काठमाडौँ । काठमाडौँको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकाेसी तथा सुनकाेसी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी को लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ । सबस्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ ।
करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै केही स्थानीयबाट सबस्टेसन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) तथा पूरक आइइईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेसन निर्माणस्थल छनोट गरिएको थियो । स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको छ ।
खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरू रहने भवनलगायतका सिभिल संरचनाहरूको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरणहरूको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् ।
तामाकोसी–काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचनाहरूको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरूको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणहरूको जडान सुरु हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरूलाई निर्देशन दिए ।
‘स्थानीय समस्याका कारण सबस्टेसन निर्माणमा केही ढिला भयो तर हालसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सम्बोधन गरिरहेका छौँगर्दै जानेछौँ ।’
तामाकाेसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौँ आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिने छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा गरिएको छ । करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।
त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ ।उक्त टावरहरू लप्सीफेदी क्षेत्रमै पर्दछन् । करिब ४२ किलोमिटर तार तानिएको छ । तामाकाेसी–काठमाडौँ प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताए । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत्लाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।
नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।
लप्सीफेदी–चाँगुनारायण निर्माणमा अझै अवरोध
लप्सीफेदी सबस्टेसनबाट काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण अगाडि बढाइको लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध अझै हट्न सकेको छैन । प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा करिब ७ वर्षअघिदेखि निर्माण प्रभावित हुँदै आएको छ । यसका कारण प्रसारण लाइन निर्माण नै सुरु हुन सकिरहेको छैन ।
आयोजनाअन्तर्गतको चाँगुनारायण १३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ तर विद्युत् आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेसन सञ्चालनमा आउन सकिरहेको छैन । उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालिएपछि मुख्य रूपमा काठमाडौँको पूर्वीभेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । हाल उक्त क्षेत्रमा चावहिल सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।