काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माणबारे सार्वजनिक सुनुवाइ हुने भएको छ । उक्त लाइन प्राधिकरणको स्वामित्वमा रहको त्रिशूली ३बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइनको टावर नम्बर ३७/२ (धुनिवेशी–१ खाल्टेटार) बाट ट्यापिङ गरी यसै नुवाकोटको ककनी हुँदै आयोजनाअन्तर्गत निर्माण काठमाडौँको तरकेश्वर–३ कोट गाउँमा निर्माण हुने तीनपिप्ले सबस्टेसनमा जोड्ने प्रस्ताव गरिएको छ । लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयार गर्ने कार्यका लागि उक्त सार्वजनिक सुनुवाइ गर्न लागिएको हो ।
प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरापालिका–३ कोटगाउँमा प्रस्तावित तीनपिप्ले सबस्टेसन नजिक चौतारामा पुस २८ गते बिहान ११ बजे र धादिङको धुनिवेशी नगरपालिका–१ सिम्खडा गाउँस्थित सर्वेश्वर मन्दिर परिसरमा पुस २९ गते सार्वजनिक सुनुवाइ गर्ने सूचना जारी गरेको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सवालहरूलाई आइइई प्रतिवेदनमा समावेश गरिने प्राधिकरणले जनाएको छ ।