जलविद्युत् कम्पनीको डेट इक्विटी रेसियोको अध्ययन गर्दा २३ वटामा मात्र ऋणभन्दा स्वपुँजीको अंश बढी भएको देखिन्छ । ४ वटामा ऋण र स्वपुँजीको हिस्सा लगभग बराबर छ, २९ वटाले स्वपुँजीको डेढ गुणादेखि २ गुणासम्म ऋण लिएका छन् । स्वपुँजीको २.५ गुणादेखि ५ गुणासम्म ऋण लिने कम्पनीको सङ्ख्या १९ छ भने ३ वटाले ५ गुणाभन्दा बढी ऋण लिएका छन् । अन्य कम्पनीको विवरण उपलब्ध छैन ।उल्लिखित वित्तीय सूचकबाहेक लगानीकर्ताले जलविद्युत् कम्पनीको पाइपलाइनमा परियोजना छ कि छैन ? सञ्चालित परियोजनाको उत्पादन लागत (प्रतिमेगावाट) कति हो ? विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) कतिमा भएको छ ? परियोजना सरकारलाई फिर्ता गर्न कति समय बाँकी छ ? लगायतका कुरा बुझ्नुपर्छ ।

कम्पनीको सञ्चालक तथा व्यवस्थापक को हुन् ? उनीहरूको ट्र्याक रेकर्ड कस्तो छ ? संस्थागत सुशासनको अवस्था कस्तो छ ? भन्ने विषयमा पनि लगानीकर्ताले चासो राख्नुपर्छ । कस्तो नियामकीय वातावरणमा जलविद्युत् कम्पनीले काम गरिरहेका छन् ? वर्तमान नियामकीय परिदृश्य र यसले भविष्यमा कम्पनीलाई  गर्न सक्ने असरको सामान्य जानकारी राख्दा लगानीकर्तालाई राम्रो हुन्छ । जलविद्युत् क्षेत्रको विशिष्ट जोखिम, प्राविधिक परिवर्तनका कुरालाई पनि ख्याल गर्नुपर्छ । लगानीका लागि उपलब्ध अन्य विकल्पका बारेमा पनि सोचविचार गर्नुपर्छ । भावनात्मक कुराको पछि लाग्ने र भीडलाई पछ्याउने मानसिकताले तपाईंको लगानीलाई जोखिममा पार्न सक्छ ।

पराजुली नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रवक्ता हुन् । यो लेखमा कुनै कम्पनीको सेयर खरिद–बिक्रीका लागि सिफारिस गरिएको छैन । याे लेख २०८० साल पुस १ गते प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिका पाँचाै अंकबाट साभार गरिएकाे हाे ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३