विद्युत अपडेट

  • प्राधिकरण : ८९५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२३० मे.वा.घन्टा
  • आयात : २२५३ मे.वा.घन्टा
  • निर्यात : ६४५८ मे.वा.घन्टा
  • ट्रिपिङ : १५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५१९६९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८२ मे.वा.
२०८२ असार १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

चिसो गहुँखेतमा काठका दलिनहरू (बिमहरू) ओछ्याएर त्यसमाथि पाँच वटा साना डिजेल जेनेरेटर जडान गरेका थियौँ । जम्मा १४ किलोवाट क्षमताका ती जेनेरेटरमाथि त्रिपालको छानो ओढाइदिएका थियौँ र त्यस त्रिपालघरलाई हामीले विद्युत्गृह (पावर हाउस) नाम दिएका थियौँ ।

एक बित्ता लामा गहुँका बिरुवाले ढाकेको त्यो खेतमा स्वचालित हतियारसाथ शाही सेनाका जवानहरू यत्रतत्र पहरामा उभिएका थिए । सैनिक, राजाका निजी सचिवहरू, दरबारिया आदिलाई बस्त्र बनाइएका त्रिपालका ७०/८० वटा टेन्टहरूको माझमा त्रिपालकै पर्खालको अग्लो घेरा थियो । त्यसभित्र ६ वटा थप टेन्टहरू थिए । त्यस घेरालाई हामी राजदरबार भन्थ्यौँ ।

यो कुनै ख्यालठट्टा थिएन । त्यस दरबारभित्र साँच्चिकै श्री ५ महाराजाधिराज वीरेन्द्रवीरविक्रम शाह र राजपरिवारका केही सदस्य बसेका थिए । यो कुरो पुस २०३८ को श्री ५ वीरेन्द्रको दिपालयको पहिलो सवारी शिविरको हो । 

सेती नदीको बायाँ किनारमा निकै अग्लो ठाडो भीर छ र त्यस भीरमाथि ठूलो सम्म ठाउँ छ । त्यस सम्म ठाउँमा खेतमात्र होइन, दिपायलको हवाई मैदान पनि थियो । खेतको माझमा बसेको थियो त्यो शिविर । दिउँसो घाम लाग्दा पुसको त्यो जाडो महिनामा पनि गर्मीबाट बच्न छाताको याद आउँथ्यो भने रातको समयमा निकै चिसो पानी बोकेर बगिरहेको सेती नदीको चिसो स्याँठले गर्दा दुइटा सिरकभित्रको जीउ पनि लगलग काम्लाजस्तो हुन्थ्यो ।

दिउँसोको तीन बजेको थियो । पावर हाउस सञ्चालन र सम्भारको जिम्मा लिएका हामी सबै जना अर्थात् म, एक जना सुपरभाइजर र एउटा इलेक्ट्रिसियन त्यहाँका सबै जेनेरेटरको बडी (बाहिरी भाग) विद्युतीकृत भएको देख्दा जिल्ल परेका थियौँ । त्यो देखेपछि त्यसलाई ठीक पार्ने कोसिसमा लाग्यौँ तर त्यो के कारणले गर्दा भइरहेको छ भनी पत्ता लगाउन नै गाह्रो पर्न थाल्यो ।

अचम्मको समस्या

दिउँसोको तीन बजेको थियो । पावर हाउस सञ्चालन र सम्भारको जिम्मा लिएका हामी सबै जना अर्थात् म, एक जना सुपरभाइजर र एउटा इलेक्ट्रिसियन त्यहाँका सबै जेनेरेटरको बडी (बाहिरी भाग) विद्युतीकृत भएको देख्दा जिल्ल परेका थियौँ । त्यो देखेपछि त्यसलाई ठीक पार्ने कोसिसमा लाग्यौँ तर त्यो के कारणले गर्दा भइरहेको छ भनी पत्ता लगाउन नै गाह्रो पर्न थाल्यो । जेनेरेटरका बाहिरी भागहरू अलग–अलग ठाउँमा अर्थिङ गरेका थियौँ । अर्थात् जेनेरेटरको बाहिरी भागबाट तार लगी त्यसलाई भुइँमा निकै तल पुर्‍याएर त्यहाँ एउटा प्लेट राखी गाडेका थियौं । यसो गर्दा जेनेरेटरको बाहिरी भागमा कदाचित् विद्युत् चुहेमा त्यो विद्युत् स्वतः भूमिगत हुन्छ । यसरी त्यो विद्युत्ले मानिसलाई हानी पुर्‍याउँदैन ।

न्यूट्रल पनि हामीले अर्थ गरेका थियौँ । त्यो छुट्टाएर हेर्‍यौँ । बडीमा टेस्टर छुवाउँदा फेरि पनि पूरै पावरले त्यो बलेको देख्दा हाम्रो दिमागले चक्कर खायो । एक घन्टाअघि हाम्रो इलेक्ट्रिसियनले एउटा जेनेरेटर छुन पुग्दा उसलाई विद्युत् झट्का लागेको थियो । त्यसपछि जाँच गर्दै जाँदा सबै जेनेरेटरको बडी (बाहिरी भाग) विद्युत्ीकृत भएको थाहा पायौँ । त्यसै बेलादेखि त्यो समस्या समाधान गर्न मिहिनेत गरिरहेका थियौँ तर सफल हुन सकेका थिएनौँ । सफल भइएला जस्तो पनि लागिरहेको थिएन ।

त्यस सवारी शिविरमाको विद्युत्को व्यवस्थाका लागि मेरो केन्द्रीय कार्यालयले मलाई जिम्मेवारी बोकाई त्यहाँ पठाउन खोज्दा मैले विभिन्न बहाना बनाएर नजाने पूरै प्रयास गरेको थिएँ तर विद्युत् विभागका सर्वोच्च हाकिम हर्षमान श्रेष्ठ आफैँले बोलाएर भन्दा नकार्न सकेको थिइनँ । 

“मैले तपाईंको विषयमा सुनेकाले नै तपाईंलाई दिपायल पठाउन छानेको हुँ ।” 

उनले भनेका थिए– डिजेल जेनेरेटरको विषयमा तपाईंलाई निकै अनुभव रहेछ । त्यसमा पनि श्री ५ को सवारी शिविर पोखरामा लाग्दा तपाईंले त्यहाँ काम गरेकाले त्यो अनुभव पनि तपाईंलाई छ । विभिन्न ठाउँबाट जेनेरेटरहरू सङ्कलन गरी त्यहाँ लगेर जडान गर्नुपर्ने हुन्छ । त्यो शिविर त्यहाँ बसेसम्म डेढ महिना त्यहीँ बस्नुपर्ने हुन्छ । ती बिग्रेमा तत्कालै मर्मत पनि गर्नुपर्ने भएकाले तपाईंलाई नै छानेको हुँ ।

उनको आवाजमा आदेश कम थियो तर अनुरोध बढी देखेको थिएँ । त्यसैले, बढी बहाना बनाउनुको सट्टा खुरुखुरु आदेश पालना गर्नु ठीक ठानेको थिएँ । 
दुई घन्टाको लगातार मिहिनेतपछि ती मेसिनहरूमा त्यहाँको जमिनबाट पो करेन्ट आएको ठहर भयो । त्यो अर्को आश्चर्यको कुरो थियो । त्यो जमिनमा हामीले ती उपकरणहरू अर्थिङ गरेका थियौँ । मैले पहिल्यै भनिसकेको छु, कदाचित् मेसिनको बाह्य भागमा करेन्ट लिक भएमा त्यसलाई भुइँमा पठाई सुरक्षित पार्न त्यो अर्थिङ कार्य गरिन्छ तर अहिले उल्टो भइरहेको थियो अर्थात् उल्टै जमिनबाट करेन्ट मेसिनहरूमा आएको देख्दा अतालिएका थियौँ । अर्थिङ छुट्ट्याउँदा मेसिनहरूको त्यो बाह्य भाग विद्युतीकृत नदेखिने तर जोड्नासाथ विद्युतीकृत हुने ।

मैले जेनेरेटरको प्रत्येक फेजको अर्थसँगको छुट्टाछुट्टै भोल्टेज नापेँ । दुई वटा फेजमा सामान्यभन्दा केही बढी तर एउटा फेजमा ज्यादै कम देखियो । मलाई पोखराको डिजेल पावर हाउसमा देखिएको यस्तै खालको समस्याको सम्झना आयो । अवश्य त्यो एउटा फेजको सम्बन्ध कतैबाट भुइँसँग हुन गएको थियो । त्यस फेजबाट राजदरबारमा मात्र लाइन दिइएको थियो । दरबारभित्रै कुनै गडबडी छ कि भन्ने अनुमान गरेँ ।

दरबारमा बल्बबाहेक तीन वटा गिजर मात्र जडान गरिएका थिए । ती गिजरमध्ये श्री ५ महाराजाधिराजले प्रयोग गर्ने एउटा गिजरमात्र चालू थियो । बाँकीको प्रयोग गर्ने श्री ५ का दुई जना भाइहरू अझै आइनपुगेकाले तिनको विद्युत् कनेक्सन झिकिराखिएको थियो । गिजरको बाहिरी भाग अर्थिङ गरिने हुनाले चालू एकमात्र गिजरको खोलमा विद्युत् लिक भएको हुन सक्ने सम्भावना देख्दा म झसङ्ग भएँ ।

दुई दिनअघि मात्र सिमसिमे पानी परेकाले वरिपरिको जमिन र खेत चिसो थियो । श्री ५ वीरेन्द्र कदाचित् नुहाउन गएमा उहाँको पूरै जीउ र चप्पलसमेत भिजेको स्थितिमा उहाँलाई विद्युत् झट्का लाग्ने सम्भावना शतप्रतिशत थियो । ज्यान पनि जान सक्थ्यो ।

मेरो मनमा डर पस्यो । बिहानै बाहिर गएका राजाको फिर्ती सवारी हुने समय भइसकेको थियो । आउनासाथ उहाँले नुहाउने सम्भावना थियो ।

त्यसो त दरबारभित्रका विद्युत् उपकरणहरू बल्ब इत्यादि जडान र मर्मतसम्बन्धी काम छुट्टै इलेक्ट्रिसियन (तिनीहरू दरबारबाटै आएका थिए वा आर्मीका थिए) हरूले गर्ने गर्थे । हामीलाई त्यहाँ प्रवेश निषेध थियो तर शिविरमा श्री ५ को सवारी हुनुअगावै एक जना एडीसीले मलाई दरबारभित्रको वाइरिङ निरीक्षण गराउन लगेका थिए । त्यसैले मलाई त्यहाँ गिजरहरू जडान भएको कुरा थाहा थियो ।

सबै अधिकृतको हातमा वाकीटकी थियो । एकले अर्कासँग गरेको वाकीटकीको कुरा अरू सबैले पनि सुन्थे । म दरबारभित्र छिर्न खोजेको कुरा सबै अफिसरलाई कौतूहलको विषय भएको रहेछ ।

राजालाई कसले आदेश दिन सक्छ !

पावर हाउस नजिक एक जना लप्टन देखियो । उसलाई मैले आफ्नो शङ्का भनेँ र दरबारभित्र पस्ने उपाय सोधेँ । उपाय उसलाई पनि थाहा रहेनछ । “यति अबेला त्यहाँ गएर के गर्ने ? बरु भोलि गए हुन्न र ?’’ उसले सल्लाह दियो ।

“भोलिसम्म ढिलो हुन्छ । सरकार (राजा वीरेन्द्र) ले नुहाएमा उहाँलाई करेन्ट लाग्न सक्छ,” मैले बताएँ । “तपाईंलाई पूरा यकिन छ त गिजरमै करेन्ट लिक भएको छ भनेर ?’’ उसले सोध्यो ।

“सम्भावना छ,” मैले भनेँ, “सरकारको जीउ–ज्यानसम्बन्धी कुरा हो । त्यसैले यसलाई भोलिसम्म त्यसै अनिर्णीत राख्नु हुँदैन ।”

उसले आफ्नो वाकीटकी उठायो र एउटा कर्नेलसँग कुरा गर्यो, “विद्युत् इन्जिनियर केही कुरो चेक गर्न दरबारभित्र पस्न चाहन्छ, के गर्ने ?’’

“भोलि चेक गर्ने भन्ने । सरकारको बाहिरबाट फिर्ती सवारी हुनै लागेको बेला अहिले उसलाई कसले छिराउन सक्छ दरबारभित्र 
?” उताबाट खरो जवाफ आयो । 

“सरकारको फर्किने बेला भइसकेको रहेछ । नुहाउन अवश्यै गइबक्सिन्छ होला दिनभरिको धूलोमैलो फाल्न,” मैले भनेँ । 

त्यो सोचेर मलाई पसिना आउला जस्तो भयो । मैले तुरुन्तै दरबारभित्र पस्न अझै अत्यावश्यक भएको कुरा अनुरोध गरेँ ।

“त्यसलाई मकहाँ पठाइदेऊ,” कर्नेलको आदेश सुनियो ।

लप्टनले एउटा सिपाही साथमा लगाइदियो । सिपाहीले मलाई कर्नेल भएको ठाउँमा पुर्‍यायो । त्यो कर्नेल नै त्यस सवारी शिविरको सुरक्षा इन्चार्ज रहेछ । उसलाई मैले सबै कुरा फेरि दोहोर्‍याएँ तर दरबारभित्र पठाउन उसले मानेन ।

“भोलि पस्ने,” उसले आदेशात्मक स्वरमा भन्यो ।

“त्यसो भए सरकारलाई भोलिसम्म गिजर प्रयोग नगर्न अनुरोध पठाइदिऊँ,” मैले बिन्ती गरेँ ।

कर्नेलले अनौठो पाराले मलाई हेर्‍यो । “सरकारलाई कसले आदेश दिन सक्छ ननुहाउने भनेर ? कसले रोक्न सक्छ ?” उसले मलाई हकार्दै भन्यो ।

‘कदाचित् आज ननुहाए पनि सरकारले भोलि बिहान त अवश्यै नुहाउनुहोला, अनि महाअनिष्ट भइहाल्यो भने मलाई कसैले केही भन्ने ठाउँ नहोस्’ भन्दै म फिर्ता भएँ ।

केही सम्झिएँ र फर्केर थपेँ– मैले आफ्नो कुरा भनेकै हुँ । भोलिसम्म कुनै दुर्घटना भयो भने मलाई भनेको थिइनस् नभन्नू । मैले आफ्नो कर्तव्य पूरा गरेँ । त्यसै पनि दरबारभित्रको बिजुलीको काम हामीले हेर्ने गरेका छैनौँ । नमस्कार !

कसरी छिरियो ?

म केही पर पुगेको थिएँ, कर्नेलको आवाज सुनियो– पर्खनोस् । उसले वाकीटकीमा राजाको एडीसीसँग कुरा गर्यो– विद्युत्को इन्जिनियर दरबारभित्र पस्न चाहन्छ । अर्जेन्ट छ भन्छ । त्यहीँ आएर भन्ला ।

“पठाइदिने ।” तुरुन्तै अनुमति पाइयो । कर्नेलले दुइटा गार्ड साथमा लगायो र तिनीहरूले मलाई केही अगाडि लगेर अरू दुई जनालाई सुम्पे । ती दुईले मलाई दरबारतर्फ लगे । मलाई निकै ग्लानिजस्तो केही नरमाइलो लाग्न थाल्यो । त्यस्तो केही नभेटिएमा म हाँसोको पात्र मात्र हुने थिइनँ, मसँग रिसइबी पोख्ने सम्भावना थियो । मैले कर्नेललाई धम्क्याएको थिएँ । अर्को दिन नै मलाई त्यहाँबाट बेइज्जतीका साथ लखेटिन सक्थ्यो । निहुँ खोजेर दरबारभित्र किन पस्न खोजेको भनी केरकार पनि हुन सक्थ्यो । त्यतिको प्रतिरोध हुँदाहुँदै पनि दरबार छिर्न खोज्दा म आफ्नो अनुमानमा शतप्रतिशत विश्वस्त हुनुपर्ने थियो तर अब जे पर्लापर्ला भन्ने सोच्दै ती गार्डसँग पाइला बढाउँदै हिँडेँ । दरबारको मूल गेटमा एडीसी आफैँ उभिएका थिए । आर्मीको ड्रेस, कम्मरमा रिभल्भर, खुट्टामा बुट ।

सरकार आफ्नो भ्रमण कार्यक्रमबाट फिर्ता हुनै लागेकाले होला, उनी त्यस पहिरनमा तयार बसेका थिए । उनीसँग पहिले पनि एक पटक भेट भएको थियो, त्यस दरबारको विद्युत् व्यवस्थाको निरीक्षण गर्दा । त्यसै भेटमा मैले थाहा पाएको थिएँ उनी निकै छिटो कुरा बुझ्दा रहेछन् भनी ।
मैले आफ्नो शङ्का उनलाई बुझाएँ र डराउँदै भनेँ– मेरो शङ्का पूरै गलत पनि हुन सक्छ तर श्री ५ को सुरक्षाको कुरो ठानेर यतिको कष्ट दिएको हुँ । त्यस्तो केही नदेखिएमा माफी बक्सेला ।

उनले केरकार गर्लान्, दरबाभित्र पस्नुअघि पूरै जीउ छाम्ने इत्यादि काम गर्लान् भन्ने लागेको थियो तर मेरो कुरा सुन्नासाथ उनको अनुहारमा परिवर्तन आयो । उनले मलाई सिधै त्यो गिजर राखेको ठाउँमा लगे ।

षड्यन्त्र त थिएन होला ?

त्रिपालले बेरिएको सानो नुहाउने कोठाभित्र खेतको चिसो माटोमाथि काठका फल्याक र त्यसमाथि रबर म्याट राखिएको थियो । काठकै दुई वटा खम्बा गाडी तिनै खम्बामा ठोकेर एउटा गिजर जडान गरिएको थियो । त्यो गिजरबाट जोडले आवाज आइरहेको थियो । त्यो सुन्दा मलाई बाफले चल्ने रेलको इन्जिनको सम्झना भयो ।

“गिजर यसरी कराएको त मैले कहिल्यै सुनेको छैन,” एडीसीले आश्चर्य मान्दै भने । “मैले पनि सुनेको छैन,” मेरो मुखबाट निस्क्यो । म आफैं आश्चर्यमा थिएँ ।
नजिक गएर हेर्दा गिजरको बाहिरी खोलबाट बाफ निस्किरहेको रहेछ ठूलो आवाजसाथ । त्यसको थर्मोस्टेटले काम गर्न छोडिसकेकाले होला, त्यति धेरै तातिसकेपछि पनि त्यसको हिटर बन्द भएको थिएन । त्यो गिजर निकै पुरानो र अत्यन्तै झुर अवस्थाको थियो । त्यसभित्र उब्जिने बाफको ‘हद नाघेको दबाब’लाई कम गर्न जडान गरिएको बाफ फाल्ने भल्बले काम नगरेर होला, त्यो गिजर पड्किसकेको थियो ।

बाफसँगै पानीका थोपा तल झर्दै थिए । बाफ र पानीले गिजरमुनिको विद्युत् लाइनका कनेक्सनहरू पूरै भिजाएको थियो । चेक गर्दा गिजरको खोल, पानीको पाइप सबै ठाउँ विद्युतीकृत भइराखेको देखियो । त्यहाँ, जहाँ पनि टेस्टर छुवाएँ, टेस्टर पूरै चर्को बल्यो । मैले गिजरको विद्युत् कनेक्सन छुटाइदिएँ । वाकीटकीबाट पावर हाउसमा सोध्दा त्यहाँ देखिएको समस्या अब समाधान भएको रहेछ । पूरै यकिन गर्न मैले गिजरको त्यो कनेक्सन फेरि जोडेँ, विद्युत्गृहमा त्यो समस्या फेरि देखियो ।

त्यो कनेक्सन खोलेर म बाहिरिएँ ?

एउटा सम्भावित ठूलो दुर्घटना टर्‍यो । मैले त्यति कडाइसाथ कर्नेललाई नभनेको भए उसले दरबारभित्र पस्न सिफारिस गर्ने थिएन । अर्को दिन सरकारको बाहिरी सवारीको मौका पारेर निरीक्षण गराउने उसको सोचाइ थियो । 

“भुइँमा रबरको म्याट र काठ पनि छ नि ! त्यसमाथि सरकारले चप्पल पनि लगाएर नुहाइबक्सिन्छ । त्यसैले करेन्ट त लाग्दैनथ्यो हैन र इन्जिनियर साब ?’’ एडीसीले सोध्ने नियतले कम तर सायद आफैँलाई सम्झाउने नियतले भने ।

“सुक्खा रहुन्जेल खतरा नहुन सक्छ तर यो ठाउँ त नुहाउने प्रयोजनका लागि हो । नुहाउँदा चप्पल र यो म्याट, तलको काठ सबैलाई पानीले भिजाइहाल्छ । यो स्थिति नाङ्गै खुट्टा भुइँमा उभिएजस्तै हो । त्यस्तोमा...” मैले जानीजानी वाक्य पूरा गरिनँ । उनले बुझिहाले । केही बोलेनन् । बाँकी दुइटा ठाउँको गिजर पनि हेर्न लगाए, तिनमा केही खराबी थिएन ।

मलाई अहिले पनि आश्चर्य केमा लागिरहन्छ भने बाँकी दुइटा गिजर एकदमै नयाँ थिए, राजाको मात्र निकै पुरानो थियो । सोझा राजाले थोत्रो सामान भए पनि केही नभन्ने, कसैलाई गाली नगर्ने भएर हो वा त्यो कुनै षड्यन्त्र थियो ?

काम सकेर दरबारबाट बाहिर निस्किँदा गेटमा पुलिसको तर्फबाट खटिएका अर्का एक जना एडीसी मलाई ढुकेर बसेको देखेँ ।

“के भएको रहेछ ? उनले जिज्ञासा राखे । सबै अधिकृतको हातमा वाकीटकी थियो । एकले अर्कासँग गरेको वाकीटकीको कुरा अरू सबैले पनि सुन्थे । म दरबारभित्र छिर्न खोजेको कुरा सबै अफिसरलाई कौतूहलको विषय भएको रहेछ ।

मैले कुरो बुझाउँदा उनको मुखबाट मुस्कुराउँदै निस्क्यो, “सरकारबाट बिहानै हुकुम बक्सेको थियो कतै करेन्ट लिक छ कि भनेर ?एक झट्का त दिइसकेको रहेछ कि क्या हो ?’’

त्यस बिहानैदेखि असामान्य हुन सुरु भएको त्यो गिजर अहिले आएर त्यत्तिको खतरनाक स्थितिमा पुगेको रहेछ । सरकारले बिहानै भनेको कुरालाई कसैले गम्भीर ठानेको रहेनछ वा ? 

एकैछिनपछि हेलिकप्टर गुन्जिएको आवाज सुनियो । आकाशतिर हेर्दा श्री ५ को सवारी हुने सेतो हेलिकप्टर देखियो । ठीकै समयमा काम सकिएको रहेछ । अर्को दिन बिहानै जहाजबाट नयाँ गिजर आइपुगेको रहेछ ।

त्यो क्याम्प डेढ महिनासम्म बसेको थियो । त्यस अवधिमा त्यहाँ जडित डिजल जेनेरेटरहरू अटुट चलेका थिए । तिनको मर्मतसम्भार राम्रो गरी त्यहाँको विद्युत् सप्लाई अटुट राखेकाले मात्रै होइन, राष्ट्रकै सर्वोच व्यक्ति श्री ५ महाराजाधिराज सरकारको सुरक्षाप्रति अग्रसरता देखाएर सम्भावित ठूलो दुर्घटना रोकेकाले पनि मैले सवारी सकिएपछि घोषणा गरिने विभूषण तक्मा पाउनेहरूमा आफ्नो नाउँको पनि आशा लिनु स्वाभाविक थियो ।

तक्मा पाउनेहरूको नामावली प्रसारित हुँदा मैले सुरुदेखि अन्त्यसम्म कान थापेर सुनेँ । मेरो नाउँको भुसम्म पनि सुनिएन । गिजर फुटेको वा विद्युत् लिक भएको कुरा र मेरो प्रयासलाई पूर्ण अन्धकारमा राखी राजालाई पनि पटक्कै थाहा नदिइएको रहेछ भने लाग्यो । किन ?

ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको २०८१ पुसमा प्रकाशित सातौँ अंङ्कमा प्रकाशित यो ऐतिहासिक सामग्री नेपाल विद्युत् प्राधिकरणका पूर्व–महाप्रबन्धक भुवन चन्द ठकुरीको पुस्तक ‘अतीतको पोको’बाट साभार गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३