काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ऊर्जा क्षेत्रबाट ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्य (संघीय सांसद) पदमा उनीहरूले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
ऊर्जा क्षेत्रबाट उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ, नेपाल विद्युत् प्राधिकरणका पूर्व–कार्यकारी निर्देशकसमेत रहेका ऊर्जाविज्ञ डा. मुकेशराज काफ्ले, ऊर्जाविज्ञ कुशल गुरुङ, ऊर्जा विज्ञ तथा व्यवसायी श्रीराम न्यौपाने र ऊर्जा व्यवसायी भरतप्रसाद पराजुलीले उम्मेदवारी दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणमा दुई कार्यकाल कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरी वर्तमान चुनावी सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत बनेका अध्यक्ष घिसिङ हालै पदबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका हुन् । उनले काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी निर्देशक समेत रहेका पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक काफ्लेले नेपाली कांग्रेस पार्टीबाट महोत्तरी–१ बाट उम्मेदवारी दर्ता गरेका छन् । लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय काफ्ले नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन् । उनले इन्जिनियर एसोसिएसनको उपमहासचिव, प्रजातान्त्रिक इन्जिनियर एसोसिएसनका संस्थापक महासचिव, पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिलगायतका पदमा रही जिम्मेवारी पूरा गरिसकेका छन् ।
ऊर्जाविज्ञ गुरुङले कास्की क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । कास्की उनको गृहजिल्ला समेत हो । करिब साढे २ दशकदेखि नवीकरणीय ऊर्जा विकासका क्षेत्रमा सक्रिय रहेका उनले नवीकरणीय ऊर्जामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समानरूपमा विज्ञता हासिल गरेका छन् । निजी निकायमा विज्ञको रूपमा जिम्मेवारी सम्हाल्दै विभिन्न सरकारी संस्थामा समेत परामर्श सेवासमेत प्रदान गर्दै आएका छन् ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) र जल तथा ऊर्जा परामर्शदाता संघ (विक्यान) का अध्यक्ष समेत रहेका उनी सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्यास जस्ता नवीकरणीय ऊर्जा तथा कार्बन उत्सर्जन न्यूनीकरण तथा कार्बन व्यापार जस्ता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै, उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सञ्चालकको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । उनी विन्ड पावर नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा गण्डकी ऊर्जा प्रालिका सञ्चालकसमेत हुन् । झन्डै डेढ महिनाअघि कुलमान घिसिङको नेतृत्वमा खुलेको उज्यालो नेपाल पार्टीमार्फत उनी राजनीतिमा सक्रिय भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऊर्जा तथा जलस्रोत विभाग प्रमुख समेत रहेका न्यौपाने पेशाले इन्जिनियर हुन् । उनले नागढुङ्गा सुरुङमार्गको आयोजना निर्देशक भई काम गरेका थिए । सुरुङ निर्माणकाे समेत विज्ञता हासिल गरेका ऊर्जाविज्ञ न्यौपाने ऊर्जा उद्यमीसमेत हुन् । उनले रास्वपाको तर्फबाट तनहुँ–२ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै, पराजुली रास्वपाका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । ऊर्जा उद्यमी पराजुली लामो समयदेखि ऊर्जा क्षेत्र तथा समाजसेवामा सक्रिय रहँदै आएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को केन्द्रीय सदस्यसमेत रहेका उनी एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरका अध्यक्ष हुन् । सिन्धुपाल्चोक उनको गृहजिल्ला समेत हो ।