काठमाडौँ । आफ्नो ४१औँ वार्षिकोत्सवको छेको पारेर नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ५ ट्रेड युनियनहरूले ११ बुँदे माग अघि सार्दै कार्यकारी निर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । यही साउन मसान्तभित्र आफ्ना मागहरू कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ ।
आफ्ना मागहरू पूरा नभए भदौ १ गते हुने प्राधिकरणको ४१औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय प्राङ्गणमै गर्नुपर्ने पनि उनीहरूको चेतावनी छ । गलत मनसायका साथ संस्थालाई धराशायी बनाउने र खण्डीकरण गरी व्यापारी घरानालाई बुझाउने खेल भइरहेको आरोप लगाउँदै युनियनहरूले सोप्रति गम्भीर ध्यान आकृष्ट भएको जनाएका छन् ।
कार्यकारी निर्देशकलाई बुझाइएको ध्यानाकर्षण पत्रमा डेडिकेटेड, ट्रंकलाइन र सडकबत्तीको अर्बौँ रूपैयाँ बाँकी बक्यौता रकम तत्काल असुली गर्नुपर्ने, नेपाल सरकारको बजेट वक्तव्यमार्फत ग्राहक वर्गमा लगाइएको कर तत्काल खारेज गर्नुपर्ने लगायतका मागहरू राखिएका छन् ।
उक्त ध्यानाकर्षण पत्रमा ऊर्जाशील कर्मचारी संघका संयोजक इन्द्रप्रसाद न्यौपाने, कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, कर्मचारी युनियनका का.वा. अध्यक्ष सनेश न्यौपाने, राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष शिवराज भट्टराई र कर्मचारी संघका अध्यक्ष टंकप्रसाद अधिकारीले संयुक्त हस्ताक्षर गरेका छन् । ध्यानाकर्षण पत्रको बोधार्थ श्रम तथा रोजगार कार्यालय, टेकुलाई समेत दिइएको छ ।
युनियनहरूले अघि सारेका ११ बुँदे मागहरू
१. नेपाल सरकारको बजेट वक्तव्यमार्फत ग्राहक वर्गलाई विद्युत्मा लगाइएको कर तत्काल खारेज गरियोस् ।
२. कर्तव्य पालनका सिलसिलामा जीवन बलिदान दिनुहुने अमर विद्युत्कर्मीका परिवारका एक सदस्यलाई विगतमा जस्तै रोजगारीको व्यवस्था गरियोस् ।
३. डेडीकेटेड, ट्रंकलाइन र सडकबत्तीका अर्बौँ बाँकी बक्यौता रकम तत्काल असुली गरियोस् ।
४. इनर्जी स्पिल नहुने गरी बजारको सुनिश्चितता भएपश्चात् मात्र प्रतिस्पर्धाका आधारमा थप पिपिए गरियोस् ।
५. गुणस्तरीय विद्युत् प्रवाहको लागि अभावमा रहेका विद्युतीय सामाग्रीहरू (तार, पोल, ट्रान्सफर्मर, मिटर) तत्काल उपलब्ध गराइयोस् ।
६. ज्यालादारी कर्मचारीहरूको मासिक ज्यालादारीको नियुक्ति प्रक्रिया र सामाजिक सुरक्षा कोषमा समावेश गरियोस् ।
७. आवधिक जीवन बीमा ५२ महिना र वृद्धि भएको घरभाडा कार्यान्वयन गरियोस् ।
८. श्रम शोषणको चरम दुरुपयोग हुने ओभरटाइमको मापदण्ड तत्काल हटाइयोस् ।
९. ओ एन्ड एम समयसापेक्ष पुनरावलोकन गरी सहायकस्तर तह ४ सम्मको तत्काल विज्ञापन गरियोस् ।
१०. दक्ष जनशक्ति हुँदाहुँदै उपत्यका भित्रका केही वितरण केन्द्रहरूमा ठेक्काबाट सञ्चालित कार्य बन्द गरियोस् ।
११. वार्षिकोत्सव भत्ता कम्तीमा १ महिनाको तलब बराबर उपलब्ध गराइयोस् ।