विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ कार्तिक २३, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ  । हरेक वर्ष आउने दिपावली वा तिहार अर्थात् लक्ष्मीपूजालाई विद्युत् माग र आपूर्तिका हिसाबले अर्थपूर्ण रूपमा हेरिँदै आएको छ । अन्य वर्षहरूजस्तै चालू वर्षको लक्ष्मीपूजाको विद्युत् माग, आपूर्ति र निर्यातका अंकको विश्लेषण गरिएको छ ।

यस वर्ष लक्ष्मीपूजाको दिन नेपाल विद्युत् प्राधिकरणको प्रणाली विवरणले देशको ऊर्जा क्षेत्रमा केही उत्साह र गम्भीर दुवै पाटा उजागर गरेको छ । कात्तिक २२ गते साँझ ६:१५ बजे कुल प्रणालीको उच्च माग २४००.३० मेगावाट पुगेको छ । यस अवधिमा निजी उत्पादकहरूबाट १५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणकै नदी प्रवाही आयोजनाबाट ३४२.३० मेगावाट र जलाशय आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भयो ।

यस दिन भारतबाट विद्युत् आयात शून्य रह्यो भने ५८७.३० मेगावाट विद्युत् निर्यात गरिएको थियो । निर्यात र प्रणालीको कुल माग घटाउँदा राष्ट्रिय पिक लोड १८१३ मेगावाट कायम भएको थियो भने काठमाडौं उपत्यकाको अधिकतम लोड करिब ४८९.५० मेगावाट पुगेको थियो ।

प्राधिकरणकै अनुसार विद्युत् उत्पादन बढे अनुसार माग र खपत वृद्धि भने हुन सकेको देखिँदैन । नेपालमा वर्षकै सबैभन्दा बढी बिजुली खपत हुने मानिने लक्ष्मीपूजाको साँझको तथ्यांक हेर्दा पछिल्ला ११ वर्षको अवधिमा राष्ट्रिय विद्युत्‌ माग स्थिरप्रायः रहेको छ ।

पछिल्लो ३ वर्ष २०८१ सालदेखि २०८३ सम्मको लक्ष्मीपूजाका दिन समेत राष्ट्रिय विद्युत्‌ मागमा अपेक्षित वृद्धि हुन सकेको छैन । यस अवधिमा देशको समग्र विद्युत्‌ मागमा जम्मा २१०.८ मेगावाट (करिब १३ प्रतिशत) को मात्र सामान्य वृद्धि देखिएको छ । यसले उत्पादन बढे पनि देशभित्र बिजुलीको खपत बढाउने सरकारको नीति र योजनामा गम्भीर चुनौती खडा गरेको छ ।

देशमा औद्योगिक क्षेत्रको खासै विकास भएको छैन । चाडपर्वका बेला सबैजसो घरायसी उपभोक्ताले एकैपटक बत्ती बाल्ने र झिलीमिली बनाउने समयमा समेत माग यसरी नगन्यरूपमा बढ्नुले आन्तरिक ऊर्जा खपतको निराशाजनक अवस्था उजागर गर्छ ।

अर्कोतर्फ, प्रणालीको कूल उत्पादन र निर्यातमा भने ठूलो उतारचढाव देखिएको छ । २०८१ सालमा जडित क्षमतामध्ये कूल उत्पादन १८५५ मेगावाट रहेकोमा २०८२ मा बढेर २,७६० मेगावाट पुगेको थियो । २०८३ सालमा भने घटेर २४००.३ मेगावाट कायम भएको छ । यस्तै, २०८१ सालमा २५२.९ मेगावाट बिजुली निर्यात भएकोमा २०८२ मा उच्च विन्दु छुँदै १,०१५ मेगावाट पुगेको थियो भने २०८३ मा घटेर ५८७.३ मेगावाटमा सीमित भएको छ ।

काठमाडौं उपत्यकाको अधिकतम लोड भने २०८१ सालमा ३८०.५ मेगावाट, २०८२ मा ४०२.४९ मेगावाट र २०८३ मा ४८९.५ मेगावाट पुगेर क्रमिक रूपमा बढेको छ । उपत्यकामा सहरीकरण र विद्युतीय सवारीको प्रयोग थोरै बढेका कारण लोड सकारात्मक देखिए पनि काठमाडौं बाहिरका औद्योगिक तथा उत्पादनमूलक क्षेत्रमा बिजुलीको माग बढ्न नसकेको तथ्यांकले देखाउँछ ।

आज राष्ट्रिय प्रणालीमै ४ हजार १ सय मेगावाटभन्दा बढी जडित क्षमता बराबरको विद्युत् उपलब्ध भइसक्यो । आवश्यक पर्दा भारतबाट आयात गर्ने बाटो (प्रसारण लाइन) पनि सञ्चालनमा छ । अतः हिजोको तुलनामा आज अवस्था निकै सजिलो भइसकेको छ । २०७३ साल यता विद्युत् क्षेत्र र प्राधिकरणको उपलब्धिलाई ‘चमत्कार’को रूपमा चित्रण गर्ने गरिन्छ ।

त्यो साँच्चै चमत्कार थियो वा दशकौंदेखिको निरन्तरको काम, सामुहिक प्रयास र नतिजाको परिणाम थियो ? यी अधिकांश पक्ष आज सतहमा आइसकेका छन् । यहाँ, अन्य विषयभन्दा विगत ११ वर्षमा लक्ष्मीपूजाकै दिन विद्युत माग र आपूर्तिको अवस्था कस्तो थियो ? यसबारे यहाँ संक्षिप्त विश्लेषण गरिएको छ :

वर्ष २०७३ : यो वर्ष कात्तिक १४ गते लक्ष्मीपूजा परेको थियो । ऊर्जा मन्त्रालयमा जनार्दन शर्मा र प्राधिकरणमा कुलमान घिसिङको नेतृत्व थियो । यो कुलमानको पहिलो कार्यकालको सुरुवात पनि थियो । लोडसेडिङले देश आक्रान्त भइरहेकै बेला उज्यालो पर्व परेको थियो । चाहे जति बिजुली थिएन । लोडसेडिङ हटाउनुपरेको थियो, फसादै फसाद । प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयात गरेर त्यो साँझ पिक आवर (उच्च माग) मा जम्मा ९६० मेगावाट विद्युत आपूर्ति भएको थियो ।

४८४ मेगावाट पुगेन, त्यसैले त्यति बाराबर लोडसेडिङ हुने नै भयो । त्यसैलाई जोडेर प्राधिकरणले त्यो लक्ष्मीपूजाको नेपालको उच्चतम माग १४४४ मेगावाट भन्यो । त्यो वास्तविक रेकर्ड गरिएको पिक डिमाण्ड (उच्च माग) थिएन । ‘इस्टिमेटेड (अनुमानित)’ थियो । इन्जिनियरिङ क्षेत्रमा अनुमान नगरी हुँदैन तर अनुमान गर्न जानेन भने खतरनाक परिणाम निम्तिन सक्ने प्राधिकरणकै विश्लेषण रहँदै आएको छ ।

जे होस्, त्यो दिन लक्ष्मीपूजाको दिन उत्साह थपियो । किनभने, काठमाडौंमा लोडसेडिङ भएन । त्यो साँझ काठमाडौँ उपत्यकाको लोड ३१० मेगावाट थियो । सबैलाई बिजुली पुग्यो । काठमाडौंबासी रमाए । यसले मिडिया कभरेज पायो । ‘बिग न्यूज’ बन्यो । मन्त्री शर्माको हाइट चुलियो । कुलामान रातारात हिरो बन्न पुगे । त्यही उत्साह र उमङ्गगमा कुलमानको मनोबल बढ्यो । टिम बनाए र झन् जोशमा प्रचारित हुँदा उनी ‘सेलेब्रेटी’ नै बने ।

वर्ष २०७४ : यो वर्ष लक्ष्मीपूजाको अधिकतम डिमाण्ड (माग) १५०८ मेगावाट पुगेको अनुमान भयो, खासमा भार नियन्त्रण कक्षमा रेकर्ड गरिएको त्यस दिनको आपूर्ति भने ११६५ मेगावाट थियो । अर्थात्, अनुमानित ३४३ मेगावाट बराबर लोडसेडिङ भएछ, त्यो (२०७४ कात्तिक २ गते) साँझ ६:५५ बजे ।

वर्ष २०७५ : यो वर्ष लक्ष्मीपूजा कात्तिक २१ गते परेको थियो । त्यो साँझ (साँझ ६ बजे) देशको उच्च माग १०९७ मेगावाट पुग्यो । प्राधिकरणले भार नियन्त्रण कक्षबाट मिडियालाई ११०५ मेगावाटको जानकारी दिएको थियो । पछि वास्तविक हिसाब गर्दा केही फरक पर्न गएको थियो ।

वर्ष २०७६ : यस वर्ष लक्ष्मीपूजा कात्तिक १० गते परेको थियो । साँझ ६:३० बजे अधिकतम माग ११२८.८८ मेगावाट रेकर्ड भयो । भार नियन्त्रण कक्षबाट भने १०८९ मेगावाटको जानकारी दिइयो, जो पछि केही थप भएको पाइयो । यो वर्ष पिक लोड १२६५ मेगावाट थियो । तिहारमा उद्योग–धन्दा चल्दैनन् । प्राधिकरणका अनुसार तिहारको लोड वार्षिक पिक लोड हुन सक्दैन ।

वर्ष २०७७ : यो वर्ष लक्ष्मीपूजाका दिन करिब १०५०–११०० मेगावाट पिक लोड पुग्ने प्रक्षेपण गरिएको थियो । जसमा प्राधिकारणको ५२० मेगावाट, निजी क्षेत्र ४६० मेगावाट र भारतबाट करीब १२० मेगावाट गरी सम्पूर्ण माग आपूर्ति गर्ने लक्ष्य थियो । त्यति गर्दा प्राधिकरणसँग जगेडामा करिब २०० मेगावाट विद्युत थियो । यस वर्ष कात्तिक २९ गते परेको लक्ष्मीपूजाको दिन साँझ ६ः१५ बजे अधिकतम लोड ११३२ मेगावाट रेकर्ड गरिएको थियो । प्रक्षेपित लोड ११०० मेगावाटभन्दा बढेको लोड पुर्‍याउन भारतबाट १५० मेगावाट आयात गर्नुपरेको थियो ।

वर्ष २०७८ : कात्तिक १८ गते परेको लक्ष्मीपूजाका दिन अघिल्ला वर्षको तुलनामा माग केही बढ्ने अर्थात् माग करिब १ हजार ५ सय मेगावाट पुग्ने अनुमान थियो । प्रणालीमा पर्याप्त विद्युत भएको हुँदा कुलेखानी जलाशय सञ्चालन नगरी माग र आपूर्तिबीच सन्तुलन मिलाउन सकिने आकलन थियो । साँझ प्रक्षेपण गरिएको उच्च मागभन्दा कम अर्थात् १२७० मेगावाट रेकर्ड गरियो ।

वर्ष २०७९ : यस वर्षको लक्ष्मीपूजा कात्तिक ७ गतेका दिन (साँझ ६:१० बजे) देशभित्र रेकर्ड गरिएको विद्युत् उच्च माग १३०५ मेगावाट थियो । अघिल्लो वर्षभन्दा यस वर्ष जम्मा ३५ मेगावाट बराबरको माग थपियो । यो माग आपूर्ति गर्न प्राधिकरणका नदी प्रवाहमा आधारित जलविद्युत्‌गृहबाट ४३५.२ मेगावाट, सहायक कम्पनीका जलविद्युत्‌गृहबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूबाट ७६७.५ मेगावाट विद्युत् उत्पादन भएको थियो ।

वर्ष २०८० : यस वर्षको तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते आइतबार परेको थियो । यस दिन देशभित्रको  विद्युत्को उच्च माग १४३८ मेगावाट रेकर्ड गरियो । साँझ ६ बजे रेकर्ड गरिएको माग २०७९ सालको भन्दा १३३ मेगावाटले बढेको थियो । देशभित्रको मागलाई पूरा गरी त्यो वर्ष ५१७ मेगावाट विद्युत् पिक समयमा भारत निर्यात गरियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको थियो ।

वर्ष २०८१ : यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे (कात्तिक १५ गते) देशभित्रको विद्युत् उच्च माग १६०२.२ मेगावाट रेकर्ड गरियो । गत  वर्षभन्दा यस वर्ष उच्च माग १६४ मेगावाट बढेको छ । देशभित्रको मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् उच्च मागको समयमा भारत निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

वर्ष २०८२ : यस वर्ष लक्ष्मीपूजा कात्तिक ३ गते दिन परेको थियो । यो दिन देखभित्रको उच्च माग १७४५ मेगावाट रेकर्ड गरियो । ८१ सालमा भन्दा यस वर्ष उच्च माग १४२.८ मेगावाट अर्थात् ८.९% मात्र बढेको छ ।

वर्ष २०८३ : कात्तिक २२ गते परेको लक्ष्मीपूजामा देशको उच्च माग साँझ ६:१५ बजे १८१३ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा जम्मा ६८ मेगावाट राष्ट्रिय माग बढेको छ । यसले देशभित्र माग खासै बढेको देखिएको छैन ।

पछिल्लो तस्बिरमा उपलब्ध तथ्यांक (२०७३ देखि २०८३ सालसम्म) र यसअघिका विवरणलाई जोडेर लक्ष्मीपूजाको दिन देशको विद्युत् उच्च माग, वृद्धि र भारत निर्यात/आयातको पूर्ण तालिका यस प्रकार तयार गरिएको छ:

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३